मुन्नी बदनाम हुई…

‘यो सब मधेसको अपमान हो ।’, घूरमा पराल थप्दै झगरु तेलीले बिहानैको चिसोमा सबलाई तताउँथ्यो । हामी देहातीहरूलाई हेप्ने काम भइरहेको छ । मधेस आन्दोलनले चेतेनन् पहाडी लोग । सोनपर्सामा राजनीतिक चेत छर्ने झगरुको गफ सुन्दै जाडोमा घूर तापेर बिँडी तान्नेहरू अहिले लाखापाखा भएर चोक सुनसान छ ।
‘हाम्रा नेताहरू काठमाडौँमा जेरीपुरी बेच्न थालेछन् ।’, बिहारमा त्यत्रो एकसय ८५ मुलुकका आदमी आइहाल्यो त चीफ गेस्ट बाबुराम भइगए । झगरुलाई सोध्नुपर्छ भूम्री चाचा । ‘मोबाइल अफ गरेर कहाँ गएछन् झगरु ?’, मुन्नी चौधरीको चिया पसलमा जोगेन्दरले भुम्री चाचालाई सोध्यो । चाचा दुईहात पुर्पुरोमा राखेर टोलाइरहेका थिए । ‘अरे जोगेन्दर मेरो त बेहाल भइगयो’, चाचाजीले सबेरै परेसानपूर्ण भावमा भने – ‘अरे एक मधेस स्वायत्त प्रदेश काठमाडौंमै हुने भो चाचाजी । देखिहाल्नुभयो, झप्पी गुप्ता चाचाले झक मारेको पनि अदालतले थाहा पाइलियो । अरे घप्ला गरेको होइन भनेनन् बरु जुर्माना २० प्रतिशत घटाइ पाऊँ भनेर फिराद हाले । अब फेरि अर्को किताब लेख्छन् यिनले । खगेन्दर चाचा पनि उतै छन्, बेटाको शादीअघिदेखि ।’ मुन्नीको चायपसलमा आउनेबित्तिकै नागेन्दर पनि कुर्लियो, ‘देखिलिनुस्, अखबारमा फोटोउटो आएको छ । अरे झगरु कहाँ गएछ ?’ उसले पनि चासो देखायो ।
‘तराईका नेताहरू धमाधम जेल जाने भए । अब उतै हुने भयो एक मधेस प्रदेश, उतै लेखिने भो संविधान ।’ उही कुरा फेरि दोहोरियो । मुन्नीको चायपसलमा झगरुबिना पनि आज राजनीतिक गफ चल्यो । छेवैको रामनारायण हलुवाइको पान पसल पनि खुल्यो । उसले ठूलो स्वरमा बिहानै लाउडस्पिकर घन्कायो, ‘मुन्नी बदनाम हुई डार्लिङ तेरे लिए ।’ मधेसमा बलेको आगो र त्यसकै कारण सोझासाझामा रौनक हराउन थालेको चिया पसलको गफमा सुनिन थाल्यो । सहिद परिवारको अवस्था उस्तै छ । अचेल त बिहारमा काम पनि पाइन छाड्यो, पहाडमा चुराधागो बेच्न पनि खतरा छ । ‘आन्दोलनले त हामीलाई सजिलो बनाएन चाचा ।’, सियाराम झा पनि भुम्री चाचालाई गुनासो गर्दै थिए ।
‘अरे नेताहरू मन्त्री, सभासद् भएर तराईलाई के भयो ? कोही अपहरणमा, कोही भ्रष्टाचारमा, त कोही विखण्डनका पक्षमा बोलेर बिनबुलाए बारात भए,’ मुन्नीको चिया पसलमा भेला हुनेहरू चिया, बिँडी, सुर्ती, पान र खैनी खाएर परेसानी प्रकट गर्दै थिए । ‘दामादले अंश मागे जोगेन्दर ।’, भुम्री चाचाले अर्को परेसानी सुनाए । ‘अरे बाफ् रे, कसरी चाचा ?’, जोगेन्दर फेरि करायो, ‘नागरिकता दिएथ्यो त हमी बेटा भनेर ।’ अहिले भन्छन्– ‘कि जग्गा पनि चाहियो, नत्र बेटी फिर्ता ।’
‘आन्दोलनपछिको नतिजामा बाँडिएको नागरिकताको करामत पनि खराब आयो’, चाचा बोले । ‘रामनारायण एगो पान खिलाओ, जर्दावाला’, मुन्नीको चिया पसलबाटै जोगेन्दर करायो । ‘अरे चाचा तपाई पनि खाइलिनुहुन्छ, रामनारायण एगो और चाचाका लिए ।’, जोगेन्दर फेरि करायो, ‘अस्ति बोर्डरमा मजदुरी गरेर फर्किएको शुभक पनि मारियो । एसएसबी कि केले हो, यतै आएर गोली हान्न थाल्यो । उता, सहिद परिवारका रमुवा दबाईको गोली नपाएर म¥यो । चाचा, गोली खाएर पनि मरण, गोली खान नपाएर पनि मरण । ‘आफ्नै गाउँ पनि देहातजस्तो भएन, नेताहरूले काममा लगाउन छाडे’, बिँडीको ठुटो निभाउँदै अशोकले सुनाए ।
‘हो त, खगेन्दर चाचाले व्यापारीलाई उठाउन पनि पहाडी मूलका लड्कालाई लियो । हामीले त काम नै पाएनौँ । हामी त मधेसमा बसेर भोट हालेर के भो, नहालेर के भो ? देहातमा लोकतन्त्र पनि आएन, लोगतन्त्र पनि आएन,’ घाम माथि आइसक्दा पनि मुन्नीको चिया पसलमा निरासाका गफ सकिएनन् । उताबाट कराउँदै आयो पङ्कज, ‘अरे पढिलिनुस् पत्रिका, झगरु त भारत हानिएछ । पेपर पढिलिनुस् । भन्दै छ कि, यतै मजदुरी गरेर बस्छु । के भएछ झगरुलाई । गाउँमा एन्जिओ चलाउँथ्यो ।
राजनीतिक चेत छथ्र्यो सोझालाई । ऊ आफैँ निरास भएर पलायन भयो ।’ उसले भन्यो,–‘संस्थाको पैसा पनि खगेन्दर चाचाले खायो भनेका छन् उनले पेपरमा ।’ सबै पेपर हेर्न लागे ।                                                                   
‘देहातमा गणतन्त्र आएन । सबका सब परेसान थिए । राम्रा, सोझासाझा जनताहरू पलायन । नेताहरू अपराधमा । सबका सब निमक हराम’, भुम्री चाचाले भने, ‘बदमास लोग, देश कता लैजाने सब हात देहातको छ भन्थे । आफैँ जाकिए । बरु यिनले देहातको हात नै भाँचे ।’ उनी अगाडि भन्दै गए, ‘हो चाचा, देहातको हात भाँचेजस्तो भो । न यिनले गरिखाए न हामीलाई गरिखान दिए । सबका सब निमक हराम । देहातलाई यिनैले दिए परेसान ।’ कोही मुन्नीलाई चियाको पैसा तिर्न लागे । कोही रामनारायणको पान पसलमा खैनी, पान चबाउन गए । आजको बसाइमा देहातीले देहातका नेतालाई सुक्रिया अदा गर्न सकेनन् । किनभने देहात निकै परेसानमा छ ।

प्रतिक्रिया