कांग्रेसले सरकार गठनका लागि दलहरूसँग वार्ता गर्ने

sushil copyकाठमाडौं, २१ माघ । नेपाली कांग्रेस केन्द्रीय समितिको मंगलबार बसेको बैठकले सभापति तथा संसदीय दलका नेता सुशील कोइरालालाई प्रधानमन्त्री पदका लागि उम्मेदवार प्रस्ताव गरेको छ ।
साथै, सरकार गठनका लागि सबै दलसँग वार्ता गर्न सभापति कोइरालाले वार्ता टोली बनाउने निर्णयसमेत बैठकले गरेको छ ।
कांग्रेस पार्टी कार्यालयद्वारा जारी विज्ञप्तिमा एक वर्षभित्रै संविधानसभाबाट संविधान निर्माण, ६ महिनाभित्र स्थानीय निकायको निर्वाचन, आर्थिक सम्वृद्धि र सामाजिक न्यायका पक्षमा साझा सहमतिको निर्माणलगायत विषयमा दलहरूसँग सहमति जुटाउनका लागि पनि वार्ता टोलीले भूमिका खेल्ने बताइएको छ । वार्ता टोलीको संयोजकमा वरिष्ठ नेता शेरबहादुर देउवाको नाम प्रस्ताव गरिए पनि उनले बस्न अीस्वकार गरेपछि टोली बनाउने जिम्मा बैठकले सभापति कोइरालालाई नै दिएको थियो ।
नयाँ अनुहारलाई मन्त्री बनाउन माग
नयाँ सरकार गठन हुँदा नेपाली कांग्रेसमा नयाँ अनुहारलाई प्राथमिकता दिन केन्द्रीय सदस्यहरूले दबाब दिएका छन् । उनीहरूले सरकार सानो आकारको बनाउन पनि नेतृत्वलाई सुझाव दिएका छन् ।
केन्द्रीय समितिको बैठकमा बोल्ने सदस्यहरूले कांग्रेस नेतृत्वमा बन्ने सरकार उदाहरणीय हुनुपर्ने पनि बताए । अधिकांश सदस्यले मन्त्रिमण्डल गठन हुँदा नयाँ अनुहारलाई अवसर दिनुपर्ने बताउँदै संविधान निर्माणमा भूमिका खेल्नेहरूलाई सरकारमा पठाउन नहुने पनि जीकिर गरे । मंगलबारको बैठकमा नेकपा एमालेसँग नै मिलेर सरकार बनाउदा सहज हुने धारणासमेत केन्द्रीय सदस्यहरूले राखे ।

प्रतिक्रिया