क्यानमा विवाद, दुईवटा कमिटी सक्रिय

काठमाडौं, १६ मंसिर । कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) मा विवाद उत्पन्न भएपछि संघमा दुइ चिरा भएको छ । क्यानको शनिवार बोलाइएको २० औँ वार्षिक साधारणसभामा क्यानलाई महासंघ बनाउने विषयमा विवाद भएपछि दुईवटा समानान्तर कमिटी गठन भएका छन् ।

विनोद ढकाल अध्यक्ष रहेको वर्तमान तदर्थ समितिलाई एकवर्षे कार्यकाल रहेकामा बीचैमा कानुनी हैसियत नहुँदै साधारणसभा बोलाएको अर्को समूहको आरोप छ । साधारणसभामा सदस्य उपस्थित हुने क्रम चलिरहँदा वर्तमान अध्यक्ष ढकाल र महासचिव अमृत पन्तलगायतका केही सदस्य आवश्यक संख्या (कोरम) नपुगेको भन्दै सभाहलबाट बाहिरिएपछि विवाद चुलिएको हो ।
यता क्यानका पूर्व अध्यक्ष विप्लवमान सिंह, वर्तमान उपाध्यक्ष नारायण न्यौपाने लगायतका अन्य सदस्यको समूहले सिंहको अध्यक्षतामा ११ सदस्यीय प्रस्तावित क्यान–महासंघको तदर्थ समिति गठन गरेको छ । एकवर्षे कार्यकाल पाएको समितिले महासंघलाई दर्ता गरी अर्को अधिवेशन बोलाउने र आगामी क्यान इन्फोटेकलाई सम्पन्न गर्ने जिम्मेवारी लिएको क्यानका जिल्ला समन्वय समितिका संयोजक नवराज कुँबरले जानकारी दिए । क्यानको तीन महिनाअघि भएको विशेष साधारणसभाले क्यानलाई महासंघको ढाँचामा लैजाने निर्णय भएबमोजिम विधान पारित भई जिल्ला प्रशासन कार्यालयमा दर्ता भइसकेको जनाइएको छ ।
साधारणसभामा ५७ जिल्लाका प्रतिनिधि पर्यवेक्षक गरी २०० बढीको सहभागिता थियो । क्यानमा २६२ वैधानिक सदस्य रहेको बताइएको छ ।

प्रतिक्रिया