बहुपक्षीय व्यापार प्रणालीलाई प्राथमिकता दिन आग्रह

काठमाडौं, २० मंसिर । अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री शंकरप्रसाद कोइरालाले विश्व व्यापारका सन्दर्भमा बहुपक्षीय व्यापार प्रणालीलाई केन्द्रमा राख्नुपर्ने बताएका छन् । विश्व व्यापार संगठन वाणिज्य मन्त्री स्तरीय विश्व सम्मेलनको दोस्रो दिन प्लेनरी सत्रलाई सम्बोधन गर्दै मन्त्री कोइरालाले यसका लागि समृद्ध मुलुकहरूलाई लचिलो हुन आग्रह गरेका छन् ।

अति कम विकसित मुलुक (एलडीसी) को संयोजक रहेका मन्त्री कोइरालाले सन् २०१५ सम्म शताब्दी लक्ष्य हासिल गर्न विकासका मुद्दाहरू परिभाषित गर्नुपर्ने चरणमा रहेका बेला बहुपक्षीय व्यापार थप सान्दर्भिक रहेको बताए । दीगो र समावेशी विकास अबको लक्ष्य हुनुपर्ने बताउँदै मन्त्री कोइरालाले बाली सम्मेलनले त्यसमा सन्तुलित र विश्वसनीय अवधारणा ल्याउने विश्वास व्यक्त गरे । उनले यसका लागि सर्वपक्षीय राजनीतिक इच्छाशक्तिको खाँचो रहेको बताए । अहिलको विश्व व्यापार संगठन दोहा वार्ताको चरणमै रहेको हुँदा विकास मुद्दालाई व्यापार मुद्दा बनाइनु पर्छ । अति कम विकसित मुलुकका मुद्दाहरूलाई भन्सारहित कोटारहित बजार पहुँचका साथै सरल, पारदर्शी र उत्पतिको नियम व्यवस्था हुनुपर्ने मन्त्री कोइरालाको भनाइ थियो ।
सेवा क्षेत्रमा दिएको छूटको कार्यान्वयन र कटन सम्बन्धी मुद्दाको छिनोफानो बाली सम्मेलनले गर्नुपर्नेमा जोड दिदै उनले एलडीसीले डब्लुटीओको सदस्य बन्न पालना गर्नुपर्ने प्रावधानको सरल र प्रभावकारी बनाउन आग्रह समेत गरे । ‘बहुपक्षीय व्यापारका नियमहरू उल्लेख भएका विशेष र फरक प्रकारका व्यवहार सम्बन्धी व्यवस्थाको समेत प्रभावकारी कार्यान्वयन हुनुपर्छ ।’ मन्त्री कोइरालाले भने । व्यापार सहजीकरण सम्बन्धी सम्झौतामा एलडीसीका भूपरिवेष्ठित यस्ता विशेष प्रकृतिका मुद्दाहरूको सम्बोधन हुनुपर्ने उल्लेख गर्दै कृषि सम्बन्धित एजेण्डाको सहमतीय विन्दु खोजी गरिनुपर्ने उनको भनाई थियो ।
एक फरक प्रसंगमा मन्त्री कोइरालाले संविधानसभाको शान्तिपूर्ण चुनावपछि नेपालमा राजनीतिक स्थायित्वका लागि आर्थिक सामाजिक रूपान्तरण आवश्यक भएको बताए । नेपालको वहुपक्षीय व्यापार प्रणालीमा प्रभावकारी एकिकरण देशको समग्र विकासको उद्देश्य पूर्तिका लागि आवश्यक रहेको छ ।

प्रतिक्रिया