दमक : झापाका किसानहरु बजारमा आलुको बीउ नपाएपछि समस्यामा परेका छन् । आलुखेतीका लागि राम्रो मौषम मानिएको कात्तिक र मंसिरको मध्यमा समेत बीउको मूल्य महँगो भएको कृषकले गुनासो गरेका छन् । अघिल्लो वर्षको तुलनामा यो वर्ष आलु महँगो भएपनि खोजेजस्तो बीउ नपाइएको किसानको गुनासो छ ।
उनीहरुका अनुसार अघिल्ला वर्षको तुलनामा यो वर्ष आलुको बीउको मूल्य झन्डै दोब्बर भएको छ । लखनपुर–६ का किसान वीरेन्द्र सुब्बाले गुणस्तरीय बीउ नपाउँदा घरमै खान राखिएको आलुको बीउ रोप्न थालेको बताए । बीउ अन्य समयको तुलनामा पच्चीस प्रतिशत मूल्य बढेको उनले बताए ।
शीतभण्डारणमा आफ्नै आलुको बीउ राख्ने सहज व्यवस्था नहुँदा बर्सेनि बीउको समस्या भोग्नु परेको गुनासो किसानको छ । हाल झापामा दुई वटामात्र व्यावसायिक शीत भण्डार छन् । दमक र विर्तामोडमा रहेका एक/एक शीतभण्डारमा सामूहिक रूपमा वा ठूलो परिमाणमा आलु लैजाँदा मात्र राख्न सहज हुने भएकाले सबै कृषक यसैतर्फ लागेका छन् । अधिकांश आलुको बीउ भारत र भुटानबाट आउने गरेको छ । अधिकांश नेपाली कृषकले अहिले पनि विदेशबाट आयात भएको आलुको बीउमा निर्भर हुनुपरेको जनाएका छन् ।
बीउ व्यवसायी रामजनक शाहले नेपाल र भारतका विभिन्न स्थानबाट बीउ आउने भएपनि ढुवानी सहज भई नसकेकाले किसानको मागअनुसारको बीउ बजारमा नभएको बताए । स्थानीय बजारमा नेपाली किसानले आलु उत्पादन गरेपनि भण्डारणका लागि शीतगृहको अभाव हुने गरेकाले आलुको बिउमा परनिर्भर हुनुपरेको उनको भनाई छ ।
प्रतिक्रिया