एक वर्षमा ७५ वन्यजन्तु तस्कर पक्राउ

काठमाडौँ, १६ फागुन । वन्यजन्तु अपराधलाई सङ्गठित अपराध मानेर प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अनुसन्धान थालेको पहिलो वर्ष त्यससम्बन्धी अभियोगमा ७५ जना पक्राउ परेका छन् । पक्राउ परेकामध्ये काजीमान प्रजा, राकेश भनिने रामशरण विश्वकर्मा र जर्सी चौधरी चितवन राष्ट्रिय निकुञ्जले ‘मोस्ट वान्टेड’को सूचीमा राखेका सिकारी रहेको सिआइबीले जनाएको छ ।
सिआइबीले वन्यजन्तु अपराधलाई दोस्रो ठूलो सङ्गठित अपराध मानी ११ फागुन, ०६७ देखि अनुसन्धान थालेको थियो । त्यस अवधिमा चितुवाको हड्डी एक सय ७० किलोग्राम, बाघको हड्डी साढे २७ किलोग्राम, गैँडाको खाग तीनवटा, चितुवाको छाला नौवटा, बाघ र हिउँचितुवाको एक–एकवटा छाला, रेडपान्डाको दुईवटा छाला, कस्तुरीको दुईवटा बिना, भालुको पित्त एक थान, गैँडाको खुर १२ वटा, यार्सागुम्बा डेढ सय ग्राम, सुनाखरी ७० ग्राम र प्रतिबन्धित च्याउ नौ सय १० ग्राम बरामद भएको सिआइबीले जनाएको छ ।

सिआइबीको एन्टीपोचिङ युनिटका अनुसार बाघ सिकारमा संलग्न पर्साको सुपौली गाविस –९ का चौधरी वीरगन्जको राज गेस्टहाउसबाट सुरुकै दिन पक्राउ परेका थिए । भारतमा समेत कुख्यात उनलाई निकुञ्जले एक दशकदेखि मोस्ट वान्टेडको सूचीमा राखी खोजिरहेको थियो । त्यसैगरी, सर्लाहीको सिसौट गाविस–२ का शैलेन्द्र बस्नेत र जब्दी गाविस–२ का दीपेन्द्र चौधरी १५ किलो बाघको हड्डीसहित सुरुकै दिन पक्राउ परेका थिए । चार दिनपछि स्याङ्जाको वालिङस्थित नेसनल होटल एन्ड गेस्टहाउसबाट गैँडा सिकारी प्रजा दुई श्रीमती, फुपू र बहिनीसहित पक्राउ परे । उनीहरूबाट अनुमानित ८० हजार रुपियाँ बराबरको गैँडाको १२ वटा खुर बरामद भएको थियो । ३० चैतमा चितवनका ‘गैँडाको कालका रूप’मा चिनिएका सिकारी विश्वकर्मालाई सिआइबीले गौशालामा सडकमै पक्राउ ग¥यो ।

‘सर्च अपरेसन’बाट सुरु वर्षमै सबै पक्षको सहयोगले मोस्ट वान्टेडसहित ७५ सिकारी पक्राउ परेकाले पहिलोपटक ‘जिरो पोचिङ एयर’ (शून्य गैँडा सिकार वर्ष) मनाउन सकिएको सिआइबीले जनाएको छ । ‘निकुञ्ज, वन र संरक्षणकर्मीको सहयोगले हामी सुरुको वर्ष मोस्ट वान्टेडसहित वन्यजन्तु चोरीसिकारमा संलग्न ७५ जना पक्राउ गर्न सफल रह्यौँ,’ सिआइबी एन्टीपोचिङ युनिटका डिएसपी प्रवीण पोखरेलले सौर्यसँग भने, ‘त्यसकारण पहिलोपटक ‘जिरो पोचिङ एयर’ घोषणा भयो ।’
बाघ, गैँडा, चितुवा, हिउँचितुवा, हाब्रे, कस्तुरी, कालिजलगायत वन्यजन्तुको चोरीसिकारको अभियोगमा पक्राउ परेका ७५ मध्ये संरक्षित जनावर र पक्षीको चोरीसिकारमा संलग्न बाहेकका अभियुक्त धरौटीमा रिहा भइसकेका छन् ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ ले २६ प्रजातिका जनावर, नौ प्रजातिका पक्षी र तीन प्रकारका घिस्रने जनावर गरी ३८ प्रजातिका वन्यजन्तुलाई संरक्षित वन्यजन्तु तोकेको छ । संरक्षित वन्यजन्तुको सिकार गर्न पाइँदैन ।

प्रतिक्रिया