जघन्य अपराधले अभिष्ठ पुरा हुँदैनः कांग्रेस

काठमाडौं, १६ फागुन । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले व्यक्ति हत्याले कहिल्यै पनि कुनै अपराधिक र आतंककारी तत्वको अभिष्ठ पूरा नभएको जनाएको छ । कांग्रेसले देशभित्र बढ्दै गएका विष्फोट र जघन्य आतंककारी क्रियाकलाप विरुद्ध एकतावद्ध रहन आह्वान गरेको छ ।
कांग्रेसले आज विज्ञप्ती जारी गरेर जघन्य अपराधका यस्ता कायरतापूर्ण घटनाको घोर निन्दा र भत्र्सना गर्दछ भनेको छ । आपराधिक कृयाकलापलाई नियन्त्रण गर्न आवश्यक सुरक्षा उपाय अवलम्वन गर्नुका साथै शान्ति सुरक्षाको अवस्थालाई सुदृढ गरी सबैमा शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ ।
कांग्रेसले यस्ता आपराधिक क्रियाकलापमा संलग्न जुनसुकै समूह वा व्यक्तिको खोजी गरी कडा भन्दा कडा कार्वाही गर्न, मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिन तथा घाइतेहरुको निःशुल्क र उचित तवरले उपचार गराउन सरकारसँग माग गरेको छ ।
मृतकका परिवारप्रति समवेदना प्रकट गर्दै कांग्रेसले घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । नेपाल आयल निगमको मुलढोका भन्दा पाँच मिटर अगाडि हिजो अज्ञात समूहले बम विष्फोट गराउद ३ जनाको मृत्यु भएको थियो भने सात जना घाइते भएका थिए ।
सर्वसाधारण व्यक्तिको हत्या गरेर मुलुकलाई अशान्ति र अस्थिरतातर्फ धकेल्न खोज्ने तत्वहरुको षडयन्त्रको रुपमा बिष्फोटको घटनालाई लिएको कांग्रेसले विज्ञप्तीमा उल्लेख गरेको छ ।

प्रतिक्रिया