हिड्दा हिड्दै….

राजधानीमा विस्फोट, तीनको मृत्यु

काठमाडौँ, १५ फागुन । सिंहदरबार र बबरमहल आसपासमा लागू गरिएको कडा सुरक्षाको धज्जी उडाउँदै सोमबार दिनदहाडै शक्तिशाली बम विस्फोट गराइएको छ । नेपाल आयल निगमको मूलढोकामा भएको विस्फोटमा तीनजनाको ज्यान गएको छ भने सातजना घाइते भएका छन् ।
विस्फोटमा परी ज्यान गुमाउनेमध्ये दुईजना धादिङका हुन् । एकजनाको भने सनाखत हुन सकेको छैन । धादिङ बैरेनी–१ का ३५ वर्षीय कृष्णबहादुर तामाङको घटनास्थलमै मृत्यु भएको थियो भने सोही स्थानका मानबहादुर तामाङको वीर अस्पतालमा उपचार गराउने क्रममा मृत्यु भयो । अर्का मृतक पुरुषको पहिचान हुन सकेको छैन ।
घाइते हुनेमा बाराका सोमबहादुर तामाङ, भक्तपुर ताथाली–४ का रघुनाथ खड्का, धादिङका लालबहादुर तामाङ, ललितपुर लुभूका वासु श्रेष्ठ, अछाम मष्टमान्डौ–२ का मानबहादुर कुँवर, सोही स्थानका भीमबहादुर कुँवर र धनगढीका विष्णप्रसाद पुलारा छन् । सोमबार दिउँसो एक बजेर ११ मिनेट जाँदा बम विस्फोट भएको हो । विस्फोट भएको स्थान सुरक्षाको चौघेराभित्र रहने सिंहदरबारबाट करिब पाँच सय मिटर मात्रै टाढा छ । निगमको एकापट्टि काठमाडौं जिल्ला आदालत, अर्कोपट्टि महालेखा परीक्षकको कार्यालय र सडक विभाग रहेको छ ।
विस्फोटलगत्तै प्रहरी घटनास्थलमा पुगेको थियो । प्रहरी पुग्दा मृतक तथा घाइते यत्रतत्र ढलिरहेको अवस्थामा थिए । कोही छट्पटाइरहेका तथा कोही बेहोस अवस्थामा थिए भने घटनास्थल रगतको आहालले भरिएको थियो । मृतकका अङ्ग यत्रतत्र छरिएका थिए । केही पर देखिएको मोटरसाइकलको हेल्मेटभित्र थियो, शरीरबाट छुट्टिएको टाउको । नजिकै थियो, कम्मरभन्दा तलको भाग । त्यस्तै अवस्थामा देखिन्थ्यो, अर्को शरीर पनि ।
रगतपिच्छे बनेकाहरूलाई उपचारका लागि तत्काल वीर अस्पताल लगियो । गम्भीर घाइते अवस्थामा रहेका मानबहादुरको उपचारका क्रममा मृत्यु भयो । अर्का घाइते सोमबहादुरको देबे्र कुइना भाँचिनुका साथै आन्द्राभुँडी नै बाहिर निस्किएको उपचारमा संलग्न डा. ध्रवप्रसाद सिंहले जनकारी दिएका छन् ।

छानबिन गर्न समिति
घटना भएको करिब पाँच घन्टापछि नै गृह मन्त्रालयले पत्रकार सम्मेलन गरी विस्फोटको जिम्मा संयुक्त जातीय मुक्ति मोर्चाले लिएको जानकारी दियो । गृह मन्त्रालयका प्रवक्ता शङ्कर कोइरालाले अपराधीलाई पक्राउ गर्न निर्देशन दिइसकिएको बताए ।
पत्रकार सम्मेलनमा सहभागी महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रहरी आयुक्त एआइजी कुबेरसिंह रानाका अनुसार विस्फोटमा टाइम बम प्रयोग भएको छ । उनले भने, ‘विद्युतीय उपकरणबाट ‘अपरेटेड आइडी सकेट’ प्रयोग भएकाले यसले धेरै क्षति भएको हो ।
घटनाको अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख डिआइजी उपेन्द्रकान्त अर्यालको संयोजकत्वमा चार सदस्यीय  अनुसन्धान समिति गठन गरेको छ । समितिको सदस्यमा अपराध अनुसन्धान महाशाखाका एसएसपी देवेन्द्र सुवेदी, आयुक्त कार्यालयका एसएसपी केदारमानसिंह भण्डारी र प्रहरी प्रधान कार्यालयका एसपी सुवोध घिमिरे रहेका छन् ।
यसैबीच, सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विस्फोटको घटनाप्रति दुःख व्यक्त गर्दै उच्च सुरक्षा सतर्कता अपनाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ । मृतकका परिवारलाई राहत दिने र घाइतेको उपचार खर्च सरकारले व्यहोर्ने निर्णय पनि बैठकले गरेको छ । कांग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष झलनाल खनालले विज्ञप्ति जारी गरी विस्फोटको भत्र्सना गरेका छन् ।

