गंगालालमा मुटुको भल्भ फेर्नेको लर्को

काठमाडौं, २८ चैत । सामान्यतः अस्पतालले कति दिनमा शल्यक्रिया गर्ला ? एक साता वा बढीमा एक महिना । अझ जटिल रोगकै हो भने त चाँडै शल्यक्रिया होला तर सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा मुटुको भल्भ फेर्न १० महिना कुर्नुपर्ने भएको छ ।
अन्य रोगको तुलनामा मुटुसम्बन्धी रोगलाई जटिल मानिन्छ तर मुटुकै भल्भ फेर्न आज केन्द्र जानुभयो भने तपाईंको पालो २०६९ सालको माघतिर मात्र आउँछ । अस्पतालका अनुसार बिरामीले मुटुको भल्भ फेर्नका लागि अहिले नै आगामी पुससम्मको ‘डेट’ लिइसकेका छन् ।
‘नयाँ बिरामीको मुटुको भल्भ फेर्ने पालो झन्डै १० महिनापछि मात्र आउनेछ,’ कार्डियाक सर्जरी विभागका प्रमुख डा. ज्योतीन्द्र शर्माले भने, ‘अहिले पनि हामीले गत साउन/भदौमा डेट लिएकाहरूको शल्यक्रिया गरिरहेका छौँ ।’ उनका अनुसार बिरामीको चाप बढी र जनशक्ति तथा शल्यकक्षको अभावमा मुटुको भल्भ फेर्न लामो समय कुनुपर्ने अवस्था आएको हो ।
अस्पतालले बिरामीको अवस्थाका आधारमा कुराउने गरेको छ । बिरामीको अवस्थालाई अस्पतालले तीन तहमा वर्गीकरण गरेर उपचार गरिरहेको छ । डा. शर्माले बिरामीको चाप बढी भएकाले रोगको गम्भीरताका आधारमा तत्काल -अर्जेन्ट), मध्यम -सेमिअर्जेन्ट) र पछि गर्ने गरी -इलेक्टिभ) गरी तीन तहमा बिरामीको अवस्थाको वर्गीकरण गरिएको बताए । ‘बिरामीको अवस्था गम्भीर छ भने हामीले उसको मुटुको भल्भ तत्काल फेरिदिन्छौँ,’ उनले भने, ‘बिरामीलाई औषधि खुवाएर पछि शल्यक्रिया गरे पनि हुने रहेछ भने उनीहरूलाई भने कुराउँछौँ ।’ उनका अनुसार इलेक्टिभ समूहका बिरामीले १० महिनासम्म शल्यक्रियाका लागि कुर्नुपर्छ । पालो पर्खाएका बिरामीलाई अस्पतालले औषधिको व्यवस्था गरेको छ ।
अस्पतालमा तीन कार्डियाक शल्यक्रिया युनिट छन् । युनिट ‘ए’ मा डा. भगवान कोइरालाले शल्यक्रिया गर्छन् । शल्यक्रियाका लागि बढी चाप उनकै युनिटमा छ । युनिट ‘बी’ र ‘सी’ मा शल्यक्रिया गर्ने हो भने बिरामीले बढीमा ६/७ महिनामात्र कुर्नुपर्छ तर बिरामी युनिट ‘ए’ मै शल्यक्रिया गराउन चाहने भएकाले पालो कुराइ १० महिनासम्म पुगेको एक चिकित्सकले बताए । युनिट ‘ए’ मा बालबालिकाको मुटुको शल्यक्रिया हुने भएकाले पनि चाप बढी हुने गर्छ ।
अस्पतालका निर्देशक डा. मनबहादुर केसीका अनुसार अस्पतालमा शल्यक्रियाका लागि सरकारले १५ वर्षमुनिका र ७५ वर्षमाथिका बिरामीका लागि छुट्याएको कोटाका कारण पनि शल्यक्रिया गर्न लामो समय कुर्नुपरेको हो । १५ वर्षमुनिका र ७५ वर्षमाथिका गरी वाषिर्क दुई सयजनालाई निःशुल्क भल्भ तथा शल्यक्रिया सेवा दिने सरकारी घोषणापछि देशभरबाट उपचारका लागि आउने बिरामीको संख्या बढेको निर्देशक शर्माले जानकारी दिए । अस्पतालले विभिन्न भागमा क्याम्प सञ्चालन गरी मुटुरोग र उपचारबारे चेतनामूलक कार्यक्रम गरेकाले पनि बिरामी उपचार गर्न आउने क्रम बढेको उनी बताउँछन् । ‘जनशक्ति, उपकरण तथा अन्य पूर्वाधार अभावका कारण बिरामीले शल्यक्रियाका लागि लामो समय कुर्नुपर्ने अवस्था छ,’ निर्देशक डा. केसीले भने ‘हामीले त्यसलाई कम गर्न जनशक्ति थप्ने तथा अन्य पूर्वाधार विकासको तयारी गरिरहेका छौँ ।’
उनका अनुसार अस्पतालले मुटुको भल्भ फेर्नका लागि ५५ हजार रुपियाँ लिने गरेको छ । निजी अस्पतालले डेढदेखि तीन लाखसम्म लिन्छन् ।
चिकित्सकका अनुसार मुटुमा चार भल्भ हुन्छन् । ती भल्भले रगतको प्रवाहलाई नियन्त्रणमा लिई सही दिशातर्फ आउजाउ गर्न सहयोग गर्छ । कुनै एक भल्भले राम्रोसँग काम गर्न नसक्दा श्वासप्रश्वासमा असर गर्ने, थकाइ बढी लाग्ने, छाती दुख्नेजस्ता लक्षण देखापर्ने चिकित्सकको भनाइ छ ।

प्रतिक्रिया