चम्किला पशुपति

उमेर हेर्ने हो भने यतिखेर ‘रिटायर्ड लाइफ’ मा हुनुपर्ने हो पशुपतिशमशेर जबरा । तर, ७० वर्षे उमेरमा पनि उत्तिकै सक्रिय छन्, जुन सक्रियता युवावस्थामा थियो । अनेक रोगको खात लाग्दै जाने यत्तिको बुढ्यौलीमा अरू बूढाहरू भए ख्वाङख्वाङ खोक्दै एक गिलास तातोपानीका लागि बुहारी गुहार्दै घरमा थन्किँदा हुन् । तर, राष्ट्रिय प्रजातन्त्र पार्टीका यी अध्यक्षको कुरै अर्को ! यिनको शारीरिक, मानसिक अनि राजनीतिक चुस्तता पट्ठो ठिटोको जस्तो छ । कुनै कार्यक्रममा पुग्नुपरे अर्काले पाखुरा समातेर झल्ट्याङ–झुल्टुङ पार्दै कुर्सीमा बसाइदिनुपर्ने परिकल्पना उनका लागि एकादेशको कथाजस्तो हो । ठाँटका साथ बडो जोसिलो शैलीले हिँड्छन्, कार्यक्रममा पुग्छन् अनि भाषण गर्छन् यी ‘नाति जर्नेल’ ।
बुढ्यौली उमेरसँगै शरीरमा भित्रिन खोज्ने सुगर, प्रेसरलगायत रोगले यिनको छेउसम्म पुग्ने आँट गरेका छैनन् । नियमित कसरत अनि ठिक्क भोजन आफ्नो तन्दुरुस्तीको रहस्य रहेको उनले बताए । उनले भने, ‘हरेक मान्छेले दिमाग र शरीरलाई एकसाथ चलाउनुपर्छ, चलाउन सकिएन भने त्यसको कुनै अर्थ हुँदैन ।’
‘प्रेम र पारिवारिक जीवनमा खुसी हुन सकियो भने त्यसले पनि मान्छेलाई तन्दुरुस्त बनाउँछ’, उनले बुझेको अर्को स्वास्थ्य टिप्स । ‘मेरो परिवारमा त्यस्तो खुसी प्रशस्तै छ, सायद त्यसैले मलाई तन्दुरुस्त देखाएको होला’, सुखद अनुभूति सुनाए उनले । उनलाई एउटा चिन्ता छ तर त्यसले उनलाई कमजोर बनाउँदैन, झनै जोसिलो बन्न प्रेरित गरिरहन्छ । भन्छन्, ‘आफ्नो पार्टी फुटेकोमा दुःख लाग्छ, यसलाई कसरी एकीकरण गर्ने भन्ने चिन्ता लाग्छ तर यो चिन्ता धेरै दिन रहन दिन्नँ, मसँग समस्या समाधान गर्ने तागत प्रशस्तै छ ।’ उनमा गज्जबको स्फूर्ति सल्बलायो ।
बिहान सात बजे उठेपछि उनको दैनिकी सुरु हुन्छ । केहीबेर ध्यानमा लीन हुन्छन् । ध्यानले उनलाई एकाग्रचित्त हुन सघाउँछ रे ! त्यसपछि नियमित कसरत सुरु हुन्छ । त्यसैबेला कुकुरसँग पनि खेल्न भ्याउँछन् । ‘के गर्ने आइहाल्छ जिस्किन, मलाई पनि रमाइलै लाग्छ योसँग खेल्न,’ छेउमै रहेको ज्याङ्गो कुकुर देखाउँदै मज्जाले हाँसे उनी । कुनै रोग छैन, त्यस कारण खाने कुरामा पनि कुनै बाराना छैन । खानपिनमा खान्दानी राणापन छैन रे उनको भान्सामा ! राजनीतिमा कतिबेला के खानुपर्छ, के थाहा ? कहाँबाट छानेर साध्य होस् ।
‘नेपाली खाना जे पनि खान्छु म त, मुख बार्नुपर्ने केही छैन,’ यसो भनिरहँदा उनको मुहारमा अहिलेसम्म कुनै रोगले आक्रमण गर्न नसकेको सान पनि झल्किरहेको थियो । खानामा यही नै चाहिन्छ भन्ने छैन, जे पनि खान्छन् । मासु अलि बढी मन पराउँछन् तर छाला र बोसो भएको चाहिँ हुँदैन रे ! मृग र बँदेलको मासु विशेष मन पराउँदा रहेछन् । नेपालीका अलावा युरोपियन खाना उनलाई मन पर्छ । घरमा चिल्लो पाक्दैन र त्यो उनको पनि रोजाइ होइन । ‘अमिलो र पिरो भने अलिअलि रुचाउँछु,’ डाक्टरले दिएको औषधि खाँदै मुख बारेर बस्नुपर्ने बूढाहरूलाई उनको लोभलाग्दो भनाइ ।
नियमित नुहाउँछन् । ‘तर, मलाई पौडी खेल्नचाहिँ आउँदैन है,’ उनले ढाँटेनन् । भ्याएसम्म दुई–तीन घन्टा लगाएर शिवपुरी डाँडो चढ्न पनि अल्छी मान्दैनन् उनी । हिँडाइले आपूmलाई अझ बढी स्फूर्त बनाउने अनुभूति सुनाउँछन् । त्यसो त उनले रक्सी पनि पिउने नगरेका होइनन् । युवा अवस्थामा अलि बढी नै पिए पनि अहिलेचाहिँ निकै कम पिउँदा रहेछन् । ‘तर, यो बुढ्यौलीले कमजोर बनायो भनेर घटेको होइन है,’ उनले प्रस्ट्याउन खोजे, ‘हिजोआज त्यति मन लाग्दैन क्या !’ वाइन उनको रोजाइ हो, कहिलेकाहीँ ह्विस्की पनि पिउँछन् रे !
धर्ममा निकै आस्था राख्छन् उनी तर यो पनि युवावस्थादेखिकै बानी हो रे ! भन्छन्, ‘म हिन्दु हुँ, प्रत्येक महिना एक वा दुईपटक बङ्गलामुखी जान्छु । म उनको भक्त हुँ ।’ एक्लै कि पत्नीसँगै ? उनको जवाफ, ‘प्रायः त म एक्लै नै हुन्छु, मौका मिल्दाचाहिँ बूढाबूढी नै जान्छौँ ।’ राम्रो देखिन यस्तै कपडा चाहिन्छ भन्ने उनलाई छैन तर ‘फिटिङ भए राम्रो’ भन्नचाहिँ छुटाएनन् ।

