राष्ट्रिय सरकार छिट्टै बन्छः प्रधानमन्त्री

काठमाडौं, १४ फागुन । प्रधानमन्त्री बाबुराम भट्टराईले सरकार गठन हुनुभन्दा अगाडि ठप्प रहेको शान्ति र संविधानले गति लिएको दाबी गरेका छन् ।
सुदूरपश्चिमको कैलाली आजदेखि सुरु भएको छैटौ राष्ट्रिय खेलकुको उद्घाटनमा भट्टराईले आगामी जेष्ठ १४ गते भित्रै शान्तिप्रकृया र संविधान लेखन कार्य पूरा हुनेमा आफूले विश्वास लिएको बताए । उनले केही दिनदेखि प्रमुख राजनीतिक दलहरुका बीच शान्ति र संविधानमा सहमति कायम हुन बाँकी रहेका विषयहरुमा छलफल केन्द्रित रहेको बताएका छन् । भट्टराईले छलफल जारी रहेकाले छिट्टै शान्ति, संविधान र राष्ट्रिय सरकार निर्माणमा महत्वपूर्ण सफलता हासिल हुने दाबी समेत गरेका छन् ।
उनले वर्तमान सरकारको प्रमुख काम शान्ति र संविधान नै भएता पनि सरकारले प्रदान गर्ने सेवा र वस्तुहरु सरल र सुलभ रुपमा प्राप्त होउन् भन्ने पक्षमा रहेको बताए ।
आर्थिक सम्बृद्धिबिना खेलकुदको दीगो विकास हुन नसक्ने भएको बताएका भट्टराईले सरकारले हालै आर्थिक विकास र सम्बृद्धिको तत्कालीन कार्ययोजना तयार गरेर तदारुकताकासाथ कार्यान्वयन गरिरहेको दाबी गरे ।

प्रतिक्रिया