व्यवसायमा नयाँ प्रयोग

श्याम कक्षपति
अध्यक्ष, होटल एसोसियसन अफ नेपाल

उद्यम त्यस्तो क्षेत्र हो, जसमा विभिन्न समूहका मान्छेसँग सङ्गत गर्नुपर्छ । फरक फरक किसिमका मान्छेसँग ‘डिल’ गर्नुपर्छ । भनिन्छ, व्यापार गर्न सबै कुरा जान्नुपर्दैन, मात्र केही गर्छु भन्ने इच्छाशक्ति र आँट चाहिन्छ । मनभित्र एउटा ‘जुनुन’ चाहिन्छ । त्यही ‘जुनुन’ र इच्छाशक्तिले उसलाई व्यापारको बाटोमा हिँडाउँछ, दौडाउँछ, लडाउँछ र उठाउँछ पनि ।
यसैगरी लड्दै उठ्दै हिँडेका उद्यमी हुन् श्यामसुन्दरलाल कक्षपति । सानेपा हाइटको ‘पाल्पाली छेँ’ उनको उद्यमको केन्द्र हो । नेवारीमा ‘छेँ’ को अर्थ घर हुन्छ । यही घरबाट उनले आफ्ना सबै बिजनेस सञ्चालन गरेका छन्– नाङ्लो बेकरीका दर्जन बढी आउटलेट, कुरिनटारस्थित रिभरसाइड स्प्रिङ्स रिसोर्ट र अज्जबको आइसक्रिम ।
कक्षपतिले एक हजारभन्दा बढीलाई रोजगारी दिएका छन् । नाङ्लो बेकरीले मात्र तीन सय २५ जनाको परिवार पालेको छ । आफ्ना लागि सुरु गरिएको व्यापारबाट यति धेरैले रोजगारी पाउलान् भनेर उनी आफैँले पनि सोचेका थिएनन् ।
पुख्र्यौली थलो पाल्पामा श्यामका बुबा कपडा व्यापार गर्थे । तर, श्यामलाई भने त्योभन्दा फरक केही गरौँ भन्ने लाग्यो । बुबाले सुरु गरेको कपडा पसलमा उनको मन अडिएन । पढ्न भनेर काठमाडौँ आएका श्यामले १९ वर्षको उमेरमा आफ्नो छुट्टै व्यवसाय सुरु गरे । सुरुमा भाइबहिनी पाल्न ग्रोसरी खोले । अझ नयाँ र च्यालेन्जिङ केही गरौँ भन्ने रहर लाग्यो । यही अभिलाषाले उनी रेस्टुरेन्ट व्यवसायतिर हान्निए । यो व्यवसायमा रुचि भएका कारण दिल्ली गएर कुक, काँटाचम्चा र कफी बनाउने मेसिन ल्याए । कुकिङ पनि सिके ।
सन् १९७३ मा रत्नपार्कमा ‘क्याफे द पार्क’ खोले । नयाँ काम चुनौतीपूर्ण हुन्छ नै । उनले पनि निकै चुनौती र हन्डरको सामना गर्नुपर्यो । रेस्टुरेन्ट कल्चर नै सुरु भएको थिएन काठमाडौँमा । फास्ट फुड त परको कुरा । रेस्टुरेन्ट जाने निकै थोरै थिए । रेस्टुरेन्टमा गएर खानुलाई राम्रो पनि मानिदैनथ्यो त्यतिखेर ।
रत्नपार्कको क्याफे विस्तार गरेर सन् १९७६ मा अर्को रेस्टुरेन्ट खोले । सानो नाङ्लोमा खानेकुरा सजाएर बर्गर, स्यान्डविच सर्भिस हुन्थ्यो उनको रेस्टुरेन्टमा । नयाँ खानेकुरा र सेवामा नयाँपन भएकाले उनको रेस्टुरेन्टमा मानिस जान थाले । पछि त्यही नाङ्लो क्याफेको नाम बन्यो र बिस्तारै ‘ब्रान्डनेम’ बन्यो ।
सुरुमा विभिन्न किसिमका प्रतिक्रिया आए । पिज्जा, बर्गर र हटडग खाने मान्छे निकै थोरै थिए । अहिले जस्तो परिवारै गएर रेस्टुरेन्टमा खाने चलन थिएन ।
केही थाहा नभएको व्यवसाय सुरु गर्दा धेरैले असफल हुन्छ भने तर उनको रेस्टुरेन्ट नयाँ भएकाले मान्छे त्यतातिर तानिए । उनको रेस्टुरेन्टले सहरियालाई ह्याम्बर्गर, पिज्जा, हटडग, आइसक्रिमजस्ता पश्चिमी आइटम खान सिकायो । केही खर्च गर्ने वर्ग पनि तयार भइसकेको थियो । खाली खर्च गर्ने पर्याप्त ठाउँ थिएन ।
बिस्तारै नाङ्लो बेकरी एउटा ब्रान्ड बन्यो । रेस्टुरेन्ट तथा फास्टफुड चेनको रूपमा स्थापित नाङ्लोका हाल १३ आउटलेट छन् । सन् १९९८ तिर नयाँ सोच आयो, सुन्न नसक्नेलाई जागिर दिने । उनीहरू इमानदार हुन्छन् भन्ने लाग्यो उनलाई । यस्ताले पनि रेस्टुरेन्टमा काम गर्न सक्छन् भनी धेरैले उनलाई उडाए पनि । तर, कार्यक्रममा टिकट चेक गर्न कान सुन्न नसक्नेलाई राख्दा प्रभावकारी भएको देखेका थिए उनले । त्यसैले राम्रै हुन्छ भन्ने थियो । सुरुमा १२ जनालाई तालिम दिए । तिनले राम्रो काम गरेपछि अरूलाई पनि लगाउँदै गए । अहिले नाङ्लोका ६ वटा आउटलेटमा ६० जना कान सुन्न नसक्नेले रोजगारी पाएका छन् ।
सुरुमा त उनी आफैँलाई पनि शङ्का थियो, ग्राहकको कस्तो प्रतिक्रिया आउला भन्नेमा । तर अहिले वाहीवाही पाएका छन् । ग्राहकले पनि उनको आइडियालाई मन पराएका छन् ।
अहिले त उनको व्यापारलाई समाजसेवा पनि भन्दारहेछन् कतिले । कान सुन्न नसक्नेसँगै होचापुड्कालाई पनि रोजगारी दिन थालेका छन् । उनकै रेस्टुरेन्टको बच्चा खेल्ने ठाउँमा होचा पुड्काको काम प्रभावकारी भएको छ ।
नाङ्लो ग्रुप अफ कम्पनिजका अध्यक्ष कक्षपति हालै होटल व्यवसायीहरूको छाता सङ्गठन होटल एसोसिएसन नेपाल (हान) को ४१ औँ वार्षिक साधारणसभाबाट आगामी दुई वर्षका लागि अध्यक्ष चुनिएका छन् । यसअघि उनी सङ्घका महासचिव थिए ।
आफ्नो कार्यकालमा होटल व्यवसायीले भोग्नुपरिरहेका समस्या समाधान गर्न सहकार्य गरेर अगाडि बढ्ने उनको योजना छ ।
प्रस्तुति, लक्ष्मीप्रसाद खतिवडा

प्रतिक्रिया