अग्नी, सूर्य र बालकृष्णलाई कारवाहीको माग

काठमाडौ, १२ फागुन । न्यायका लागि द्धन्द्ध पीडित समाज नेपालले हत्याको आरोपमा सर्वस्व सहित जन्मकैदको सजाय पाएका एकीकृत माओवादीका सभासद बालकृष्ण ढुङगेल सहित हत्याका आरोपी अग्नी सापकोटा र उर्जा राज्यमन्त्री सूर्यमान दोङलाई कारवाही गर्न माग गरेको छ ।
राजधानीमा आज पत्रकार सम्मेलन गरेर समाजले जेपी गुप्ताले भ्रष्टाचार गरेको ठहर गर्ने सर्वोच्च अदालतको फैसलाको स्वागत गर्दै जेल गएको प्रसंग उल्लेख गर्दै माओवादीका सभासदहरुलाई पनि पक्राउ गरेर कारबाही गर्न माग गरेको हो । सभासद र मन्त्री रहेका गुप्ताले अदालतको फैसला स्वीकार गरेको भन्दै उसले हत्यामा सजाय पाएका सभासद ढुङगेल तत्काल पक्राउ गरेर जेल पठाउन माग गरेको छ । ढुङगेललाई जेल नपठाएर सरकारले दण्डहिनता बढाएको आरोप लगाएको छ ।
प्रा. डा. सुरेन्द्र केसीले हत्यामा सजाय पाएका माओवादी सभासद ढुङगेललाई सरकारले संरक्षण गरेर दण्डहिनता निम्ताएको आरोप लगाए ।
अधिकारकर्मी चरण प्रसाईले माओवादी नेता अग्नी सापकोटा, सूर्यमान दोङ र बालकृष्ण ढुङगेललाई तत्काल पक्राउ गरी कारवाही गर्नु पर्ने उल्लेख गरे । उनले पीडितलाई न्याय दिएर कानूनी राज्यको स्थापना गराउन सरकारलाई सुझाव दिएका छन् ।

प्रतिक्रिया