काठमाडौं, १५ मंसिर । सरोकारवालाहरुले वरिष्ठ सारङ्गीवादक जंगबहादुरगन्धर्वलाई ‘सारङ्गी सम्राट’ घोषणा गर्न सरकारसँग माग गरेका छन् ।
दलित कलाकार नेपालले आज (शनिबार) काठमाडौंमा आयोजना गरेको श्रद्धाञ्जलि कार्यक्रममा सारङ्गीवादक गन्धर्वलाई ‘सारङ्गी सम्राट’ घोषणाका लागि माग गरेका हुन् । गन्धर्वको सम्मान स्वरुप अक्षय कोष स्थापना गरी पुरस्कारको व्यवस्था पनि गरिएको छ ।
एमालेका उपाध्यक्ष बामदेव गौतमले जंगबहादुर गन्धर्वले नेपाली गीत संगीलाई दिएको योगदानको सम्मान स्वरुप सरकारले ‘सारङ्गी सम्राट’को उपाधि दिनुपर्ने बताए । ‘जंगबहादुर गन्धर्वलाई ‘सारङ्गी सम्राट’का लागि घोषणा गराउन सरकारलाई मेरो तर्फबाट दवाव दिने छु ।’
उनले नेपालीहरुको राष्ट्रिय वाजा सारङ्गीको प्रवद्र्धनका लागि सरकारले विशेष सहयोग र ध्यान दिनुपर्ने बताए ।
नेकपा–माओवादीका नेता ईश्वरचन्द्र ज्ञवालीले पनि गन्धर्वले पुर्याएको योगदानको कदर राज्यले ‘सारङ्गी सम्राट’को उपाधिबाट गर्नुपर्ने बताए । ‘सरकारले कलाकारको सम्मान र सम्बद्र्धनका लागि कञ्जुस्याई गर्नु हुँदैन,’ उनले भने ।
दाङ–काठमाडौं पत्रकार समाजका वरिष्ठ उपाध्यक्ष विमल योगीले स्रष्टाको सम्मान राज्यले जीवित छँदै गर्नुपर्ने बताए । उनले वरिष्ठ सारङ्गीवादक जंगबहादुर गन्धर्वको निधनमा शोक वक्तव्य जारी गर्न समेत कञ्जुस्याई गरेको गुनासो गरे । ‘राजनीतिलाई मात्रै ध्यान दिनु हुँदैन,’ उनले भने, ‘राष्ट्रिय गौरव बढाउन महत्वपूर्ण योगदान गरेका जंगबहादुरलाई पनि सरकारले सम्झनु पर्छ ।’
संगीतकार सन्तोष श्रेष्ठले पनि सरकारले वरिष्ठ सारङ्गीवादक जंगबहादुरलाई उपेक्षा गरेको गुनासो गरे । ‘सरकारले जंगबहादुर दुईलाई श्रद्धाञ्जलि दिन शोक वक्तव्यपनि जारी गरेन,’ उनले भने, ‘राज्यले कला क्षेत्रलाई वास्तवमा चिन्नै सकेको छैन ।’
कमजोर स्वास्थ्य अवस्थाका गन्धर्वको पाँच दिन अघि काठमाडौंमा उपचारकै क्रममा निधन भएको थियो । दशहजार बढी नेपाली लोक, आधुनिक, दोहरी, चलचित्रलगायतका गीतहरुमा सारङ्गीको धुन बजाएका गन्धर्वलाई रापती समाजलगायतका संघसंस्थाले ‘सारङ्गी सम्राट’को उपाधिसहित सम्मान गरिसकेको छ ।
दाङको घोराही नगरपालिकामा स्थायी घर भएका गन्धर्व २००६ सालमा जन्मेका हुन् । उनले लामो समय गीत संगीतमा सारङ्गीवादकका रुपमा काम गर्दै आएका थिए । उनले अलईण्डिया रेडियोका साथै नेपाली सञ्चारमाध्यममा थुप्रै सारङ्गीका धुन दिएका छन् ।
यसैबीच, गन्धर्वको स्मरणमा गठन गर्न लागिएको पुरस्कारका लागि अक्षय कोष स्थापना गर्न एमालेका उपाध्यक्ष गौतमले २५ हजार नगद दिएका छन् । अक्षय कोषका लागि नेकपा–माओवादीका नेता ज्ञवालीका साथै विभिन्न संघसंस्था र व्यक्तिले पनि रकम उपलब्ध गराएका छन् ।
प्रतिक्रिया