दोस्रो पार्टी बन्ने एमालेको प्रयास असफल

काठमाडौँ, १६ फागुन । साना वामपन्थी दलसँग एकता गरी संविधानसभाको दोस्रो ठूलो शक्ति हुने नेकपा एमालेको प्रयास असफल बनेको छ । एमालेले एकीकरणका लागि पत्राचार गरेका वामपन्थी दलहरूले उसको प्रस्तावमा अरुचि प्रकट गरेका छन् ।
गत पुसमा एमाले स्थायी समितिले पार्टीको आन्तरिक एकता प्रस्ताव पारित गर्दै अन्य वाम समूहसँग एकता वार्ता गर्न चार सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलले सम्भाव्य सबै समूहलाई एकताका लागि पत्र पठायो र कतिपय समूहसँग छलफल पनि ग¥यो ।
‘सबैजसो वाम समूहका नेताहरूसँग कुरा भएको छ,’ एमाले वरिष्ठ नेता तथा वार्ता कार्यदलका संयोजक माधवकुमार नेपालले सौर्यसँग भने, ‘वामपन्थी एकताका लागि सबै सकारात्मक हुनुहुन्छ, छलफल अगाडि बढाउँदै लैजान्छौँ ।’
तर, स्रोतका अनुसार एमालेले पत्राचार गरेका सबैजसो वाम समूहहरूले तत्काल पार्टी एकता अस्वीकार गरिसकेका छन् । उनीहरूले एकताका लागि रुचि नदेखाएपछि एमाले ‘घनिष्ट सहकार्य’ मार्पmत वाममोर्चा बनाउने तयारीमा जुटेको छ । एमालेले नेकपा (माले) का महासचिव सीपी मैनाली, नेकपा (संयुक्त) का अध्यक्ष चन्द्रदेव जोशी तथा वरिष्ठ वामपन्थी नेता विष्णुबहादुर मानन्धर, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह, नेकपा (माले समाजवादी) का जगतबहादुर बोगटी र नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेसँग कुरा अघि बढाएको वरिष्ठ नेता नेपालले बताए । तर, कतिपय समूहका नेताहरूले भने एमालेबाट औपचारिक प्रस्ताव नआएको जनाएका छन् ।
माले महासचिव सीपी मैनालीले एमालेको राजनीतिक कार्यक्रम जनताको बहुदलीय जनवादलाई मान्न नसकिने उल्लेख गर्दै ‘उग्रवामपन्थी र दक्षिणपन्थी यथास्थितिवादविरुद्ध घनिष्ट सहकार्य’ मात्र गर्न सकिने जनाएका छन् । नेकपा (संयुक्त)ले एमालेसँग धेरै कुरामा समानता भए पनि एमालेको ‘बहुदलीय जनवाद’ र संयुक्तको ‘राष्ट्रिय जनवाद’ को अलग कार्यक्रमबीच पार्टी एकताको सम्भावना नरहेको प्रस्ट पारेको छ ।
‘एकता नै गर्नु हुँदैन भन्ने होइन तर कार्यक्रमिक तहमा छलफलै भएको छैन,’ संयुक्तका अध्यक्ष जोशीले सौर्यसँग भने, ‘साझा कार्यक्रम बनाएर अघि बढ्न समस्या नभए पनि पार्टी एकीकरण गर्ने सोच बनिसकेको छैन ।’ उनले बहुदलीय व्यवस्था, मानवअधिकारलगायत राज्यको स्वरूपका विषयमा एमालेसँग आफ्नो पार्टी नजिक रहेको उल्लेख गरे ।
माले महासचिव मैनालीले सङ्घीयताका मुद्दाहरूमा एमालेको अस्पष्टता र जनताको बहुदलीय जनवादप्रति आफ्नो असहमति
रहेको बताए ।
‘पुँजीवादबाट समाजवादमा सङ्क्रमणको व्यवस्थाका रूपमा जबजलाई मान्न सकिँदैन, त्यसले माक्र्सवादका आधारभूत मान्यताहरूलाई त्यागेको छ,’ मैनालीले सौर्यसँग भने, ‘उग्रवामपन्थी खतराबाट मुलुकलाई जोगाउन र वाम लोकतान्त्रिक शक्तिहरूलाई बलियो बनाउन एमालेसँग सहकार्य गर्न सकिन्छ । तर, एकता सम्भव छैन ।’ माले र संयुक्त दुवैले सहकार्यका लागि वार्ता टोली भने बनाएका छन् । एकता र सहकार्यका लागि वार्ता निरन्तर राख्ने उनीहरूको भनाइ छ ।
