‘पिक सिजन’ नलाग्दै डढेलो

काठमाडौं, १५ फागुन । डढेलोको ‘पिक सिजन’ सुरु नहुँदै यस वर्ष हिमाल, पहाड र तराईका जङ्गलमा दिनदिनै आगलागी भइरहेको छ । नेपालमा मध्यफागुनदेखि मध्यवैशाखसम्मको अवधिलाई डढेलोको पिक सिजन मानिन्छ । तर, यस वर्ष त्यसको १० दिनअघिदेखि नै दिनहुँ आगलागीका घटना भइरहेको दक्षिण एसियाली डढेलो व्यवस्थापन सञ्जालले जनाएको छ ।
सञ्जालका अनुसार ५ फागुनदेखि कुनै न कुनै क्षेत्रमा दिनहुँ आगलागी भइरहेको छ । फागुन ५ र ६ गते तीन÷तीन ठाउँ, ७ गते दुई, ८ गते चार, ९ गते दुई, १० गते ६, ११ गते नौ, १२ गते ११, १३ गते १७ र १४ गते ६ ठाउँमा डढेलो लागेको छ । सोमबार पूर्वदेखि सुदूरपश्चिमसम्मका विभिन्न ११ ठाउँमा आगलागी भएको छ ।
सोमबार पूर्वको ताप्लेजुङको भारतीय सीमानजिक चार ठाउँ, सुदूरपश्चिमको शुक्लाफाँटा वन्यजन्तु आरक्षभित्र दुई ठाउँ, मकालु–वरुण राष्ट्रिय निकुञ्जभित्र, धरान–धनकुटा क्षेत्रको कुवाथोकमा, मकवानपुरको भीमफेदी पुलबाट एक किलोमिटर उत्तर–पूर्वमा, चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा र अन्नपूर्ण क्षेत्रको बेंसीसहरबाट उत्तरतर्फ एक÷एक ठाउँमा आगलागी भइरहेको सञ्जालले जनाएको छ ।
सञ्जालका संयोजक सुन्दर शर्माले जलवायु परिवर्तनको असरस्वरूप यो वर्ष चाँडै सुख्खायाम लागेपछि पिक सिजन सुरु नहुँदै दिनहुँ डढेलो लाग्न थालेको बताए । ‘विगत वर्षमा पिक सिजनमा हुनेजस्तो आगलागी यस वर्ष फागुन लाग्दादेखि नै भइरहेको छ,’ उनले भने, ‘डढेलो लाग्न माघदेखि नै सुरु भएको थियो ।’
जल तथा मौसम पूर्वानुमान महाशाखाले एक साताअघि नै अरब मुलुक, भारतको गुजरात, राजस्थानलगायतको मरुभूमि क्षेत्रबाट तातो हावा चाँडै नेपाल छिरेकाले छिटो सुख्खायाम लागेको र तापक्रम बढेको जनाइसकेको छ ।
सञ्जालले सन् २००८ देखि २०११ सम्मका पिक सिजनमा छिटफुट मात्र डढेलो लागेको जनाएको छ । यस वर्ष पिक सिजन सुरु नहुँदै सोमबार ११ र गत शनिबार एकै दिन १७ ठाउँमा डढेलो लागेको छ ।
डढेलोका घटना बर्सेनि भयावह हुँदै गए पनि यसको नियन्त्रणमा कोही गम्भीर नबनेको जानकार बताउँछन् । शर्माका अनुसार नयाँ पालुवा पलाउँछ भनेर होस् वा तस्कर, सिकारीले जन्तु मर्छन् भनेर जानीजानी ६२ प्रतिशत आगो लगाउँछन् र पछि त्यही आगो अनियन्त्रित हुन पुग्छ । ‘अरू आगलागी मानिसकै लापरबाहीले भएको देखिन्छ,’ उनले भने ।

प्रतिक्रिया