प्रशासनिक संयन्त्रबाट मन्त्री नै दिक्क

काठमाडौँ, १४ फागुन । देशको प्रशासनिक संयन्त्रबाट मन्त्री नै दिक्क भएका छन् भने सर्वसाधारणको अवस्था के होला ? १८ वर्षसम्म शिक्षण पेसाको अनुभवसमेत बटुलेका शिक्षामन्त्री दीनानाथ शर्मा ‘प्रशासनिक संयन्त्र काम गर्नभन्दा पनि बिगार्नमा बढी’ लागिपरेपछि दिक्क भएका हुन् ।
नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका संस्थापकसमेत रहेका मन्त्री शर्मा प्रशासनका कारण शिक्षकका माग पूरा गर्न नसकेपछि आइतबार मन्त्रालयमा बसेर शिक्षककै नाराबाजी सुन्न बाध्य बने । मन्त्रीको कुर्सीमा बसेका शर्माले शिक्षकका नाराबाजीले आफूलाई ‘नरमाइलो’ महसुस गराएको प्रतिक्रिया दिए । शिक्षकहरू आइतबार विद्यालय बन्द गरेर शिक्षा मन्त्रालयअगाडि धर्ना बसेर नाराबाजी गरिरहँदा भित्र उनी यस्तो बताइरहेका थिए ।
शिक्षकका माग आफूले पूरा गर्न खोजे पनि प्रशासन संयन्त्रबाट काममा ढिलाइ भएकाले यस्तो अवस्था आएको उनले बताए । ‘नेपालको प्रशासनिक संयन्त्र निष्कर्ष दिन, समस्या समाधान गर्न होइन, समस्यालाई जटिल बनाउन र बल्झाउन क्रियाशील छ,’ बाहिर नाराबाजी भइरहेका बेला कार्यकक्षमा सञ्चारकर्मीसँग उनले भने, ‘शिक्षा क्षेत्रमा धेरै समस्या छन् तर उच्च प्रशासनिक संयन्त्रको दिमागमा छिटो समाधान गर्नुपर्छ भन्ने कुरो घुसेन ।’
बालबालिकालाई पढाएर मार्गदर्शन गराउने शिक्षक सडकमा आउनुपर्ने अवस्था राम्रो नभएको उनी बताउँछन् । ‘यस्तो अवस्था आउँदा मलाई नमीठो लागिरहेको छ,’ उनले भने, ‘म त शिक्षकको पक्षमा लडाइँ लडिरहेको छु ।’
शिक्षकले पढाइ छाडेर आन्दोलनमा उत्रनुमा उनले राज्यकै कमजोरी रहेको स्वीकार गरे । उनका अनुसार शिक्षक रहरले अस्थायी भएका होइनन् । ०५२ सालदेखि आयोग खुलेन, राज्यले अस्थायी शिक्षक राखेर अन्याय ग¥यो । ‘शिक्षा मन्त्रालयले न्याय गर्नुपर्छ,’ उनले भने, ‘मन्त्रालय शिक्षकसँग भएका सम्झौता कार्यान्वयनमा प्रयासरत छ ।’
उनले आफू मन्त्री भएपछि समस्या समाधानमा लागिपरेको बताए । अस्थायी शिक्षकका समस्या समाधान गर्न शिक्षक सेवा आयोगलाई जीवित बनाएको उनी बताउँछन् । उनका अनुसार शिक्षकका माग पूरा गर्न शिक्षा ऐन संशोधनको तयारी भइरहेको छ । तीन महिनादेखि आफू शिक्षा ऐन संशोधनमा लागिपरेको भन्दै उनले संशोधनपछि शिक्षकका अधिकांश माग पूरा हुने दाबी गरे ।
जथाभावी विद्यालय बन्द गर्न शिक्षा नियमावलीले बन्देज लगाए पनि शिक्षकहरू आन्दोलनमा उत्रँदा सरकारले कारबाही गर्न किन नसकेको भन्ने जिज्ञासामा उनले भने, ‘पहिले वार्ता गर्छौँ । समस्या समाधान नभए सरकार पछि पर्दैन ।’
नियमावलीअनुसार सार्वजनिक बिदाको दिन, दसैँको घटस्थापनादेखि पूर्णिमासम्म विद्यालय बन्द गर्न सकिन्छ । त्यसबाहेक एक शैक्षिक सत्रमा व्यवस्थापन समितिले निर्णय गरे पाँच दिन विद्यालय बन्द गर्न सक्छ । यीबाहेक अन्य दिनमा बन्द गरे प्रधानाध्यापकलाई विभागीय कारबाही हुन्छ ।

आन्दोलनमा उत्रेका शिक्षक मञ्चसँगै गिरफ्तार
काठमाडौँ, विगतमा सरकारसँग भएका सहमति कार्यान्वयनका लागि दबाब दिन आइतबार विद्यालय बन्द गरेर शिक्षा मन्त्रालयअगाडि धर्ना बसेका शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । शैक्षिक गणतान्त्रिक मञ्चका अध्यक्ष होमकुमार थापाका अनुसार एक सय शिक्षक गिरफ्तारीमा परेका थिए । प्रहरीले धरपकड गर्ने क्रममा शिक्षक हरिदेव यादव घाइते भएका छन् । प्रहरीले पक्राउ गरेका सबैलाई आइतबार नै रिहा गरिसकेको छ ।
ट्रकलाई मञ्च बनाएर सडकमा कार्यक्रम गरिरहेका शिक्षक नेतालाई ट्रकसहित नियन्त्रणमा लिई महानगरीय प्रहरी प्रभाग दरबारमार्गमा लगेर राखेको थियो । पहिले सबै सडक कब्जा गरेर कोणसभा गरिरहेका शिक्षकलाई तितरबितर गरी प्रहरीले ठमेलतिरको सडकमा सीमित गरेको थियो । खुलामञ्चबाट जुलुससहित मन्त्रालय पुगेका आन्दोलनकारी शिक्षकले प्रहरीले धरपकड गरेपछि दिउँसो शान्तिबाटिकामा आएर कार्यक्रम गरेका थिए । आफूहरूमाथि प्रहरीले हस्तक्षेप गरेको भन्दै विरोधमा उनीहरूले सोमबार पनि उनीहरूले विद्यालय बन्दको घोषणा गरेका छन् ।

प्रतिक्रिया