छानबिन गर्न तीन दलको माग

महेन्द्रनगर, १३ फागुन । विद्यार्थी सङ्गठनले नियन्त्रणमा लिएर बुझाएको पाँच ट्रक खयर प्रहरीले छाडेपछि कञ्चनपुरका तीन दलले घटनाको छानबिन गर्न माग गरेका छन् ।
शनिबार नेकपा (एमाले) पार्टी कार्यालयमा बसेको बैठकले काठ छाड्नेलाई कारबाहीको माग गरेको हो । ‘विद्यार्थीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय अगाडि राखिएको ट्रक रहस्यमयी ढङ्गले रातारात छाडिनु र बिहान महेन्द्र राजमार्गको अर्जुनी चेकपोस्टबाट जिल्ला वन कार्यालयमा ल्याउनु गम्भीर हो’ बैठकपछि जारी संयुक्त वक्तव्यमा भनिएको छ ।
‘प्रहरी कार्यालयमा नियन्त्रणमा राखिएका ट्रक रातारात कञ्चनपुर कटाउने तयारी भएको देखिन्छ’ एमाले उपाध्यक्ष लालबहादुर खड्काले भने, ‘रातारात भगाउने कार्यमा जो संलग्न भए पनि कारबाही गर्नुपर्छ ।’ उपाध्यक्ष खड्काले दलहरुको दबाबमा अर्जुनी चेकपोस्टमा ट्रक रोकाइएको बताए । बैठकमा एमाओवादी इन्चार्ज डिडी पाण्डेय, कांग्रेसका बहादुरसिंह थापा र एमाले अध्यक्ष ईश्वरीप्रसाद खरेल थिए ।
बिहीबार राति अनेरास्ववियु, नेविसङ्घ र अनेरास्ववियु(क्रान्तिकारी)का विद्यार्थीले नियन्त्रणमा लिएका पाँच ट्रक खयरका काठ प्रहरी कार्यालयमा बुझाइएको थियो । ना ३ ख ७४०६, से १ ख ४९६, से १ ख ७५६, ना ३ ख ९०९ र ना ३ ख ४४८० नम्बरको ट्रकमा ल्याइएको काठलाई शुक्रबार छानबिन गर्ने भनेर वन कर्मचारीले प्रहरीमै छाडेका थिए । राति नै प्रहरीले ६ किलोमिटर परसम्म स्कर्टिङ गरेर काठ पठाएपछि वन कार्यालयले शुक्लाफाँटा आरक्षको अर्जुनी चेकपोस्टबाट नियन्त्रणमा लिएको हो । तर जिल्ला प्रहरी कार्यालयका निरीक्षक एकिन्द्र खड्का प्रहरीले स्कर्टिङ गरेको गलत भएको जिकिर गरे । उनले भने, ‘हामी सुरक्षा दिन्छौँ भन्दा वन कर्मचारीले नै पर्दैन भनेका थिए ।’
शुक्लाफाँटा आरक्ष कार्यालयको निकासा सहमति र गौरीशङ्कर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह चाँदनीको छोडपुर्जी रहेको काठ नेपालगन्ज लगिँदै गरेको अवस्थामा कार्यालयले नियन्त्रणमा लिएको हो । एक हजार ६ सय ८६ क्युफिट काठको छोडपुर्जी भए पनि ट्रकमा काठ बढी भएको पाइएको छ ।
डिएफओ लालनारायण सिंहले काठ नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रतिक्रिया दिएका छन् । यस्तै, सिडिओ वासुदेव दाहालले पाँच ट्रक काठका विषयमा छानबिन गरिने बताएका छन् । उनले भने, ‘शुक्लाफाँटा वन्यजन्तु आरक्ष कार्यालय र गौरीशङ्कर मध्यवर्ती सामुदायिक वनका पदाधिकारीलाई आवश्यक कागजात सहित बोलाइएको छ र सरोकारवाला राखेर छानबिन गरिनेछ ।’ उनले थपे, ‘छानबिनमा कागजात अनुरूप नपाइए सबै काठ जफत गर्छौँ ।’ जिल्ला प्रहरी कार्यालयबाटै प्रहरीले काठ छाडेकोबारे सिडिओले जानकारी नभएको बताए ।
तनाव बढेपछि वन विभागले काठ आरक्षको क्षेत्राधिकारमा पर्ने बताउँदै आरक्ष कार्यालयलाई छानबिन गर्न निर्देशन दिएको छ । तर दल र विद्यार्थीले जिल्ला वन कार्यालयमै छानबिन गरिनुपर्ने अडान राखेपछि ट्रक आरक्ष कार्यालयमा लगिएकोे छैन ।

प्रतिक्रिया