माओवादीमा गुटको खेती

काठमाडौं, १३ फागुन । संविधानसभाको सबैभन्दा ठूलो पार्टी माओवादी आन्तरिक गुटबन्दीमा पनि सबैभन्दा अगाडि देखिएको छ । पार्टीको हाइकमान्ड कमजोर बन्दै जाँदा पछिल्ला दिनमा नेतापिच्छेका गुट जन्मिरहेका छन् ।

अध्यक्ष पुष्पकमल दाहाल तथा उपाध्यक्षद्वय मोहन वैद्य र डा. बाबुराम भट्टराईले नेतृत्व गर्ने तीनवटा गुट त चिनाइरहनु परेन । तर, उनीहरूमध्ये एकजनासित नजिक देखिने नेताले पनि भित्रभित्र आफ्नै गुट खडा गरेका छन् । फलस्वरुप माओवादीको १६ सदस्यीय स्थायी समितिभित्र नौजनाको आफ्नै गुट छ ।
पछिल्लो समयमा तेस्रा उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, स्थायी समिति सदस्य अमिक शेरचन, नेत्रविक्रम चन्द, वर्षमान पुन, टोपबहादुर रायमाझी र दीनानाथ शर्माले नयाँ गुट जन्माएका हुन् । यीमध्ये केही नेताले स्थायी समितिमा आफ्नो गुटको एक्लो प्रतिनिधित्व गर्छन् । स्रोतका अनुसार उनीहरू पोलिटब्युरो र केन्द्रीय समितिमा गुट विस्तार गर्न लागिपरेका छन् । एकताकेन्द्र मसाललाई माओवादीमा एकीकरण गरेपछि तेस्रो बरियताका उपाध्यक्ष बनेका श्रेष्ठ नयाँ गुटका नेतृत्वकर्तामध्ये सबैभन्दा बलिया  देखिन्छन् । एक माओवादी नेताका अनुसार उनीसित १६ केन्द्रीय सदस्य र नौ सभासद् छन् । स्थायी समितिमा गिरिराजमणि पोखरेलले उनलाई साथ दिइरहेका छन् ।

त्यस्तै, पोलिटब्युरो सदस्य विश्वभक्त दुलाल, निनु चापागाईं, केन्द्रीय सदस्यहरू प्रल्हाद बुढाथोकी, जीवन गौतम, अञ्जना विशङ्खे, प्रकाश पोखरेल, पेशल खतिवडालगायत पनि उपाध्यक्ष श्रेष्ठको गुटका मानिन्छन् । स्रोतका अनुसार एकताकेन्द्र मसालमा हुँदादेखि नै साथ दिँदै आएका स्थायी समिति सदस्य  पोखरेल केहीअघि उपाध्यक्ष श्रेष्ठसित रुष्ट बनेका थिए । त्यसबेला गुटका बहुमत सदस्यले पनि पोखरेललाई साथ दिएका थिए ।

