काठमाडौ, ३ बैशाख । जनयुद्धकाली घटना ब्युताएर आफ्ना कार्यकर्ता पक्राउको विरोधमा दुवै माओवादीले कडा चेतावनी दिएका छन् । उनीहरुले पक्राउ परेका कार्यकर्तालाई रिहा गरी मुद्दा फिर्ता लिन माग गर्दै आन्दोलनको घोषणासमेत गरेका छन् ।
एमाओवादी अध्यक्ष तथा संसदीय दलका नेता पुष्पकमल दाहालले जनयुद्धकालीन मुद्दा ब्युताएर शान्ति प्रक्रियाको भावनामाथि हमला गर्ने कार्य नरोकेसम्म सदन र सडकमा समेत संघर्ष अघि बढाउने चेतावनी दिएका छन् ।
‘नेपालको अन्तरिम संविधान २०६३, शान्ति सम्झौता, पटक–पटक भएका सहमति र समझदारीलाई लत्याएर सरकारले जनयुद्धकालीन मुद्दाहरुलाई ब्युताउने, धरपकड गर्ने, गोरखा फुजेल घटनाका निहुँमा थुनामा राख्नेलगायत हर्कतद्वारा संविधान निर्माणमा अवरोध पुर्याउने, शान्ति प्रक्रियाको भावनामाथि हमलो गर्ने काम भएको छ,’ अध्यक्ष दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘समग्र परिवर्तनको प्रक्रियालाई रोक्ने प्रकारका व्यवहार गरेकाले यस्ता व्यवहार नसच्याएसम्म सदनमा र सडकमा समेत संघर्ष अघि बढाइने छ ।’
यता, नेकपा माओवादीले भने जनयुद्धकालीन घटना ब्युँताएको भन्दै बिहीबार राजधानीमा विरोध प्रदर्शनसमेत गर्ने भएको छ । युद्धका क्रममा घटेका घटनालाई सरकारले एकतर्फी ढंगले ‘अपराधिक क्रियाकलाप’ भन्दै मुद्दा दायर गर्ने निहुँमा सर्वसाधारण एवं नेकपा–माओवादीका कार्यकर्ता समेतलाई दु:ख दिई आतंक फैलाउने काम गरेको भन्दै माओवादीले कडा आपत्तिसमेत जनाएको छ ।
‘एकातिर सरकारले सत्य निरुपण तथा वेपत्ता नागरिकसम्बन्धी कानुनको हवाला दिइरहेको र अर्काेतिर देशव्यापीरुपमा जनयुद्धका मुद्दाहरु लगाउँदै जनतालाई आतङ्कित पारिरहेको कार्यले शान्तिप्रक्रिया बिथोलिएको छ’ माओवादी प्रवक्ता पम्फा भुसालले भनिन्, ‘फुजेल प्रकरणलगायत यसप्रकारका सम्पूर्ण मुद्दाहरु सरकारले फिर्ता लिई राजनीतिक सहमति कायम गर्दै कानुन निर्माण एवं आयोग बनाई यसप्रकारका घटनाहरुको छानविन प्रक्रिया अगाडि बढाउन हामी माग गर्दछौं, त्यसो नहुने हो भने हामी जस्तोसुकै आन्दोलन गर्न पनि बाध्य हुनेछौं ।’
प्रतिक्रिया