लुम्बिनी इन्स्योरेन्सलाई मोटर बिमामा रोक

काठमाडौं, फागुन १६ । बिमा क्षेत्रको नियामक निकायका रूपमा रहेको बिमा समितिले लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडलाई बिमा व्यवसाय गर्न आंशिक रोक लगाएको छ ।
जोखिमको यथेष्ट मूल्याङ्कन नगरी जथाभाबी बिमा पोलिसी बिक्री गरेपछि समितिले बिमा व्यवसायमा रोक लगाएको हो । समितिले मङ्गलबार सूचना जारी गरी अनिश्चित समयका लागि मोटर बिमा व्यवसाय रोक लगाएको हो । अब सो इन्स्योरेन्सले मोटर बिमाबाहेक अन्य प्रकृतिको बिमामात्र गर्न सक्नेछ ।
कम्पनीको स्थलगत निरीक्षणका क्रममा भेटिएका त्रुटिलाई सच्याउन दिएको पटकपटकको निर्देशन पालना नगरेकाले लुम्बिनी इन्स्योरेन्सलाई मोटर बिमा व्यवसाय गर्न रोक लगाइएको समितिका प्रवक्ता शेखर अर्यालले बताए । स्थलगत निरीक्षणका क्रममा कम्पनीले जोखिमको मूल्याङ्कन नगरी सञ्चालकलाई उधारोमा बिमा पोलिसी बिक्री गरेको पनि समितिले भेटाएको थियो ।
पछि दाबी–भुक्तानी गर्दामात्र बिमा शुल्क कट्टा गरिएकाजस्ता अनियमिततालाई सच्याउन पटकपटक निर्देशन दिँदा पनि आनाकानी गरेको प्रवक्ता अर्यालको भनाइ छ । कम्पनी निरीक्षणका क्रममा थुप्रै कैफियत भेटिएका थिए । कम्पनीले बिमा ऐन, ०४९ र मोटर बिमादर सम्बन्धी निर्देशिका ०६६लाई समेत उल्लङ्घन गरेकाले उसलाई १० हजार रुपियाँ जरिवाना गरिसकेको समितिले जनाएको छ ।
समितिले औँल्याएका गल्तीहरू सच्याएर आगामी दिनमा त्यस्ता गल्ती नगर्ने सन्तोषजनक जवाफ नदिएसम्म सो इन्स्योरेन्समाथि मोटर बिमा व्यवसाय गर्न लगाइएको रोक फिर्ता नहुने पनि प्रवक्ता अर्यालको भनाइ छ ।
कम्पनीले कुल आम्दानीको ६० प्रतिशत हिस्सा मोटर बिमा पोलिसी बिक्रीबाट प्राप्त गरिरहेको थियो । समितिले कारोबार नै रोक्ने गरी कारबाही गरेको यो दोस्रोपटक हो । एक महिनाअघि समितिले एसियन लाइफ इन्स्योरेन्स कम्पनीलाई पनि बिमा व्यवसास गर्न रोक लगाएको थियो । त्यतिखेर कम्पनीले समितिको स्वीकृतिबिना सेयरधनीलाई नगद लाभांश वितरण गरेकाले बिमा व्यवसायमा रोक लगाएको थियो ।
१२ करोड ५० लाख रुपियाँ चुक्ता पुँजी भएको लुम्बिनी जनरल इन्स्योरेन्सले चालु आर्थिक वर्षको पौष मसान्तसम्म २७ हजार चार सय १७ बिमालेख बिक्री गरी १५ करोड ५९ लाख १६ हजार रुपियाँ प्रिमियम सङ्कलन गरेको छ । पौष मसान्तसम्म कम्पनीले आठ सय ५८ कम्पनीको बिमालेखको दाबी–भुक्तानी गरेको छ । कम्पनीले प्रकाशित गरेको दोस्रो त्रैमासिक विवरणअनुसार पौष मसान्तसम्म कम्पनीको नाफा एक करोड एक लाख ५० हजार रुपियाँ रहेको छ । यसको नारायणगढ, बनेपा, धनगढी, बुटवल, पोखरा, विराटनगर, नेपालगन्ज र काठमाडौँसमेत गरी आठ शाखा रहेका छन् ।

प्रतिक्रिया