बीरगञ्ज कारागारमा प्रदर्शन

बीरगन्ज, १२ फागुन ।     कारागार प्रशासनले विभेद गरेको भन्दै बीरगन्ज कारागारका कैदी बन्दीहरु शुक्रवारदेखि आन्दोलनमा उत्रिएका छन । डेनी लामाको नेतृत्वमा रहेका करिब १५ जना कैदी बन्दीहरु आन्दोलनमा उत्रिएका हुन । उनीहरुले कारागार आन्तरिक प्रशासन विरुद्ध नारावाजी गर्दै विरोध प्रदर्शन गरेका छन् ।
प्रदर्शनका कारण स्थिति तनावपूर्ण बनेपछि कारागारमा थप सुरक्षकर्मी परिचालन गरिएको छ । आन्दोलनरत कैदीहरुको समूहले आन्तरिक प्रशासन र नाइके विरुद्ध ६ बुँदे माग राख्दै आन्दोलनमा उत्रिएको जनाएका छन् ।
कारागार आन्तरिक प्रशासन र नाइकले महङगो मूल्यमा सामान बिक्री गरेको, कैदीका लागि आउने औषधी बजारमा बिक्री गर्ने गरेको, उपचारमा वास्ता नगरेको, कैदीलाई अन्य कारागारमा चलान गर्नका लागि २० हजार देखि ५० हजार रुपिया सम्म घुस माग्ने गरेको उनीहरुको आरोप छ ।
आन्दोलनरत कैदीहरुले नाईके अषेश्वर पटेल र शेष फिरोज खाँलाई अन्यत्रै सरुवा गर्नु पर्ने माग समेत राखेका छन् । नेपाल तरुण दल चितवनका अध्यक्ष शिव पौडेलको हत्याका अभियुक्त मध्येका ६ जना कैदीले आफनो प्रभूत्व जमाउनका लागि विवाद खडा गरेको बीरगन्ज कारागारका जेलर रुप नारायण चौरसियाको दाबी छ । बीरगन्ज कारागारमा ११ सय बढी कैदी बन्दीहरु रहेका छन् ।
समाचार संकलनका लागि पुगेका सन्चारकर्मीहरुलाई कारागार प्रशासनले केहि समय मूल गेटमै रोकेको थियो ।

प्रतिक्रिया