शनिबार पढाउने आन्दोलन !

काठमाडौँ, १३ फागुन । शिक्षकहरूले शनिबार पनि देशभरका अधिकांश विद्यालयमा पढाइ सञ्चालन गरेका छन् । विगतमा भएका सम्झौता कार्यान्वयन गराउनका लागि नैतिक दबाब दिन भन्दै उनीहरूले आइतबार बन्द आह्वान गरी शनिबार विद्यार्थीलाई पढाएका हुन् ।
अधिकांश सरकारी विद्यालय खुला भए पनि निजी विद्यालयमा भने त्यसको प्रभाव परेको देखिएन । शनिबार सार्वजनिक बिदा भए पनि शिक्षकहरूले हाजिरसमेत गरेका छन् । दुई सय २० दिन विद्यालय सञ्चालन हुनुपर्ने व्यवस्था भएकाले शनिबार पढाएको समेत गणना गरिने उनीहरू बताउँछन् ।
शिक्षा मन्त्रालयका प्रवक्ता जनार्दन नेपाल भने शिक्षकहरूले शनिबार हाजिर गरेर पढाए पनि त्यसको अर्थ नभएको बताउँछन् । ‘शनिबार सार्वजनिक बिदा हो, हाजिर हुनुपर्छ भन्ने छैन,’ प्रवक्ता नेपालले भने, ‘कोर्स नसकिएकाले शनिबार पनि पढाउनुभएको होला ।’
नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका अध्यक्ष बाबुराम अधिकारीले दुई सय २० दिन विद्यालय खुल्नुपर्ने व्यवस्था भएकाले शनिबारको पनि गणना हुने दाबी गरे । अध्यक्ष अधिकारीले भने, ‘शनिबार हाजिर गरेका छौँ, आइतबार हाजिरीमा ‘आन्दोलनमा सहभागी’ भनेर लेख्छौँ ।’
उनले सरकारलाई नैतिक दबाब दिन र विद्यार्थीलाई राहतका लागि शनिबार पढाएको बताए । उनका अनुसार उपत्यकामा निजी विद्यालय कतै खुलेको कतै बन्द भए पनि बाहिर भने शतप्रतिशत खुलेको दाबी गरे ।
शिक्षा नियमावलीअनुसार विद्यालय बन्द गर्न सक्ने केही अवस्था तोकिएको छ । सार्वजनिक बिदाको दिन, दसैँमा घटस्थापनादेखि पूर्णिमासम्म बन्द गर्न सकिन्छ । त्यसबाहेक एक शैक्षिक सत्रमा व्यवस्थापन समितिले निर्णय गरे पाँच दिन विद्यालय बन्द गर्न सक्छ । यी बाहेकका दिनमा बन्द गरे प्रधानाध्यापकलाई विभागीय कारबाही गरिने नियमावलीमा उल्लेख छ ।
शिक्षकहरूले विद्यालय बन्द गर्दा नियमावलीअनुसार कारबाही गरेर देखाउन चेतावनी दिएका छन् । नेपाल शिक्षक सङ्घका अध्यक्ष मोहन ज्ञवालीले भने, ‘हामीसँग गरेका सम्झौता कार्यान्वयन गर्न नसक्ने सरकारसँग हामीलाई कारबाही गर्ने तागत छैन, छ भने गरोस् ।’ उनले आइतबार देशभरका विद्यालय बन्दको आयोजना गरेको जानकारी दिँदै बन्द सफल पारिछाड्ने दाबी गरे ।
जथाभावी विद्यालय बन्द गर्दा विभागीय कारबाही गर्न सक्ने व्यवस्था भए पनि सरकारले भने कारबाही गर्न सकेको छैन ।
सरकारले अस्थायीलाई स्थायी गर्ने, कर्मचारी दरबन्दी सिर्जना गर्नेलगायतका १४ बुँदे सम्झौता गरे पनि कार्यान्वयन नगरेको भन्दै नेपाल शिक्षक युनियन र शैक्षिक गणतान्त्रिक मञ्चआबद्ध शैक्षिक सङ्घसङ्गठन आन्दोलित छन् । आगामी चैतमा सञ्चालन हुने एसएलसी परीक्षामा शिक्षकहरूले सहयोग नगर्ने निर्णयसमेत गरिसकेका छन् ।

प्रतिक्रिया