काठमाडौ, १५ मंसिर । संविधानसभा निर्वाचनको समानुपातिक तर्फको पनि मतगणना सकिएको छ । निर्वाचनमा होमिएका दल मध्ये१० हजार पनि मत प्रँप्त गर्न नसक्ने दलको संख्या ७८ रहेको छ । निर्वाचन आयोगमा दल दर्ता गराउनका लागी कम्तिमा १० हजार जनाको हस्ताक्षर आवश्यक पर्दछ । तर ती दलले हस्ताक्षर बराबरको मत पनि प्रँप्त गर्न सकेनन् । आयोगले नयाँ खुलेका दललाई मङ्सिर ४ को निर्वाचनमा सहभागी हुनका लागी १० हजार जनाको हस्ताक्षरसहित निवेदन माग गरेको थियो ।
हस्ताक्षर सहित ती दलले निर्वाचन आयोगमा निवदेन दर्ता गराए । आयोगले हस्ताक्षरमाथि छानबिन पनि गर्यो र १२२ दललाई समानुपातिक निर्वाचनमा भागलिन अनुमति दियो । समानुपातिक निर्वाचनमा भाग लिएका ४४ राजनीतिक दलले मात्र १० हजार भन्दा बढी मत प्राप्त गरे । बाँकी ७८ राजनीतिक दलको मत १० हजारभन्दा कम नै रहयो । यस पटकको निर्वाचनमा सबैभन्दा कम मत ल्याउने दलमा नेपाली जनता पार्टी रह्यो । सो दलले ९९६ मत मात्रै प्राप्त गर्यो ।
निर्वाचन आयोगका अनुसार समानुपातिक निर्वाचन तर्फ ९४ लाख ५७ हजार ८४४ मत खस्यो । प्रारम्भिक आँकडामा यो कुल मतदाताको करिब ७७.८ प्रतिशत हो । प्रारम्भिक आँकडामा सो प्रतिशत प्रत्यक्षको भन्दा करिब तीन प्रतिशत बढी नै हो । आयोगले प्रत्यक्ष निर्वाचनतर्फ ७४.२ प्रतिशत मत खसेको प्रारम्भिक तथ्याङ्कमा छ । अर्काेतर्फ खसेको मतप्रतिशत नेपालको निर्वाचनका इतिहासमा सबैभन्दा बढी पनि हो । यस पटकको निर्वाचनमा एक करोड २१ लाख ४७ हजार ८६५ मतदाता रहेका थिए ।
१२२ दलका करिब १० हजार उम्मेदवार समानुपातिक निर्वाचनमा उत्रेका छन् । आयोगले केही दिनभित्र दलले प्राप्त गर्ने सिट सङ्ख्या निर्धारण गरिदिनेछ । प्रत्यक्ष र समानुपातिक निर्वाचनका मत परिणामको प्रारम्भिक आँकडामा आगामी संविधानसभामा ३१ राजनीतिक दलको मात्र प्रतिनिधित्व रहने देखिएको छ ।
ती दलले समानुपातिकतर्फ करिब ८९ लाख ५६ हजार ६५६ मत प्राप्त गरेका थिए । बाँकी ९१ दल संविधानसभा बाहिर नै रहन पुग्नेछन् । संविधानसभामा एकजना मात्र सभासद् पठाउने दलको सङ्ख्या ११, चार जना पठाउने दल दुई, तीन जना पठाउने दलको संख्या ४ रहेको बताइएको छ ।
प्रतिक्रिया