एमालेले पांच लाख निम्तो बाड्ने

काठमाडौं, १५ फागुन । नेकपा(एमाले)को राष्ट्रिय प्रतिनिधि परिषद् बैठक उद्घाटन कार्यक्रममा जनसहभागिता जुटाउन केन्द्रीय नेताहरु नै घरदैलो अभियानमा जुटेका छन् । २१ फागुनमा हुने परिषद् बैठक उद्घाटनलाई ‘शक्तिप्रदर्शन’का रूपमा लिँदै केन्द्रीय नेताहरू घरदैलो अभियानमा जुटेका हुन् ।
केन्द्रीय तहका नेताहरु काठमाडौँ उपत्यकाका सबै निर्वाचन क्षेत्रमा घरदैलामै पुगेर उद्घाटनका लागि निम्तो बाँड्न सहभागी भएको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । उपत्यकाका लागि पाँच लाख निमन्त्रणा कार्ड तयार गरी नेताहरु घरदैलो कार्यक्रममा जुटेका छन् । ‘घरदैलो अभियानमै पाँच लाख जनतासँग केन्द्रीय तहका नेताहरुको प्रत्यक्ष भेटघाट हुनेछ,’ पार्टी केन्द्रीय सदस्य तथा उपत्यका संयोजक राजेन्द्र श्रेठले पत्रकार सम्मेलनमा भने ।
प्रचारकै क्रममा सबै निर्वाचन क्षेत्रमा सांस्कृतिक कार्यक्रम, मोटरसाइकल ¥याली र पदयात्राको कार्यक्रम छ । काठमाडौँ क्षेत्र नम्बर २ को सांस्कृतिक कार्यक्रम सोमबार थलीमा आयोजना गरिएको थियो । राजधानीका विभिन्न नाकामा २५ वटा स्वागतद्वार बनाइने एमालेले जनाएको छ ।
२१ फागुनमा राजधानीका सबै नाकाबाट जुलुस निकालिने छ । सहिद मञ्चमा हुने उद्घाटन कार्यक्रममा अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल, नेता केपी शर्मा ओली, उपाध्यक्षहरू वामदेव गौतम, अशोककुमार राई र विद्यादेवी भण्डारी तथा महासचिव ईश्वर पोखरेलले सम्बोधन गर्ने
भएका छन् ।
आठौंँ महाधिवेशनमा नेतृत्वका लागि गुटगत प्रतिस्पर्धा गरेका नेताहरुले गत मङ्सिरदेखि पार्टीको आन्तरिक एकता अभियान चलाएका थिए । तीनमहिने सङ्गठन सुदृढीकरण तथा जनपरिचालन अभियान, परिषद्
बैठक मार्फत समापन हुने एमालेले
जनाएको छ ।

प्रतिक्रिया