तर, पछिल्लो एक महिनादेखि पुनः दुई नेताबीच सम्बन्ध सुमधुर बनेको छ । स्थायी समितिका अर्का सदस्य अमिक शेरचनको पनि छुट्टै गुट छ, माओवादीभित्र । केही
समय अध्यक्ष दाहाललाई साथ दिएका उनी पछिल्लो समय असन्तुष्ट बनेका छन् । पार्टी एकतादेखि नै आफूलाई कमजोर भूमिका र जिम्मेवारी दिइएको उनको गुनासो रहँदै आएको छ । पछिल्लो समय छुट्टै समूह बनाउन क्रियाशील शेरचनलाई स्थायी समिति सदस्य लीलामणि पोखरेलले पनि साथ दिएका छन् । स्रोतका अनुसार यो गुटमा पोलिटब्युरो सदस्यहरू स्वनाम साथी, विश्वनाथ साह, दिलबहादुर श्रेष्ठ र केन्द्रीय
सदस्यहरू घनश्याम शर्मा पौडेल, धर्मचन्द्र लावती, कमानसिंह लामालगायत छन् । एक साताअघि मात्रै यो समूहको गोप्य बैठक ललितपुरस्थित शेरचननिवासमा बसेको थियो । बैठकले आफ्नो गुट अभ्यासलाई सक्रियतापूर्वक अघि बढाउने निर्णय गरेको स्रोतले जनाएको छ । उपाध्यक्ष वैद्य खेमाका कट्टर समर्थक मानिने स्थायी समिति सदस्य नेत्रविक्रम चन्दले पनि भित्र– भित्रै आफ्नै गुट निर्माण गरिसकेका छन् । उनलाई
महासचिव रामबहादुर थापाको समेत साथ रहेको स्रोतहरूको दाबी छ । अध्यक्ष दाहालको कार्यशैलीमा सुधार नआए ‘पार्टी विभाजन गरेरै भए पनि क्रान्तिको रक्षा गर्नुपर्ने’ यस समूहको एजेन्डा छ । चन्दको गुटमा पोलिटब्युरो सदस्यहरू हितमान
शाक्य, कुलप्रसाद केसी, खड्गबहादुर विश्वकर्मा, केन्द्रीय सदस्यहरू अनिल शर्मा विरही, सन्तोष बुढामगर, पूर्ण घर्ती, सूर्यप्रकाश सुवेदी, जयपुरी घर्तीलगायत रहेको स्रोतले जनाएको छ । पार्टीभित्र बहसमा आउने ठूला मुद्दामा उपाध्यक्ष वैद्यलाई पूर्णरूपमा साथ दिँदै आए पनि यो समूह आफैँमा बलियो हुँदै गएको एक माओवादी नेताले बताए । उपाध्यक्ष वैद्यलाई चन्दले सघाएझँ पार्टी अध्यक्ष दाहालको ‘दाहिने हात’का रूपमा चिनिने स्थायी समिति सदस्य तथा अर्थमन्त्री वर्षमान पुन पनि आफ्नै गुट बनाउन सक्रिय हुन थालेका छन् । पछिल्लो समय उनी दाहालबाट टाढा हुँदै गएको
स्रोतहरूको दाबी छ । यद्यपि, पार्टी बैठकमा उनले अध्यक्ष दाहालकै लाइनको वकालत गर्ने गरेका छन् । स्रोतका अनुसार पोलिटब्युरो सदस्यहरू चन्द्रप्रकाश खनाल, हेमन्तप्रकाश ओली पुनको गुटमा छन् । यो समूहमा केन्द्रीय सदस्यहरू कालीबहादुर
खाम, ओनसरी घर्ती, दीपेन्द्र पुन, गणेशमान पुन, कमला रोकालगायत रहेको एक नेताले बताए । पार्टी उपाध्यक्ष तथा प्रधानमन्त्री भट्टराईका विश्वासपात्र मानिने स्थानीय विकासमन्त्री तथा माओवादी स्थायी समिति सदस्य टोपबहादुर रायमाझी पनि पछिल्लो समय छुट्टै गुट निर्माणमा लागेका छन् । प्रधानमन्त्री भट्टराईसित टाढिँदै गएका
उनी खस,क्षेत्रीको आन्दोलनलाई साथ दिने निष्कर्षमा पुगेको स्रोतको दाबी छ ।
पुनले अध्यक्ष दाहाललाई र चन्दले उपाध्यक्ष वैद्यलाई सघाएझँ रायमाझी पनि पार्टीभित्रका ठूला मुद्दामा प्रधानमन्त्री भट्टराईलाई साथ दिन्छन् । तर, आफ्नो गुटलाई भित्रभित्रै बलियो पार्न पनि खोज्दै छन् । उनलाई पोलिटब्युरो सदस्यहरू भीमप्रसाद गौतम, नवराज सुवेदी, लीलाबहादुर थापालगायतले साथ दिइरहेका छन् ।

त्यस्तै, केन्द्रीय सदस्यहरू भक्ति पाण्डे, डोरप्रसाद उपाध्याय, केशव नेपाललगायतलाई आफ्नो गुटमा सहभागी गराउन रायमाझी लागिपरेको स्रोतको दाबी छ । माओवादीभित्र गुट परिवर्तन गर्न ‘माहिर’ मानिने स्थायी समिति सदस्य तथा शिक्षामन्त्री दीनानाथ शर्मा पनि अहिले आफ्नै गुट निर्माणमा सक्रिय छन् । राष्ट्रिय जनमोर्चाबाट माओवादी प्रवेश गरेका पोलिटब्युरो सदस्य डिलाराम आचार्य र गिरिधारीलाल न्यौपानेले उनलाई साथ दिएको स्रोतको दाबी छ । पार्टीका बैठकमा भने शर्माले अध्यक्ष
दाहालका लाइनका वकालत गर्न गरके छन । शमार्ल आफ्नो समूहमा सातजना केन्द्रीय सदस्यलाई समेत ल्याइसकेको स्रोतले जनायो । माओवादी पोलिटब्युरो सदस्य स्वनाम साथीले पार्टीभित्र फरक–फरक गुट हुनु सामान्य भइसकेको बताए । ‘पार्टीमा तीनवटा औपचारिक विचार समूह छँदै छन्, त्यसबाहेक समूह बन्ने भत्किने क्रम चलिरहेको छ । अघोषित रूपमा ती सबै गुट नै हुन्,’ उनले सौर्यसँग भने । फरक–फरक ठाउँबाट माओवादीमा आएका नेताहरूले छुट्टाछुट्टै समूह बनाएर छलफल गर्नु वा अगाडि बढ्नु सामान्य भएको उनको भनाइ छ । ‘यस्ता चिज एकैपटक परिवर्तन हुँदैनन्, समय लाग्छ,’ उनले भने ।

प्रतिक्रिया