नेपाली राजनीतिमा अनौठो व्यक्ति जन्मिने र हराउने गरेका छन् । पहिलो संविधानसभाको निर्वाचनपछि संविधानसभा हलमा विभिन्न प्रकारको झाँकी देख्न पाइयो । बढी खरानी घस्ने जोगी बनेर देखा परेको माओवादी, मधेसी दललगायत सभासद््हरूले विभिन्न कालखण्डमा विभिन्न प्रकारका असामाजिक झाँकी प्रदर्शन गरे । अहिले पनि सम्झन सकिने दु:खद घटना थियो, तत्कालिन अर्थमन्त्री सुरेन्द्र पाण्डेलाई बजेट प्रस्तुत गर्न रोस्टमतर्फ जाँँदै गर्दा माओवादी सभासद््ले भकुरेको घटना साँच्चै निन्दनीय थियो । गरिमामय पदमा आसिन सभासद्ले मन्त्रीलाई नै हलमा भकुरेको नेपालको इतिहासमा त्यो पहिलो घटना थियो । त्यो घटनाको बदला नेपाली जनताले दोस्रो संविधानसभाको निर्वाचनमा लिए । अर्को निन्दनीय कार्य नेकपा मालेद्वारा समानुपातिक सभासद् बनेकी एक महिलाले नेपालगन्जमा प्रदर्शन गरिन् । निजले बिहानै मादक पदार्थ सेवन गरेर जात्रा देखाइन् । सडकका बालबालिका मनोरञ्जनका लागि उनको पछि–पछि दौडिएको दृष्य र उनी अपशब्द बोल्दै हिँडेको दृश्य विभिन्न टेलिभिजन च्यानलले देखाए । अरु त अरु आफूलाई सबैभन्दा ठूलो नेता भन्ने र तत्कालिन अवस्थामा गृहमन्त्री समेत रहेका विजय गच्छेदारले पनि एक खालको चर्तिकला प्रदर्शन गरे । उनले भारतीय नागरिकलाई नेपाली नागरिकता दिन परिपत्र गरे । यो गम्भीर विषयमा झापा जिल्लाका तत्कालिन प्रमुख जिल्ला अधिकारी गेहनाथ भण्डारीले ‘जससुकैले जस्तो सुकै आदेश दिए पनि आफूले राष्ट्रघाती काम नगर्ने’ भन्दै गृहमन्त्रीको आदेश ठाडै इन्कार गरिदिए । पछि अन्य जिल्लाका सिडिओले गेहनाथको अनुसरण गरे । यो राष्ट्रका लागि घातक र गम्भीर प्रकृतिको आदेश दिने विजय गच्छदार अहिले खुम्चिएर न्यूनीकरण भएका छन् भने सायद गेहनाथ भण्डारीजस्ता व्यक्तिको नाम कर्मचारी जगतमा सम्मानपूर्वक लिने गरिन्छ होला । अहिले गेहनाथ कहाँ छन् थाहा छैन । तर, उनले गरेका राम्रा कामको अहिले पनि चर्चा हराएको छैन ।
राज्य सत्तामा सबैको पहुँच हुनुपर्छ । दलित, महिला, मधेसी, जनजाति, पिछडावर्ग क्षेत्रका जनताले सहजरूपमा पहुँच पाउने व्यवस्था गर्नै पर्छ । सायद यसैलाई मध्यनजर गरेर होला सबै क्षेत्रमा समावेशी र समानुपातिक पद्धति अंगालेको । तर यहिसँग विकृति भित्रिनु दुर्भाग्यपूर्ण रहेको छ । पहिलो संविधानसभामा नेकपा एमालेले एउटी कमलरीलाई सभासद् बनाएको थियो । उनी थिइन् शान्ता चौधरी । अर्काको घरमा आठ वर्षको उमेरदेखि दासी जीवन बिताएकी शान्ताले पढ्न पाएकी थिइनन् । सभासद् भइसकेपछि शान्ताले नेपाल बुझ्ने कोसिस गरिन् । अरुलाई बिझाउने र अस्वभाविक लाग्ने काम गर्दे गरिनन् । छोराछेरीसँग क, ख सिकिन् । कम्प्युटर चलाउन थालिन्, गाडी