मिसकलले जोगायो
भीमबहादुर कुवर, घाइते
आयल निगममा जागिरका लागि फर्म भर्न भनेर म र अङ्कल मानबहादुर सँगै गएका थियौँ । फर्मको कुरा बझेर फर्कंदै गर्दा मोबाइलको घन्टी बज्यो । फोन उठाउन नपाउँदै काटियो र एकैछिन रोकिएर मोबाइल गोजीमा राखेँ । मोबाइल खल्तीमा राखेपछि चस्मा झिकेर लाउँदै गर्दा दुईजना वृद्ध र एकजना युवक मलाई उछिनेर अगाडि लागे । चस्मा लाइसकेर हिँड्न मात्र के लागेको थिएँ, एक्कासि बम पड्कियो । मलाई भर्खर उछिनेर अगाडि लागेका उनीहरू विस्फोटमा परेर लडे । मेरो कानमा पनि अलिकति बमको छर्राले लाग्यो । फोन उठाउन एकैछिन नरोकिएको भए विस्फोटमा पर्ने रहेछु ।

खोइ मेरो जेठो ?

लालबहादुर तामाङ,
घाईते तथा मृतक कृष्णबहादुरका बुबा

धादिङको बैरेनी बजारबाट साढे दुई घन्टा हिँडेपछि मेरो गाउँ गहते आउँछ । गरिब परिवारका हामी कुखुरापालनबाट जीवन धान्छौँ । हाम्रो परिवार २२ जनाको छ ।
जेठो छोरो कृष्ण र म अनि मेरो नाता पर्ने मानबहादुर तामाङ बैंकमा जग्गा धितो राखेर ऋण झिक्न काठमाडौँ आएका थियौँ । धादिङबाट १३ फागुनमा आएर कलङ्कीको गेस्ट हाउसमा बस्यौँ । घरमा भर्खरै मात्र दुई सय ५० कुखुरा ल्याएर पाल्न थालेका थियौँ । कुखुरालाई खुवाउने दाना किन्न तथा ऋण तिर्न पैसा चाहिएकाले बारी धितो राखेर दुई लाख रुपियाँ झिक्ने भनेर बाबुछोरा आएका हौँ । मानबहादुर बुढाको पनि ऋण थियो ।

उनी पनि जग्गा राखेर पैसा निकाल्छु भन्दै हामीसँगै आएका थिए । हामीलाई ऋण मिलाइदिन भनेर गाउँकै नवराज अधिकारी भन्नेले लिएर आएको हो । अहिले हामी दुवैको जग्गाको लालपुर्जा नवराजले नै राखेको छ । लालपुर्जा अदालतमा देखाएर ऋण लिनुपर्छ भनेको थियो उसले ।
मेरो बारी धितो राखेर दुई लाख रुपियाँ ऋण निकाल्नुपर्छ भन्दा नवराजले ‘दुई लाख त होइन, एक लाख आउँछ बा’ भनेको थियो । अदालत जाने बेलामा भने हामीसित नवराज थिएन । उसले पछि आउँछु भन्यो । हामी अदालततिर जाँदै थियौँ । एक्कासि ड्याङ्ग पड्कियो । मेरो हातमा बेस्करी केले खोपेजस्तो भयो । वरिपरि रातो धुवाँ आएको देखेँ । म त भुइँमा लडेछु । एकैछिनमा मेरो छोरा नजिकै लडेको देखेँ । मानबहादुर पनि त्यहीँ पछारिएको थियो । त्यसपछि मेरो होस हरायो ।
केही बरेपछि मलाई गाडीमा हालेको थाहा पाएँ । अस्पतालमा आएपछि मात्र राम्रो होस आएको हो । मेरो छोरा त त्यहीँ बम पड्किएको ठाउँमै बितेछ । मानबहादुर पनि अस्पतालमा बितेछ । मेरो त बिजोग भयो । बरु म बूढोलाई लगेको भए हुन्थ्यो नि ! घरमा मेरो माहिलो र कान्छो छोरा छन् । कृष्णेकी श्रीमती, एउटा छोरा र दुई छोरी छन् । घर पुगेपछि उनीहरूले जेठो खोइ भन्दा मैले के जवाफ दिनु ? हामी गरिबलाई नै किन यस्तो आइप¥यो ! ऋण लिएर घरव्यवहार सुधारौँला भनेको, उल्टै छोरा नै गुमाउनुपर्यो मैले ।
(प्रवीण ढकालस“गको वर्तामा आधारित)

