देशको प्रगति र जनताको उन्नति होला ?

anil-yogi-jpgसंविधानसभा र्निवाचनमा पराजित भएका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेसवादी दलका नेताहरूले हार्नु भनेको आफ्नो नभै भारतको पराजय हो भनेका छन । महतो को यो भनाईलाई सामान्य रूपमा लिन सकिदैन । हामी नेपालीले यति ठुलो मुल्य चुक्ता गरेर राष्ट्रको मुल कानुन बनाउनका निमित्त गरियको निर्वाचनमा अर्को कुनै राष्ट्रले जित्ने वा हार्ने भनेको गम्भिर प्रश्न हो । यसले प्रश्ष्ट हुन्छ, महतो बिगत भारतीय दलालको रूपमा काम गरिरहेका रहेछन र यो चुनावमा भारतले उनलाई जिताउने भुमिका खेलि दिएन । महतोको यो भनाईले के पुष्टि हुदैछ भने निर्वाचन त हामीले गर्‍यौ, जनतालाई मत हाल्न पनि लगायौं तर नेपालको राजनीतिको पर्दा पछाडी अरु तागतले खेलेका रहेछन । बिगतका दिनमा मधेसवादी दलका नेताहरू आफुलाई मधेसका मसिया ठान्थे र समग्र मधेसका हकवाला धर्तीपुत्र आफु मात्र हौं भनि रहेका थिए । यदी तिनीहरू स्वतन्त्र, स्वाभिमानी तराई मधेसका धर्तिपुत्र भएको भए यो चुनावमा उनिहरूले जित्न पर्ने हो ।
राजेन्द्र महतोको भनाईलाई बल पुग्ने गरी र यो संविधानसभालाई पनि निकम्बा सावित गराउने मनसायले हुन सक्छ, बाबुराम भट्टराईले बिगतको संविधानसभामा भए गरेका सबै काम उलटाउन पर्ने र नयाँ राजनीतिक कोर्ष सुरु गर्नु गर्ने तर्क अगाडी सारेका छन । स्मरण रहोस् बिगतको संविधानसभालाई यिनै बाबुराम भट्टराईले हत्या गरेका थिए । नेताहरूका अलोकतान्त्रिक कृयाकलापले देश हरेक प्रकारका भयाँनक विवादको भुमरीमा पर्‍यो । दुखका साथ भन्नुपर्छ, यो राष्ट्रको राष्ट्रिय राजनीतिको बागडोर राजेन्द्र महतोले भने जस्तै बिदेशीले कस्लाई हराउने र कस्लाई जिताउने भन्ने कुराको ताकत आफनो हाथमा लिएका छन । राजसंस्थाको अन्त्य पश्चात नजानिदो ढङ्गले बिदेशीहरू देखिने गरि राजनीतिको अग्रभागमा छन । स्वाधिन भएर आफनो देशको राजनीतिक ब्यवस्था चलाउन सक्ने ल्याकत भएका नेताहरू यो देशमा भएको भए आपसमा मिलेर बसेको नेपाली समाज भाँड्नुमा गर्व गर्न सक्ने थिएनन् ।
लोकतन्त्रको नाममा गलत उद्धेश्य राखेर साम्राज्यवादी र बिस्तारवादीहरू नेपाल राष्ट्र बर्वाद बनाउन दलका नेताहरूलाई काँधमा बोकेर यस धर्तिमा मस्तसंग खेलीरहेका छन । राजेन्द्र महतो लगायत मधेसवादी दलका नेताहरूको हार र आफ्नै नेपाली दाजुभाईलाई बर्गशत्रु घोषणा गरेर जनयूद्ध नामको हिंसात्मक राजनीतिक अभियान चलाउनेहरूको लज्जास्पद हारलाई देश भित्र स्वभाविक ठानिदै छ । संसदवादीहरूले आफनो जितलाई बाहिरी मुखले जनताको मत भने पनि उनिहरूका भित्री मनमा बाह्यशक्तिले पासा पल्टाई दियो भन्ने ठानेका छन । देशीबिदेशीलाई प्रयोग गर्दै आएको एमाओवादीको नेृतृत्वले शान्ति प्रकृयामा आउदै गर्दा र बालुवाटारमा प्रचण्ड प्रकट हुँदा उनले नेपाली सेनालाई राजाको मलामी जाने, सलामी ठोक्ने र चेलीबेटी बलत्कार गर्ने सेना हो भनेका थिए । आफैले दुनियाँका सामुन्ने ललकारेको त्यही नेपाली सेनाका ताकतमा आफना सहयात्रीहरूलाई बाहिर राखेर चुनावमा जाँदा के हालत होला भन्ने कुरा एमाओवादीको नेृतृत्वले बुझ्न सकेन । यसको अर्थ चुनावमा सेनाले धादली गर्‍यो भन्ने होइन । सेना बाहिर आयो जनताले र्निभय तरिकाले मतदान गर्न पाएकाले यो परिणाम आएको हो ।