सिकिन् र आफूलाई संविधानसभाको सदस्य वन्न योग्य भएको सावित गरिन् । देश मात्र होइन विदेश पनि बुझ्ने कोसिस गरिन् । तर, आफ्नो वर्ग, क्षेत्र र समूहको पीडा संविधानसभामा प्रस्तुत गर्न कहिल्यै छाडिनन् । हरूवा, चरुवा, कमलरी, कमैया, भूमिहिन सुकुम्वासीको मुद्दा उठाउन कहिल्यै पछि परिनन् । किताव लेखिन । प्रत्येक नेपाली जनता सवै विषयमा योग्य वन्न सक्छन् भन्ने एउटा राम्रो छापा शान्ताले छाडेकी छन् । तर, सबै शान्ता हुदैनन् । करिमा वेगम पनि हुन्छन् ।
सायद करिमा वेगम पहिलो संविधानसभामा एउटा कलंकको भारी विसाउन आएकी थिइन् । उनी कुनै मधेसी दलबाट प्रत्यक्षमा चुनाव जितेर आएकी सभासद् थिइन । सायद पर्सा जिल्ला वीरगंज निवासी हुन् । उनी राज्य मन्त्री पनि बनिन् क्यारे । निजले वीरगंजमा देखाएको अस्वभाविक चर्तिकला निजामती कर्मचारीक्षेत्रका लागि मात्र होइन मुलुककै लागि कलंक थियो । मधेस र मधेसी जनताका लागि लज्जावोधले शिर निहुराउनु पर्ने कार्य करिमा वेगमले गरिन । वीरगंजवासीले करिमा वेगम जस्तालाई विजयी वनाएकोमा पश्चाताप गरे । उनले निजामती कर्मचारीमा योग्य ठहरिएका, सक्षम र सफल सहसचिव पर्सा जिल्लाका तत्कालिन प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारी माथि हातपात गरिन । निज अविवेकी, वुद्धिहिन वेगमले राष्ट्र, मधेस, मधेसी जनता र सुरक्षाको विषयलाई लिएर हातपात गरेकी होइनन् । भन्सार छलेर निर्विवाद रूपमा सामान भित्र्याउन र दुई नम्बरी काम गर्न दिनुपर्छ भन्दै हातपात गरेकी थिइन् । तत्कालिन अवस्थामा उनले आफूलाई सिडियोले हेपेर थोत्रो गाडी पठाई दिएको कारणले हातपात गरेको भने पनि यो तर्क कसैले पत्याएनन् । त्यसताका सञ्चार माध्यमले सबै पोल खोलि दिए । वेगमले गरेका कार्य पर्साका जनतालाई पटक्कै मन परेको थिएन । अहिलेको चुनावको नतिजाले ‘वेगम तिमी अयोग्य छौं, घरमै बस’ भनेर थन्क्याई दियो ।
समय बडो वलवान हुन्छ । समय अनुसार चल्न जान्नेहरू रहन्छन् भने समयको प्रतिकूल कार्यगर्नेहरू हराउँछन् । करिमा वेगमहरू हराए । हावा, हुण्डरीले उडाएर ल्याएको पात पतिङ्गर जस्तै वेगमहरू हराए भने प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारीहरू अहिले पनि आफ्नो कार्य क्षेत्रका जनताको काम गर्न व्यस्त छन् । आफ्नो जिल्लाको सक्षम, गतिशिल, उर्जावान प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारी जस्ता व्यक्तिमाथि अभद्र व्यवहारगर्ने करिमाहरूले यो संविधानसभामा प्रवेश पाउनु हुदैन । गरिमामय संविधानसभालाई अपवित्र बनाउनेहरू दण्डित हुनुपर्छ । नागरिकले राष्ट्र र जनताका लागि उत्तम साथै ऐतिहासिक काम गर्नका लागि सभासद्मा निर्वाचित गरेर पठाएका हुन । गच्छेदारले जस्तो राष्ट्रघाति काम गर्नु भनी निर्देशन गर्न, करिमाले जस्तो सिडियो कुट्न र माओवादीले जस्तो अर्थ मन्त्रिलाई बजाउन जनताले त्यहाँ पठाएको होइनन् । सभासद्को गरिमामय पदको धज्जी उडाउँदै ‘भूइँको न भाँडाको’ भएर व्यवहार गर्ने करिमा वेगम जस्ता व्यक्ति संविधान निर्माण गर्ने स्थानमा पुगे भने त्यसले राम्रो नतिजा दिदैन । विगतले यहि बताएको छ ।
जनताले वेगमहरूलाई एक हदसम्म बढारेर मिल्काइदिएका छन् । गच्छदारहरूलाई सच्चिएर काम गर्न निर्देश गर्दै घटुवा गरिदिएका छन् । र, माओवादीलाई उदण्डताको सजाय पनि दिएका छन् । जे होस् जनता सधैँ सत्यको पक्षमा रहन्छन् र जित पनि सत्यकै हुन्छ । सायद दुर्गाप्रसाद भण्डारी अहिले पनि कुनै जिल्लाको प्रमुख जिल्ला अधिकारी भएर काम गर्दै होलान् । उनले करिमालाई जनताले मतदानद्वारा दिएको दण्ड पनि थाहा पाए होलान् । योग्य र इमान्दार भएको हुँदा दुर्गा भण्डारीहरू जहाँ भए पनि सफल रहने छन् । करिमाहरूलाई जतिसुकै ठूलो पद दिए पनि असफलै हुने छिन् । पक्कै पनि विगत संविधानसभामा राम्रा मान्छेहरू पनि अएका थिए । ती सभासद्लाई धेरै कुरा थाहा थिएन । सभासद्हरूले आफ्नो काम, कर्तव्य, अधिकार र कार्य क्षेत्रका वारेमा थाहा नै पाएनन् । कतिपय गैवारले त सिडिओ कुटेपछि योग्य होइन्छ भन्ने पनि ठाने होलान् । तर, वास्तविकताले के पुष्टि गर्यो भने जनता धेरै बुद्धिमान छन् । विजय गच्छदारलाई दण्ड दिने जनताले गेहनाथ भण्डारीको प्रसंशा गरे । करिमालाई धुलो चटाउने जनताले दुर्गा भण्डारीलाई योग्य र इमान्दार ठानेका छन् । दुर्गाहरूले चित्त दुखाउनु पर्दैन । जनताले सत्य र असत्य छुट्याउँछन् र सोही अनुरूपको पुरस्कार र दण्डको व्यवस्था गर्छ ।
यस लेखमा कसैलाई गाली गर्न र कसैको प्रशंसा गर्न खोजिएको होइन । केवल प्रवृत्तिलाई औँल्याइएको हो । र अवको संविधानसभाका सभासद्ले जनता, कर्मचारी र विभिन्न पेशामा संलग्नहरूलाई नै लाजलाग्ने खालको गतिविधि नगरुन भन्न खोजिएको हो । वास्तवमा कुनै पनि प्रशासक लोकसेवाको जाँच पास गरेर आएको हुन्छ । उसले विभिन्न स्थानमा आ८नो योग्यता र क्षमता देखाई सकेको हुन्छ । शिक्षित, योग्य, इमान्दार साथै राष्ट्र र जनता प्रति वफदार भएकै कारण फसक्लास अफिसरलाई विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारी बनाइएको हो । यही कारण हो विजय गच्छेदारको राष्ट्र विरोधी निर्देशन गेहनाथ भण्डारीले नमानेको । यस्तै कारणले हो दुर्गा भण्डारीले करिमा वेगमको भन्सार छल्ने र दुई नम्बरी काम गर्न दिनु पर्ने मागलाई कुल्चिएको । अब यस्ता गतिछाडाहरूको तोजोवध गरिनुपर्छ भने दुर्गाप्रसाद भण्डारीहरूको प्रसंशा गर्नु पर्छ ।
प्रतिक्रिया