चलचित्र पत्रकार संघमा पुन: शान्तिप्रिय

काठमाडौं, ६ चैत । चलचित्र पत्रकार संघको छैटौ अधिवेशनले शान्तिप्रियको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । चुनावी प्रक्रियाद्वारा गरिएको कार्यसमितिमा शान्तिप्रियले आफ्ना प्रत्यासी डब्बु क्षेत्रीलाई उछिन्दै विजयी भएका हुन् । शान्तिपियको यो दोस्रो कार्यकाल हुनेछ । उनी अघिल्लो एक कार्यकाल अध्यक्ष रहिसकेका छन् । विहिबार राजधानीमा आयोजित संघको अधिवेशनले शान्तिप्रियको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।
त्यस्तै संघको उपाध्यक्षमा लक्ष्मण सुवेदी निविर्रोध बिजयी भए भने र विष्ण्ुाप्रसाद सुवेदी निर्वाचित भएका हुन् । त्यस्तै सन्दिप सापकोटा महासचिव, दिनेश सिटौला सचिव, कुवेर डंगोल कोषाध्यक्ष र सदस्यहरुमा विजय आवाज, सुमन गैरे, निमेष गौतम, किरण खनाल र गीता अधिकारी निर्वाचित भएका छन् । त्यस्तै संघको पार्षद (सभासद)हरुमा निवर्तमान अध्यक्ष विदुर गिरी, कृष्ण भट्टराई, दयाराम पान्डे, नवराज लम्साल, ध्रुव लम्साल, सन्तोष रिमाल, नरेश भट्टराई, ऋषिराम कट्टेल र अनन्त वाग्ले निर्वाचित भएका छन् । १३ सदस्यीय कार्यसमितिमध्ये ११ चुनावी प्रक्रियाद्वारा चयन भएका छन् भने २ जनालाई संघले मनोनीत गर्ने छ ।
त्यस्तै कार्यक्रममै चलचित्र पत्रकार संघले यहि क्षेत्रमा योगदान पुर्‍याएर आइरहेका ३ जनालाई सम्मानपनि गरेको छ । अनन्त वाग्लेलाई ‘चलचित्र पत्रकारिता सम्मान–२०७०’द्वारा प्रदान गरेको छ । संघले आफ्नो छैटौ अधिवेशनको अवसरमा वाग्लेलाई सम्मान गरेको हो । दुई दशकयता चलचित्र पत्रकारिता क्षेत्रमा रहेर चलचित्र तथा कला क्षेत्रमा योगदान पुर्‍याएको भन्दै वाग्लेलाई सम्मान गरिएको संघले जनाएको छ । त्यस्तै पत्रकार अशोक प्यासी राई र जयन सुब्बा मानन्धरलाई ‘चलचित्र पत्रकारिता पुरस्कार–२०७०’ प्रदान गरिएको छ । पुरस्कार राशी १५ हजार ५ सय ५५ रहेको छ । सम्मानित तथा पुरस्कृत हुनेलाई कार्यक्रमका प्रमुख अतथि बरिष्ठ चलचित्रकर्मी यादव खरेल सम्मान तथा पुरस्कार प्रदान गरेका थिए ।

प्रतिक्रिया