माले समाजवादीका अध्यक्ष जगतबहादुर बोगटीले एमालेले पार्टी एकताको औपचारिक प्रस्ताव नै नगरेको बताए । आफ्नो पार्टी निर्माणको आधार पूर्वमाले र एमाले नै भएको उल्लेख गर्दै बोगटीले वामपन्थी एकताका लागि आफ्नो पार्टीले सात सदस्यीय वार्ता टोली गठन गरेको जानकारी दिए ।
‘हामी तत्कालीन माले र एमालेबाटै उत्पादन भएका हौँ, बुढा नेताहरू दिशाहीन भएपछि पुनर्गठनको दौरानमा यहाँसम्म आइपुगेका छौँ,’ बोगटीले सौर्यसँग भने, ‘एमालेले एकताको प्रस्ताव औपचारिक रूपमा पठाएको छैन । प्रस्ताव आएपछि विचार गरौँला ।’
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमालेसँग लोकतान्त्रिक संविधान निर्माणमा सहकार्य गर्ने कुरा भए पनि पार्टी एकता असम्भव रहेको बताए । ‘पार्टी एकता धेरै परको कुरा हो,’ उनले भने, ‘एमालेले माओ विचारधारा र नयाँ जनवाद मान्दैन । संसदीय भास समातेको एमाले कांग्रेसभन्दा केही फरक छैन ।’ लोकतान्त्रिक संविधान निर्माण गर्ने विषयमा एमालेसँग कार्यगत एकता गर्ने पार्टीको नीति रहेको उनले प्रस्ट पारे ।
एमालेले भने ‘बहुदलीय लोकतान्त्रिक राजनीतिक प्रणाली र प्रगतिशील सारतत्वको राज्य व्यवस्था’ मा कम्युनिस्ट पार्टीहरू एकजुट हुनुपर्ने धारणा राखेको छ । ‘जेसुकै कुरा गरे पनि बहुदलीय प्रतिस्पर्धात्मक शासन प्रणालीबाट बाहिर जाने अवस्थामा कोही छैन,’ एमाले महासचिव तथा वार्ता टोलीका सदस्य ईश्वर पोखरेलले भने, ‘असहमत छौँ भन्नु एउटा कुरा हो तर यथार्थलाई स्वीकार गर्नुपर्छ ।’
कांग्रेसभन्दा चार सिट पछाडि रहेको एमाले संसद्मा रहेका कुनै एक वामपार्टीसँग एकता भए पनि दोस्रो पार्टी हुनेछ । तर, तत्काल दोस्रो पार्टी हुने आकाङ्क्षाले नभएर वामपन्थी शक्तिहरूलाई समेट्ने अभिप्रायले यो पहल गरिएको एमालेले जनाएको छ । ‘एमालेलाई ठूलो पार्टी बनाइहालौँ भन्ने होइन, सकभर वामपार्टीहरूलाई एउटै केन्द्रमा गोलबन्द गरौँ, नभए साझा मुद्दामा चल्ने वाममोर्चा मात्रै भए पनि निर्माण गरौँ भन्ने प्रयास हो,’ कार्यदलका संयोजक नेपालले भने । यसले उग्रवामपन्थी र दक्षिणपन्थी खतराबाट नेपालको कम्युनिस्ट आन्दोलनलाई जोगाउन सक्ने उनको भनाइ छ ।
एमालेले वार्ताका लागि पत्राचार गरेका माले र माले समाजवादी एमालेबाटै फुटेर बनेका वामपन्थी समूह हुन् । ०५४ सालमा विभाजित एमाले–मालेबीच ०५८ सालमा एकता भए पनि मैनालीले असहमति जनाउँदै नेकपा मालेको पुनर्गठन गरेका थिए । मैनाली नेतृत्वको माले दुई वर्षअघि विभाजन भएर बोगटी नेतृत्वमा माले समाजवादी गठन भएको थियो । संयुक्त, राष्ट्रिय जनमोर्चा र नेमकिपा भने कम्युनिस्ट पार्टीको तेस्रो महाधिवेशनअघिदेखि नै एमालेको धारबाट अलग रहँदै आएका समूह हुन् ।

प्रतिक्रिया