गौरवका आयोजना पूरा गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, १७ फागुन । प्रधानमन्त्री बाबुराम भट्टराईले १०, १५ वर्ष अघि देखि सुरु भएका राष्ट्रिय गौरवका आयोजनाहरु पूरा हुन नसकेको भन्दै चिन्ता जनाएका छन् ।
उनले आयोजनाहरु अत्यन्तै सुस्त गतिमा अघि बढेकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउदै आयोजनका कामहरुलाई दू्रत गतिमा पूरा गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आज भएको छलफलमा प्रधानमन्त्री भट्टराईले विगतमा आयोजनाहरुका काम ढिला भएपनि आउदा दिनमा ढिलाई नगर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।
राष्ट्रिय गौरवका आयोजनाहरु एक दर्जन भन्दा बढी भए पनि तत्कालका लागि रणनीतिक महत्व भएका आयोजनाहरुलाई पूरा गर्न प्रधानमन्त्रीले निर्देशन दिएका छन् । उनले काठमाडौ तराई फास्टट्राक निर्माण र ७ सय ५० मेघावाटको पश्चिम सेति जलविद्युत परियोजनाको कामलाई दु्रत गतिमा अघि बढाउन सचिवहरुलाई निर्देशन दिए ।
निजगढ विमान स्थलको कामसँगै भारतसँगबाट लिनु पर्ने एयर रुटका लागि आजैबाट छलफल तिब्र पार्न पनि सम्बन्धित मन्त्रालयलाई उनले निर्देशन दिएका छन् ।
छलफलमा अर्थ, पर्यटन, उर्जा, भौतिक योजना तथा निर्माण, सिंचाई र सामान्य प्रशासन मन्त्री सहित मन्त्रालयका सचिवहरुको उपस्थिति रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
सचिवहरुले राष्ट्रिय गौरवका आयोजनाहरुको अधिकांश काम सन्तोषजनक ढंगले अघि बढेको प्रधानमन्त्री भट्टराईलाई अवगत गराएका थिए । सचिवहरुले कतिपय आयोजनाहरुमा ठेकेदारको लापरवाहीका कारण काम सुस्त भएको भन्दै प्रधानमन्त्रीसँग गुनासो गरेका छन् ।

प्रतिक्रिया