तीन दल बैठकमा लिङ्ग परिवर्तनका कुरा

‘ब्याङ्कक पढ्न गएका सन्तोष पन्तका छोरा त छोरी बनेर फर्के रे !’ एमाले पोलिटब्युरो सदस्य सुरेन्द्र पाण्डेले तीन दलको बैठकमा तात्तातो खबर ल्याए । एकाएक सबै नेताका कान ठाडा भए ।
माघको तेस्रो साता बसेको तीन दलको बैठकमै यो प्रसङ्ग उठेको थियो, जतिबेला पन्तका छोरा प्रतीकले लिङ्ग परिवर्तन गरेको खबर सञ्चारमाध्यममा आएको थिएन । नयाँ संविधानका विषयमा उत्पन्न विवाद समाधान गर्न गठित उपसमितिको बैठक सिंहदरबारमा भर्खर सुरु भएको थियो । नयाँ संविधानको शासकीय स्वरूपका विषयमा केन्द्रीय राजनीतिक वृत्तमा विवाद चर्केका बेला राजनीतिक कुराकानीमै व्यस्त हुन्थे नेताहरू । तर, आक्कलझुक्कल अनौपचारिक गफले पनि प्रवेश पाउँथे ।
छोराबाट  छोरी बनेको खबर सुनेर जिब्रो टोक्दै एक नेताले भने, ‘त्यस्तो पनि हुँदो रहेछ है !’
‘कहाँ को !’ पाण्डेले कुरा सुनाए, ‘मैले सुनेको, उता (थाइल्यान्ड) बाट फर्केपछि केटो त साडी लगाएर पो बस्छ रे !’ । कांग्रेस उपसभापति रामचन्द्र पौडेलले आशङ्का व्यक्त गरे, ‘केटा मान्छे  दुरुस्त केटी त कसरी हुन सक्ला र ?’
नेताहरू कोही मुसुमुसु त कोही गलल्ल हाँस्न थाले । त्यत्तिकैमा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले जिज्ञासा राखे, ‘अनि त्यसरी सबै काम गर्न मिल्छ त ?’ बैठक फेरि हाँसोले गुन्जियो । हाँसोकै बीचमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले भने, ‘यस्तो कुरा नहेरी कसरी पत्याउनु ?’
राजनीतिक विवादको चापमा बस्ने यस्ता दलीय र अन्तरदलीय बैठकमा वातावरण सहज बनाउन पनि हल्काफुल्का गैरराजनीतिक प्रसङ्गहरू उठ्ने गरेको नेताहरू बताउँछन् । ‘वरपरका घटनाले जसलाई पनि प्रभावित पारेको हुन्छ र त्यस्ता कुरा बैठकमा पनि प्रसङ्गवश आउँछन्,’ एमाले नेता घनश्याम भुसालले भने । भुसाल यसअघि झलनाथ खनाल नेतृत्वको सरकार रहँदासम्म दलीय वार्तामा धेरै सहभागी भएका नेता हुन् ।
सधैँभरी शान्ति र संविधानको मुद्दामा खिचलो गरिरहने नेताहरू बैठकमा पनि रातो मुख लगाएर झगडा मात्रै पो गर्छन् कि भन्ने अनुमान बाहिर गरिन्छ । तर, त्यस्तो होइन । बलिउड अभिनेत्री ऐश्वर्या रायले छोरी जन्माएदेखि बैठककक्षका सोफाका विषयसम्म बैठकमा उठ्छन् ।
प्रधानमन्त्रीनिवास बालुवाटारको बैठककक्षमा राखिएका सोफासेट नेताहरूबीच हाँसो, ठट्टा र घोचपेचको विषय बनेको थियो । दिउँसो दलका नेताहरू क्रमशः बालुवाटारको बैठककक्षमा प्रवेश गरेर बसिरहेका थिए । पछि पुगेका एमाओवादीका एकजना नेतालाई बस्ने ठाउँ पुगेन । एमाले नेता भीम रावल, कांग्रेस महामन्त्री कृष्ण सिटौला र केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजाल आफू बसेको ठाउँबाट अलि पर सरेर ठाउँ खाली बनाए । एक नेताले सोफाका विषयमा अनौपचारिक कुरा झिकिहाले, ‘बजारमा सजिलो सोफा आएको छ रे नि अचेल ! बस्नु पर्दा हावा भरेर बस्ने, काम सकिएपछि हावा खुस्काएर थन्क्याउन पनि मिल्ने ।’
कांग्रेस नेता रिजालले पनि सोफाका विषयमा आफ्ना ‘आइक्यू’ देखाउन चुकेनन् । उनले भने, ‘जापानमा यस्तो सोफा धेरै अघिदेखि प्रयोगमा आएको थियो । धेरै सजिलो हुनेरहेछ । सफा गर्न पनि सजिलो, ठाउँ पनि फराकिलो हुने, बस्न पनि नरम खालको । धेरै मज्जा ।’
रिजालको कुरा सुनेपछि माओवादी नेता तथा अर्थमन्त्री वर्षमान पुनले मुख खोले, ‘कम्युनिस्टहरूले यस्ता कुरा ढिलो थाहा पाउँछन् नि मीनेन्द्रजी ! कम्युनिस्टको त एकदम सादा जीवन हुन्छ, यस्ता सामग्रीप्रति चासो नै हुँदैन ।’ पुनको भनाइपछि कांग्रेस नेता डा. रामशरण महतको पालो आयो कम्युनिस्टहरूलाई व्यङ्ग्य गर्ने । ‘तपाईंहरूको जीवनशैली देखेपछि मलाई पनि त्यस्तै लाग्यो, क्या सादा छ तपाईंहरूको जीवनशैली !’ महतको टिप्पणीपछि बैठकमा हाँसो गुन्जियो । माओवादी अध्यक्ष दाहाल र एमाले अध्यक्ष झलनाथ खनाल मुसुमुसु हाँस्दै थिए ।

प्रतिक्रिया