एउटै चौपायामाथि एक दर्जन गाविसको कर

झापा, १५ फागुन । दमकमा लाग्ने पूर्वाञ्चलकै ठूलो पशु हाटबजारमा कारोबार हुने चौपायामाथि झन्डै एकदर्जन गाविसले कर असुल गरिरहेका छन्। चार वर्षअघि जिविसले कर खारेज गरे पनि विद्यालयका नाममा र राजनीतिक दलहरूको निर्णयमा पशुहाटबाट गाविसहरूले कर सङ्कलन गरिरहेका छन् ।
दमक पशुहाटको कर उठाउनेमा लखनपुर गाविस अग्रपङ्क्तिमा छ । गाविसमा रहेका १०  विद्यालयका नाममा गाविसले चार लाख रुपियाँमा कर सङ्कलनको ठेक्का दिएको सचिव टेकबहादुर कार्कीले बताए ।
गाविसले आफ्नै भूगोलमा कर लगाएको बताए पनि कर सङ्कलकहरूले भने दमककै पशु हाटबजारलाई दुहुनो गाई बनाउँदै आएका छन्, तर लखनपुरका कर सङ्कलनका लागि बनेको समितिका अध्यक्ष वेणुप्रसाद शिवाकोटीले भने, ‘दमक नगरपालिकामै गएर कर उठाउन समितिले भनेको छैन, गाविसको बाटो हुँदै भारततिर लगिने पशुबाट मात्रै कर उठाउन भनेका छौँ ।’
लखनपुरजस्तै तोपगाछी, धरमपुर, सतासीधाम, सुरुङ्गा, टागनडुब्बा, महारानीझोडा, गौरीगन्ज, खजुरगाछी र  बैगुन्धुरा गाविसले पनि दमककै पशुहाटका लागि ठेक्का लगाउने गरेका छन् । तोपगाछी गाविसले दमकको पशुहाटबाट हुने निकासीका लागि एक लाख २७ हजार रुपियाँमा ठेक्का लगाएको छ । गाविस सचिव वीरेन्द्र खड्काले भने, ‘तर कर गाविसभित्रैको सरङपाडा हाटका लागि हो ।’
सुरुङ्गा गाविसले स्थानीय चौपायाको किनबेच हुने गाविसकै हाटका लागि चार लाख रुपियाँमा ठेक्का लगाएको छ । सचिव तुलसी भण्डारीले भने, ‘दमकमा पनि गएर कर उठाउनु ठेकेदारको फट्याइँ हो । यही गाविसको मात्रै कर उठाउन उसलाई अधिकार दिइएको छ ।’
बैगुन्धुरा गाविसका सचिव लीला पौडेल भन्छन्, ‘गाविस संयन्त्रको निर्णय अनुसार भारत निकासी हुने पशुबाट कर उठाउने नियम बनाइएको हो ।’
ती गाविसले दमक नगरपालिकाभित्रकै पशुहाटमा दमक नगरपालिकाबाट जाने पशुबाट कर उठाउने गरेका छन् । केहीले राजमार्ग छेकेर त कतिले पशुहाटमै आएर पनि प्रतिगोरु २० रुपियाँ, राँगा र भैँसीको १० रुपियाँ उठाउने गरेका छन् ।  झापा चकचकी गाविसका अफक आलम दमक पशुहाटबाट काँकडभिट्टा पु¥याउँदा एउटा पशुको दुई सय ३० रुपियाँसम्म कर तिर्नुपर्ने पीडा सुनाउँछन् ।
एलडिओ जीवनप्रकाश सिटौला ‘एउटै पशुहाटबाट असम्बन्धित गाविसले कर उठाउन नपाउने बताउँछन्, तर जिविसले जिल्ला निकासीमा लाग्ने कर पनि पशुहाटमै बसेर काट्ने गरेको छ । पूर्वाञ्चलकै ठूलो मानिएको दमकको पशुहाटसँगै कोहबाराको दामुना, महाभाराको कुन्जीबारी, सुरुङ्गा, भद्रपुरमा पशुहाट लाग्ने गरेको छ । सबै हाटमा छिमेकका असम्बन्धित गाविसले कर लगाउँदै आएका छन् ।
विसं २०३२ देखि लाग्ने पशुहाट कुल पाँच बिघा क्षेत्रफलमा फैलिएको छ । हप्तामा बुधबार लाग्ने हाटमा सरदर पाँच हजार गाईबस्तुको किनबेच हुँदै आएको छ ।

प्रतिक्रिया