काठमाडौं, २२ चैत । एमालेले पोलिटब्युरो सदस्य एवं लुम्बिनी अञ्चल इन्चार्ज रामनाथ ढकालको निधनबाट सिङ्गो पार्टी स्तव्ध भएको जनाएको छ ।
एमालेले आज विज्ञप्ति जारी गरेर ढकालको निधनबाट पार्टी मर्माहत र शोकविह्वल भएको जनाएको हो । ‘दुःखको यस घडीमा एमाले केन्द्रीय कार्यालय रामनाथ ढकालप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।
ढकालको आज दिउँसो १ बजेर ४० मिनटमा काठमाडौंस्थित ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।
ढकालको नधिनलाई एमालेले ‘पार्टीका होनाहार र जुझारु नेता गुमाए’को जनाएको छ ।
२०१९ पुस ५ गते गुल्मी जिल्लाको खड्गकोट गाविस वार्ड नं ३, उपल्लो कोरेङमा बुबा दीनानाथ शर्मा ढकाल र आमा देवकला शर्मा ढकालका जेष्ठ सुपुत्रका रूपमा जन्मेका ढकाल २०४० सालमा मालेको पार्टी सदस्यका रूपमा कम्युनिष्ट आन्दोलनमा सङ्लग्न भएका थिए ।
पार्टीले उनको पार्थिव शरीरलाई सोमबार बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय, मदननगर, बल्खुमा अन्तिम श्रद्धाञ्जलिका निम्ति राखिने जनाएको छ ।
उनको सोमबार नै ११ बजे पशुपति आर्यघाटमा हिन्दू संस्कारअनुसार दाहसंस्कार गरिने छ ।
सातौं महाधिवेशनमा केन्द्रीय सदस्य रहेका ढकाल नवौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटीमा पुनः निर्वाचित हुँदै पोलिटब्युरो सदस्य र लुम्बिनी अञ्चल इन्चार्जको जिम्मेवारी पाएका थिए ।
प्रतिक्रिया