पशुपतिका स्वास्थ्य रहस्य
– सकेसम्म एन्टिबायोटिक खाँदैनन् ।
– खाना पनि ठिक्क खान्छन्, चिल्लो खाँदैनन् ।
– दिनहुँ नुहाउँछन् ।
– चिन्ता लिँदैनन् ।
– बिहान उठेर ध्यान अनि कसरत गर्छन् ।
– समय पाउनासाथ पैदल यात्रामा निस्कन्छन् ।

पचास वर्ष कट्दादेखि नै निचोरेको कागतीजसरी चाउरिन थालेका समकालीनबीच उनको मुहारमा चाहिँ एउटा धर्सो पनि देखिँदैन । खुब तारिफ गर्छन् रे साथीहरू उनको, बुढ्यौलीले बिगार्न नसकेको जवानीपन अनि क्रियाशीलताको । त्यसो त स्वास्थ्यप्रति उनी आफैमा पनि सचेत छन् । भन्छन्, ‘सामान्य समस्यामा पनि सकेसम्म एन्टिबायोटिक प्रयोग गर्दिनँ, त्यसले साइड इफेक्ट गर्छ ।’ आयुर्वेदिक अनि होमियोप्याथिक दुवैको सहरा लिँदा रहेछन् उनी सानोतिनो समस्यामा ।
शान्तिप्रक्रिया टुङ्गोमा पुग्न नसकेकामा चिन्तित छन् उनी पनि । तर, अन्य दलका नेताले आफूलाई यसबारे सुझाबका लागि बोलाए, जुनसुकै वेला तयार छन् रे ! ‘यस्ता कुरामा मेरो उमेर र बुढ्यौली कहिल्यै बाधक बन्नेछैन,’ ढुक्क छन् उनी ।

प्रतिक्रिया