कसले गरायो विस्फोट ?

काठमाडौँ, विस्फोट भएलगत्तै संयुक्त जातीय मुक्ति मोर्चाका प्रवक्ता विश्वक्रान्ति हुँ भन्दै एक व्यक्तिले सञ्चारमाध्यममा फोन गरी घटनाको जिम्मेवारी लिए । उनले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि र सरकार आफूहरूसित वार्ताप्रति गम्भीर नभएको आरोप लगाएका थिए । तर, बेलुकी सोही मोर्चाको नामबाट प्रेस विज्ञप्ति जारी गर्दै घटनामा आफूहरूको संलग्नता नरहेको दाबी गरिएको छ । सो विज्ञप्तिमा संयोजक प्रभास र महासचिव मुक्तिदाताले हस्ताक्षर गरेका छन् ।
मोर्चाको पृष्ठभूमि
संयुक्त जातीय मुक्ति मोर्चाका नाममा राजधानीमा पहिलोपटक १३ मङ्सिर ०६६ मा बालुवाटारस्थित राष्ट्रिय प्रजातन्त्र पार्टी कार्यालयको मूलढोकामा सकेट बम र सुतली बम राखिएको थियो । सो बम प्रहरीले निष्क्रिय पारेपछि कुनै क्षति हुन पाएन । त्यसको केही महिनापछि मोर्चाकै नाममा कमलादीस्थित प्रज्ञा प्रतिष्ठान भवनभित्र रहेको सालिकमा दुईवटा सकेट बम राखिए । नेपाल प्रहरीको बम डिस्पोजल टोलीले सो बम पनि निष्क्रिय गरायो । त्यसबेला बम राखेको जिम्मेवारी लिँदै मोर्चाका प्रवक्ता विश्वक्रान्ति भनिने देवराज लामाले सञ्चारमाध्यमलाई अज्ञातस्थलतर्फ लगेर अन्तर्वार्ता नै दिएका थिए ।
गत १९ जेठ ०६७ मा तीनचुलेस्थित एक घरको भित्तामा बम राखिएको पम्प्लेट टाँसियो । फोनमार्फत सो घरका घरबेटीसँग पार्टीलाई सहयोग गर्न भन्दै चन्दा मागियो । चन्दा लिन मोर्चाका प्रवक्ता विश्वक्रान्ति भनिने देवराजआफै त्यस घरमा जाँदा उनी पक्राउ परेको महानगरीय प्रहरी वृत्तका एक अधिकृतले जानकारी दिए । उनका अनुसार लामालाई चन्दा आतङ्क फैलाएको भनी काठमाडौँ जिल्ला अदालतमा मुद्दा चलाइयो । अदालतले १० हजार धरौटी माग्यो, तर उनले दिन नसकेपछि कारागार गए । यता, मोर्चाले विश्वक्रान्तिकै नाममा अर्को प्रवक्ता नियुक्तगर्यो । मोर्चाले विशेषगरी ग्रामीण क्षेत्रमा आफ्ना गतिविधि बढाए । त्यतिबेला थुप्रै गाविसका सचिवले राजीनामा दिएर सरमुकाममा बस्ने अवस्था सिर्जना भएको थियो ।
आतङ्ककारी गतिविधि चल्दै गर्दा मोर्चा सरकारसँग वार्ताको सोचमा पुग्यो र शान्ति मन्त्रालयमा चिठी पठायो । फलतः २६ साउन ०६८ मा तत्कालीन शान्तिमन्त्री पम्फा भुसाल आफैँ वार्तामा बसिन् मोर्चासित । शान्ति मन्त्रालयको रेकर्डमा उल्लेख भएअनुसार त्यसबेला मोर्चाका तर्फबाट दलमर्दन कामी ‘प्रभास’ले वार्ताको नेतृत्व गरेका थिए । वार्तामा जनलाल थापामगर, अविरल, सङ्घर्ष परियार, क्रान्ति साह, पे्रम चौधरी, भवानी विक, लीला लामा, गौरव महरा, सीतादेवी यादव, जागेश्वर महरा, टासी शेर्पा र सोनाम बसेका थिए ।
