बबरमहल त्रासदी

मङ्गलबारको राजधानीको केन्द्र र अति व्यस्त क्षेत्र बबरमहलमा भएको विष्फोट सनसनीपूर्ण रह्यो । संयुक्त जातीय मोर्चा नामक भूमिगत सङ्गठनले गराएको विष्फोटमा परी तीनजनाको तत्काल ज्यान गयो भने सातजना घाइते भए । एकीकृत नेकपा माओवादी शान्तिको बाटामा आएपछि राजधानीमा भएका हिंसात्मक घटनामध्ये यो घटना सबैभन्दा गम्भीर हो र यसले नेपाल स्थायी शान्तिको गन्तव्यमा पुग्ने बाटो अत्यन्त दुरूह छ भन्ने प्रमाणित गरेको छ । एकात्मक स्वरूपमा नेपालको राज्यसत्ता सदिऔंदेखि एकपक्षीय भएको कुरा कसैले नकार्न सक्दैन । केही सम्भ्रान्तहरू र जातिविशेषले अरू वर्ग र जातजातिमाथि गरेको क्रूर शासनकै प्रतिफल आज पनि नेपाली समाजको ठूलो हिस्सा प्रताडित छ, उपेक्षित छ । अहिले उठेको जातीय मुद्दा र आन्दोलन इतिहासदेखिको अन्याय र दमनको प्रतिफल हो र त्यसलाई सम्बोधन नगरी समावेशी नेपालको निर्माण हुन सक्दैन ।
जातीय आन्दोलन आवश्यक छ । तर, त्यसको रूप शान्तिपूर्ण हुनैपर्छ । हिंसात्मक आतङ्ककारी शैलीबाट नेपालजस्तो देशमा कुनै पनि आन्दोलन सफल हुन सक्दैन भन्ने कुरा बबरमहल घटनाले पनि पुष्टि गरेको छ । जातीय मुक्तिका लागि हिंसाको प्रयोग गर्दा मर्ने र घाइते हुनेमध्ये धेरै जनजाति नै परे । यसले भन्छ, संयुक्त जातीय मोर्चाको हिंसात्मक रणनीति असफल भइसकेको छ । तुरुन्त उसले गलत बाटो नछाडी सुखै छैन । कदाचित अझै पनि हिंसालाई नै आन्दोलनको माध्यम मान्ने धृष्टता ग¥यो भने त्यो समूह अपराधीबाहेक केही ठहर्ने छैन ।
बबरमहल घटना नेपाली समाजमा हुर्काइएको हिंसा र अराजकताको मनोविज्ञानको प्रतिविम्ब पनि हो । सशस्त्र द्वन्द्वका नाममा हिजो माओवादीले उठाएको बन्दुक र त्यसबाट प्राप्त शक्ति नै आजका हिंस्रक समूहहरूको प्रेरणा स्रोत हो । माओवादी सशस्त्र विद्रोहताका दण्डहीनतालाई प्रश्रय मिल्यो, गलत नजिरहरू बसालिए । पछि आएर सङ्क्रमणकालको व्यवस्थापनमा माओवादी स्वयम् फितलो हुन थाल्यो । फलस्वरूप शान्तिप्रक्रिया र संविधान निर्माणजस्ता अहम् मुद्दाहरूलाई ओझेलमा पार्ने गरी कहिले अन्तर्पार्टी कलह सतहमा आउ“छ, कहिले विष्फोट र हत्या, लुट र घुस प्रकरणहरूको बाक्लो तुवा“लोले समाजलाई मार्गनिर्देश गर्ने सत्ता र शक्तिको गल्लीलाई अन्धकारमय तुल्याइदिन्छ ।
तत्कालीन सात दल र माओवादी शान्ति प्रक्रियामा प्रवेश गरेपछि तिनका सहउत्पादनहरू चुप लाग्ने कुरै भएन । तिनका असन्तुष्टिको प्रकट हुने शैली अराजक र विष्फोटक हुने नै भयो । अर्कातिर, राज्यको उपल्लो आसनमा बस्नेहरूले तिनलाई विभिन्न बहानामा स्वीकृति दिइरहेका छन् । अपहरण, फिरौती, हत्या, जबर्जस्ती चन्दा असुली, संवेदनशील स्थानहरूमा विष्फोट जस्ता शैलीले मान्यता पाउने भएपछि राजनीतिक प्रतिष्ठा र आर्थिक लाभ दुवै हासिल हुने भए । यति सजिला माध्यम नरोजी को लोकतन्त्रको घुमाउरो बाटामा बर्षौसम्म कुरिरहन सक्छ ? उप्रान्त बबरमहल घटनाको पुनरावृत्ति नहोस् भन्नाका लागि अपराध र आतङ्कको मनोविज्ञानलाई जरैदेखि उखेल्न आवश्यक छ । यसका लागि दण्डहीनताको अन्त्य जरुरी छ र यस आवश्यकतालाई सरकार र सबै राजनीतिक दलले इमान्दारीपूर्वक मनन गरेर आफैंबाट सुधारको प्रयास थाल्नुपर्छ ।

प्रतिक्रिया