अन्तरजातीय जोडी सुरक्षा खोज्दै काठमाडौंमा

काठमाडौं, १५ फागुन । दैलेखको तोली–२ धनीगाउँका सन्तबहादुर दमार्इं र राजकुमारी शाही अन्तरजातीय विवाह गरेकै कारण विस्थापित भएर काठमाडै आएका छन् । गाउँमा केटीका माइती पक्षबाट असुरक्षित भएका कारण उनीहरु चार हजार रुपैयाँ ऋण काढेर ८ फागुनमा काठमाडौं आएका हुन् । उनीहरु अहिले जागरण मिडिया सेन्टर जस्ता अधिकारवादी संस्थाले जुटाइएदिएको राहतमा राजधानीमा दिन बिताइरहेका छन् ।
घरमा बस्न असुरक्षित भएपछि उक्त जोडी दुई महिना दैलेख सदरमुकाम दुल्लुमा बसेको थियो । सदरमुकामबाट घर गएपछि पनि असुरक्षाका कारण घरभित्रै बस्नुपरेको सुनाउँदै सन्तले भने, ‘दुई मिनेटको दूरीमा ससुराली घर छ । हामीलाई देखे उनीहरु आक्रोशित भएर मार्छौं भन्थे । घरबाहिर साथी लिएर जानुपर्ने भएपछि सुरक्षा खोज्दै काठमाडौ आयौं।’
उनीहरूले काठमाडौमा बसेर घर जान वातावरण बनाउन र क्षतिपूर्ति दिलाउन सरकारी निकायलगायत सरोकारवालासमक्ष गुहार माग्ने बताए ।
‘तल्लो जात’का केटाले छोरी विवाह गरेको भन्दै केटीकी फुपू विन्दकला शाही नेतृत्वको समूहले गत १३ भदौमा घरमै आएर खुकुरी प्रहार गरी केटाका बुवा सेतेको हत्या गरेको थियो । त्यसअघि उनीहरूमाथि पनि पटकपटक कुटपिट भएको थियो ।
सन्तले भने, ‘ठूला जातिको अहम् भएका व्यक्तिले बुवाको हत्या गरे, मैले किरिया गर्न पनि पाइनँ ।’ सेतेले सिलाइ काम गरेको भरमा पालिएको परिवार उनको मृत्युपछि बिचल्लीमा परेको छ । सन्तका अनुसार चार रोपनी जग्गाको उत्पादनले नौ जनाको परिवारलाई एक महिना पनि
खान पुग्दैन ।
काठमाडौंमा सन्तको जोडी हाल संघसंस्था, सरकारी निकाय, सञ्चारमाध्यममा न्यायका लागि सहयोग गरिदिन पहल गरिरहेको छ । ‘वास्तवमा हामी पीडित छैा, न कोही आफन्त छ, न पैसा छ । घर जाने अवस्था छैन । सरकारले नहेरे हाम्रो बिजोग हुन्छ,’ सन्तले भने ।
सेते दमाईंको परिवारलाई न्याय तथा क्षतिपूर्तिको माग गर्दै १७ र १८ भदौमा व्यवस्थापिका–संसद समेत अवरुद्ध भएको थियो । विनोद पहाडीको नेतृत्वमा अनुसन्धान गर्न गएको संसदीय टोलीले पीडितलाई १० लाख क्षतिपूर्ति दिन सरकारलाई सिफारिस गरिसकेको छ । अहिलेसम्म त्यसको सुनुवाइ भएको छैन ।

प्रतिक्रिया