वार्तामा उनीहरूले आफ्ना कार्यकर्ता छुटाउने प्रमुख माग राखेका थिए । सरकारको तर्फबाट हतियार बिसाउनुपर्ने पनि उनीहरूको माग थियो । कुरा नमिलेपछि पुनः बस्नेगरी वार्ता टुङ्गिएको मन्त्रालयको रेकर्डमा उल्लेख छ । शान्ति मन्त्रालय सूत्रका अनुसार त्यसपछि मोर्चाको नेतृत्व तहमै कसले नेतृत्व लिने भन्ने विषयमा विवाद चल्यो । विवाद चुलिँदै गएपछि मोर्चाका मुक्तिदाता र दलमर्दन कामी एक ध्रुवमा उभिए । अर्कोतर्फ विश्वक्रान्ति भनिने देवराज लामा र अनन्त क्रान्ति अर्को ध्रुवमा । यसअघिसम्म मोर्चा सचिवालय प्रणालीमा आधारित थियो भने पछि अध्यक्षात्मक प्रणालीमा गयो । यही क्रममा देवराज लामाले अनन्त क्रान्तिलाई अध्यक्ष मान्ने भए भने दलमर्दन कामीले मुक्तिदातालाई । यो टकराव अहिले पनि यथावत् छ ।
गाडीभाडा नहुँदा…
काठमाडौँ, बबरमहलमा बम विस्फोटमा मृत्यु भएका कृष्ण तामाङ र मानबहादुर तामाङका परिवार काठमाडौँ आउन भनी घरबाट हिँडेपछि गाडीभाडा नभएर डेढ घन्टा अलपत्र परे । धादिङ प्रहरीले स्थानीयवासीबाट केही रकम सङ्कलन गरी दिएपछि राति साढे आठ बजे उनीहरू काठमाडौँको गाडी चढेका थिए ।
बैरेनीबाट दुई घन्टा पैदल हिँडेपछि पुगिने गहते गाउँमा रहेका परिवार बैरेनीमा आएर अलपत्र परेका हुन् । बैरेनी प्रहरी चौकीका सई प्रकाश रेग्मीका अनुसार मृतक कृष्ण र मानबहादुर दुवैका आफन्तसँग गाडीभाडासमेत नहुँदा प्रहरीले स्थानीयवासीको सहयोगमा दुई हजार रुपियाँ उठाइदिएका थिए । ‘दुवै परिवारका गरी १२,१३ जना आएका थिए,’ उनले सौर्यसँग भने, ‘सबैसँग भएको पैसा जम्मा गर्दा पनि काठमाडौं पुग्ने भाडा नपुगेपछि हामीले स्थानीयबाट पैसा जुटाइदिएका हौँ ।’ मृतक कष्णका भाइ तथा घाइते लालबहादुरका माहिला छोरा श्यामले काठमाडौँसम्म जान भाडा जसोतसो जोहो भएपनि फर्कने बेलामा काठमाडौँमै माग्नुपर्ने अवस्था रहेको सौर्यलाई सुनाए । उनले भने, ‘घरायसी समस्या सल्टाउन हिँडेका दाजु उतै बिते, बाबु पनि घाइते भएछन् । समस्यामाथि शोक थपियो ।’


सोमवार बवरमहलमा भएको बिष्फोटन । बिष्फोटनबाट भएको मानवीय क्षति । फोटोः ज्ञानेन्द्र कार्की काठमाडौं ।

प्रतिक्रिया