लडाकु समायोजन सेनाको मापदण्ड अनुसार हुन्छः नेपाली सेना

काठमाडौं, ६ फागुन । नेपाली सेनाले आफ्नो मापदण्ड अनुसार नै माओवादी लडाकुको समायोजन हुने जनाएको छ । उसले समायोजन प्रक्रियामा लडाकुहरुलाई सेनानीदेखि सहायक सेनानीसम्मका अधिकृतको दरबन्दी छुट्याईएको भन्ने आँकडा र समाचार पूर्ण रुपमा असत्य रहेको भन्दै खण्डन गरेको छ ।
सैनिक जनसम्पर्क निर्देशनालयले आज विज्ञप्ती जारी गरेर विशेष समितिको सिफारिसमा सरकार मार्फत समायोजन हुन आउने लडाकुहरुले छुट दिईएका विषयहरुका अलावा अन्य छनौट प्रक्रिया स्थापित माप दण्ड अनुसार समायोजन गर्ने जनाएको छ । सेनाको माप दण्डमा आधारीत परिक्षाहरु उत्तिर्ण भएपश्चात बढीमा अधिकतम सेनानी सम्मबाट तलका विभिन्न दर्जाहरुमा लडाकु समायोजन गरिने विज्ञप्तीमा उल्लेख छ ।
सेनाले छनौट सन्दर्भमा भ्रम सृजना हुने खबर प्रेषित गरेको भन्दै समायोजनमा आएका लडाकुहरुलाई सहायक रथीसम्म दिने भन्ने हल्ला कपोलपल्पित रहेको स्पष्ट पारेको छ । उसले लडाकुलाई रथी सम्मको दर्जा दिने सम्बन्धमा कहि कतै सम्झौता नभएको जनाएको छ ।
सेनाले तयार पारेको महानिर्देशनालयको योजना सेनाको छुट्टै अङ्ग नभई नेपाली सेनाकै मातहतमा रहने गरी गठन हुने महानिर्देशनालय रहेको विज्ञप्तीमा उल्लेख छ ।
सात बुँदे सम्झौतामा उल्लेख भए अनुरुप नै सकल दर्जाको वित्तृविकासमा असर नपर्ने गरी सम्झौतामा उल्लेख भएको बैवाहिक स्थिती, शिक्षा र उमेर बाहेक अन्य सबै सेनाको स्थापित माप दण्ड बमोजिम नै विशेष समितिद्वारा सिफारिस लडाकुहरुलाई बढीमा छ हजार पाँचसयसम्म समायोजन गरिने सेनाद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । साथै लडाकु समायोजन सामुहिक वा युनिट गत रुपमा नभई व्यक्तिगत रुपमा स्थापित मापदण्डहरु पुरा गर्नेलाई मात्र छनौट गरी समायोजन गरिने सेनाले जनाएको छ ।
त्यसै गरेर सेनाले प्रारम्भिक योजनामा लडाकुहरुलाई समायोजनको लागि छनौट गर्ने स्थान क्यान्टोमेन्ट नजिक रहेका बाहिनी तथा गणहरुमा सेनाको स्थापित माप दण्ड अनुसार छनौट गरी छनौट भएकाहरुलाई सेनाको तालिम केन्द्र तथा उप केन्द्रहरुमा लडाकुलाई तालिम प्रदान गरिर्ने जनाएको छ । छनौट भएका लडाकुलाई क्यान्टोमेन्टहरुमा तालिम प्रदान गर्ने नभई सेनाको तालिम केन्द्रमा गराईने विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया