काठमाडौं, ४ फागुन । ट्याक्सी व्यावसायीहरूले लामो समयदेखि सरकार ट्याक्सी व्यावसायीबीच देखिएको समस्या समाधान गर्न सरकारलाई १५ दिने अल्टिमेटम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई ज्ञापनपत्र बुझाएका छन् । फागुन ४ गते श्री स्वास्तिक स्वरोजगार ऋणी ट्याक्सी व्यावसायी संघको नेतृत्वमा ट्याक्सी व्यावसायीले ज्ञापनपत्र बुझाएका हुन् ।
ज्ञापनपत्र बुझाएपछि आयोजित पत्रकार सम्मेलनमा श्री स्वस्तिक स्वरोजगार ऋणी ट्याक्सी व्यावसायी संघका केन्द्रीय अध्यक्ष प्रकाश बस्नेतले ट्याक्सी व्यावसायीको समस्या पटक–पटक राख्दा पनि सरकार गैरजिम्मेवार भएको बताउँदै अब आफूहरू चुप लागेर नबस्ने बताए । बस्नेतले भने, ‘हाम्रो अल्टिमेटम १९ गते सकिँदैछ छ, त्यतिबेलासम्म ट्याक्सी व्यावसायीमाथि सरकारी दमन, धरपकड, गिरफ्तारी, भाडा समायोजन नगरे काठमाडौं ठप्प पर्ने छौं ।’
केही ट्याक्सी चालकहरूले मिटर बढाउने र छुस हान्ने गरेपनि आफ्नो संघमा आवद्ध ट्याक्सी चालकहरूले मिटर वढाउने वा छुस हान्ने नगरेको बस्नेतले दाबी गरे । ‘त्यस्ता चालक र सिकाउने दुवैलाई कार्वाही गर्नुपर्छ’ अध्यक्ष बस्नेतले भने ।
कार्यक्रममा नेपाल राष्ट्रिय यातायात व्यावसायी सर्वोच्च महासंघका अध्यक्ष विष्णु सिवाकोटीले सरकारकै गैरजिम्मेवारीले गर्दा ट्याक्सी व्यावसायी र सरकारबीच लामो समयदेखि समस्या रहेको बताए । सिवाकोटीले यातायातका अन्य साधनमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै भाडा समायोजन हुने तर ट्याक्सीको भाडामा नहुने भन्दै सरकारले ट्याक्सी व्यावसायीलाई सौतेनी व्यवहार गरेकाले आरोप लगाए । त्यस्तै कार्यक्रममा बोडिङ स्कूल भाडा व्यावसायी संघका अध्यक्ष भगवान शाहीले सरकारले पूराना गाडी हटाउने तयारी गरेर हजारौं मजदूरको रोजीरोटीमा लात हानेको लागेको बताए । उनले यातायात क्षेत्रमा सरकार जिम्मेवार बने समस्या समाधान हुने बताए ।
काठमाडौं उपत्याकामा ८ हजार ५ सय ट्याक्सी सञ्चालन भएकामध्ये ५ हजार ट्याक्सी श्री स्वस्तिक स्वारोजगार ऋणी ट्याक्सी व्यावसायी संघमा आवद्ध छन् । पत्रकार सम्मेलनमा बताइएअनुसार राम थापाको संयोजकत्वमा संघर्ष समिति बनाएको पनि जनाइएको थियो ।
प्रतिक्रिया