तीन सातामा शिविर खाली गर्ने माओवादी प्रस्ताव

काठमाडौं, १४ फागुन । प्रमुख तीन दलको शीर्ष बैठकमा एकीकृत माओवादीले बढिमा तीन साताभित्र आफ्ना शिविर खाली गर्ने प्रस्ताव गरेको छ ।
कांग्रेस सभापति सुशील कोइरालको निवास महाराजगञ्जमा आज विहान बसेको तीन दलको बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहालले बढिमा तीन साताभित्र समायोजन प्रक्रिया टुग्याएर शिविरहरु खाली गर्ने प्रस्ताव गरेका हुन् । गत शुक्रवार बसेको तीन दलको शीर्ष बैठकले दाहाललाई शान्ति प्रक्रिया अघि बढाउने विषय टुग्याउने प्रस्तावको जिम्मा दिएअनुसार माओवादीबाट उक्त प्रस्ताव तयार भएको हो ।
बैठकमा पेस भएका प्रस्तावमा विस्तृत छलफल भने हुन नसकेको माओवादी अध्यक्ष पुष्पकमल दाहालले जानकारी दिए ।
तीन दलका शीर्र्ष नेताले शान्ति प्रकृया र संविधान लेखनको काम पूरा गर्नका लागि शुक्रवार जिम्मेवारी बाँडफाँट गरेका थिए । जिम्मेवारी अनुसार गृहकार्य गर्नका लागि थप केही समय लाग्ने भएकाले आगामी अठार गते पुनः बैठक बसेर शान्ति प्रक्रिया, संविधान लेखन र राष्ट्रिय सहमतिको सरकार गठनका विषयमा प्याकेजमै सहमति जुटाउन प्रयास हुने बैठकपछि कांग्रेस सभापति सुशील कोइरालले जानकारी दिए ।
जिम्मेबारी पाएका नेताहरुले आफ्नो प्रारम्भिक प्रस्ताव बैठकमा पेश गरेका थिए । त्यसमा केहि परिमार्जन गरेर अर्को बैठकमा छलफल गरेर सहमतिको प्रयास हुने नेताहरुले बताएका छन् । वैठकले तत्काल विशेष समितिको बैठक राखेर माओवादी लडाकुहरु बस्दै आएका शिविर खाली गर्ने प्रक्रिया सुरु गर्ने सहमति गरेको एमाले नेता भीम रावलले जानकारी दिए ।
राष्ट्रिय खेलकुद प्रतियोगिता उदघाटन गर्न प्रधानमन्त्री राजधानी बाहिर जानुपरेको र सोमबार विशेष समितिको बैठक बसेर आवश्यक निर्णय लिने तयारी गर्ने सहमतिपनि बैठकमा भएको छ ।

प्रतिक्रिया