लोकतन्त्रको मुल्य,मान्यता बिधिको शासन बिपरित देश दुनियाँ मारेर, बाह्यशक्तिसँग अस्वभाविक समबन्ध राखेर आफनो राष्ट्र र जनता प्रति गम्भिर प्रकृतिका धोखाधडी गर्ने हाम्रो राजनीतिक नेृतृत्वको असफलताका कारण देशको अस्तित्वनै धरापमा परि सकेको आजको अवस्थाबाट राष्ट्रको रक्षागर्न र बास्तविक जनपक्षीय, निति र बिधिमा आधारित न्यायपुर्ण प्रजातान्त्रिक राज्य ब्यवस्था स्थापना गर्ने हो भने, ईमान्दार नेताहरूले हरेक पार्टीबाट बिर्दोह गर्न सक्नु पर्दछ । यो राष्ट्रलाई बिवेकशील कम भ्रष्ट मानिसहरूको देश बनाउने हो भने आफना नेताहरूले गरेका राजनीतिक,सामाजिक र आर्थिक अपराधको लेखाजोखा सहीत कारवाहीको प्रकृया अगाडी बढाउनु आवश्यक देखिन्छ ।
अक्षम राजनीतिक नेृतृत्वका पछि लागेर आफ्नो राष्ट्रिय दायित्व पुरा गर्न सकिदैन भन्ने कुरा जानेर पनि लोकतन्त्र भित्र आफुलाई जिवित राख्न नसक्नेहरूले राष्ट्र र समाजलाई अग्रगामि बाटोमा लैजान सक्छन भनेर पत्याउने कुनै राजनैतिक र सैद्धान्तिक आधार छैन । अलोकतान्त्रिक दलीय राजनीतिका कारण सिंङ्गो नेपाल, एकताबद्ध नेपाल, सबै जातजाती, भाषा भाषिका नेपाली जनता अटाउने नेपाल यति बेला जोखिम अवस्थामा छ । चोरबाटो बाट बिदेशीको पैसा खाएका आफुलाई बौद्धिक भन्ने केही ब्यक्तिहरू यो कुरा मान्न तयार छैनन् ।
सबै क्षेत्रमा लथालिङ्ग अवस्था दलगत स्वार्थी राजनीतिक नेृतृत्वले गर्दा भएको हो भन्न सकियन भने देश प्रतिको गद्धारी हुनेछ भन्ने कुरा जान्न नसक्नेहरू लाजै नमानिकन बौद्धिक भएर समाजमा छाँटियर हिड्दैछन । हाम्रो राजनीतिक नेृतृत्वले परचक्रिहरूका सामु लम्पसार भएर दिएको गम्भिर प्रकृतिको राष्ट्रिय धोखाधडीलाई नेपाली जनताले धैरेता पुर्वक हेरी रहेका छन । राष्ट्रको अस्तित्व समाप्त हुदा आफु सम्मानित जीवन बाँची रहन्छौ भन्ने कसैले ठानेको छ भने त्यो मुखर्ता साबित हुनेछ ।
नेपालका राजनीतिक दलका नेताहरू बिदेशीका आड्भरोसामा बलवान जस्ता देखिन्छन यथार्त त्यस्तो छैन । उनीहरूको चिन्तन शैली र जीवनशैलीले गर्दा फगत कठ्पुतलीका रूपमा आफ्नो पहिचान बनाई रहेका छन । बिदेशीका आडमा आफ्नो देश कमजोर बनाएर राष्ट्र चुसेर बाँच्नु बाहादुरी हुन सक्दैन । लोकतन्त्रमा देश बलियो हुनु पर्छ । मुठ्ठीभर मानिसहरू धनी बन्नुलाई मात्र लोकतन्त्र हो भनेर मान्न सकिदैन । आफ्नो देशप्रति ईमान्दार बन्न नसक्ने लम्पटहरूले नयाँ नेपाल बनाउने गफ गर्न अब किमार्थ सुहाउदैन । चेतनशिल प्राणी जगतका मानिसका जीवनसँग खेल्ने राजनीतिक
आवरण भित्रका अपराधीहरूलाई मालिक मान्नैपर्ने जनतालाई बाध्यता पनि हुँदैन ।
राष्ट्र र राज्यलाई कुनै एकदल,व्यक्ति वा कुनै समुहको माग पुरा गरिदीने सँस्थाको रूपमा बुझ्ने राजनीतिक चेतनाले मात्र राष्ट्र हाँक्न सकिदैन । राष्ट्र भनेको बृहत कुरा हो जुनकुरा हाम्रा राजनीतिक दलका नेताहरूले जान्न सकेका छैनन् । जनताका समस्या के के हुन् समाधानको तरिका कस्तो अपनाउने भन्ने बिचार प्रबाह गर्न नसक्नेहरूले राष्ट्र हाँक्ने नैतिक अधिकार राख्न सक्दैनन् । यस्तो असभ्य राजनीतिक संस्कार बोकेका नेताहरूले देशलाई ठुलो दोन्दमा फसाउने खतरा टरेको छैन । सबै सचेत नेपालीले ईमान्दारी पुर्बक सोचौं ? के यस्तै सभ्यता भएका मानिसहरूबाट यो देशको प्रगति र जनताको उन्नति होला ?

प्रतिक्रिया