श्रमजीवि ऐन लागू गराउन चितवनमा आन्दोलन

चितवन, १६ फागुन । नेपाल पत्रकार महासंघ चितवनले जिल्लामा रहेका सञ्चार माध्यमलाई श्रमजीवि पत्रकार ऐन कार्यान्वयन गराउन दबाब दिन मंगलबारदेखि आन्दोलन थालेको छ ।
महासंघले ऐन कार्यान्वयन गराउन थालेको आन्दोलन अन्तर्गत चितवनमा रहेका २१ वटा सञ्चार संस्थाका व्यवस्थापन समूहलाई आफ्ना संचार माध्यममा कार्यरत पत्रकारको विवरण महासंघमा बुझाउन लिखित अनुरोध गरेको छ । त्यसैगरी, सञ्चार माध्यममा श्रमजीवि पत्रकार ऐन पूर्ण रुपमा लागु गर भन्ने नारा लेखिएको
ब्यानर पनि टाँसेको छ ।
महासंघको आन्दोलन अन्तर्गत सञ्चार माध्यमका प्रमुखलाई एक साता भित्र विवरण बुझाउन लगाई ऐन कार्यान्वयन गरे नगरेको एक साता भित्र विस्तृत विवरण माग गरिएको महासंघ चितवनका अध्यक्ष जनक अर्यालले जानकारी दिए । अध्यक्ष अर्यालका अनुसार महासंघले अनुरोध गरेको विवरण नदिएमा त्यस्ता सञ्चार माध्यमको नाम सार्वजनिक गर्ने र प्रेस रजिष्ट्रारको कार्यालयमा लिखित जानकारी गराउने कार्यक्रम रहेको छ ।
चितवनमा रहेका सबै सञ्चार माध्यममा पूर्ण रुपमा ऐन कार्यान्वयनको लागि दबाब दिन पत्रकार महासंघले जिल्लामा क्रियाशिल सबै संचार प्रतिष्ठानका सञ्चालक तथा पेशागत संघ संगठनसँग अन्तरक्रिया गर्ने कार्यक्रम पनि तय गरेको छ ।
चितवनमा छ वटा दैनिक पत्रिका, ११ वटा एफएम रेडियो रहेका छन् । साप्ताहिक पत्रिका भने निस्किने र बन्द हुने क्रम हुने भएको संख्या यकिन नभएको अध्यक्ष अर्यालले जानकारी दिए ।
जिल्लामा रहेका सञ्चार संस्थामा कार्यरत दुई सय जना भन्दा बढी श्रमजीवि पत्रकार रहेका छन्  । महासंघले गएको साउन महिनामा जिल्लाका सञ्चार संस्थामा गरेको अध्ययनले यहाँका कुनै पनि सञ्चार माध्यममा पूर्ण रुपमा श्रमजीवि पत्रकार ऐन लागु नभएको प्रतिवेदन सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया