हिजो भएको निर्वाचनले निकास देला ?

Dirgha-Raj-Prasaiबडो जबर्जस्त रूपमा संविधानसभाको दोस्रो निर्वाचन भयो । यो निर्वाचनले नेपाल संकटग्रस्त अवस्थाबाट मुक्त गराउन सक्दैन । संविधानसभाको दोस्रो निर्वाचनमा ७० अर्बभन्दा बढी खर्च भएर पनि निकास दिन नसक्नुका मुख्य कारक हुन्– माओवादी, कांग्रेस, एमाले र मधेसवादी नेताहरूको चरम गद्दारी । यसरी गैरसंवैधानिक प्रकारले जबर्जस्त बल प्रयोग गरेर निर्वाचन गराउनु, चारदलीय मोर्चा माओवादी, कांग्रेस, एमाले, मधेसीहरूको एकलौटीरूपमा अधिनायकवादी बाटोबाट सत्ता कब्जा गर्ने व्यवहार, भारत र पश्चिमा देशहरूको निर्देशन र दबाबबाट उपलब्धिरहित निर्वाचन गराएर नेपाली जनतालाई धोका दिन खोजियो । भारतीय गुप्तचर संस्थाका प्रमुख आलोक जोशी काठमाडौंमा नै रहेर चारदलका नेताहरूलाई निर्वार्चित गराउन पैसा र मोटर दिँदै नेपालको आन्तरिम मामिलामा नांगो हस्तक्षेप गर्नु, अमेरिकी पूर्वराष्ट्रपति जिम्मी कार्टर नेपालमा फ्रेन्च मोडलको संविधान बनाउनु भन्दै सिआइएको अगुवाइमा नेपालमा क्रिस्चियनकरण गराउन दबाब दिँदै फ्रि तिब्बतका लागि नेपाललाई आधार इलाका बनाउन खोज्ने कुत्सित प्रवृत्ति लाद्नु, युरोपका क्रिस्चियन देशहरूले नेपालमा रहेका इसाईहरूलाई माओवादीलाई भोट हाल्न निर्देशन दिँदै अर्बौं रकम पठाउनु आदि कारणले ४ मंसिर ०७० को निर्वाचन ०६४ सालको निर्वाचनभन्दा पनि गए गुज्रेको र प्रत्यक्ष विदेशीहरूको दबाबमा भएकाले यस निर्वाचनले नेपालको हित गर्न सक्दैन । वास्तवमा यो निर्वाचन संविधान बनाउनको लागि थिएन र होइन । संविधान बनाउन चाहेको भए पहिलो संविधानसभाबाटै संविधान बनिसक्थ्यो ।
४ मंसिरको संविधानसभाको निर्वाचन भारतको दबाबमा मात्र भएको हो र यसलाई अमेरिका, संयुक्त राष्ट्र संघका महाचिव बान की मुन, युरोपका क्रिस्चियनहरूले समर्थन गरेका मात्र हुन् । भारत संविधानसभाको निर्वाचन गराई त्यसैलाई वैधानिकता दिएर नेपाल टुक्रयाउन चाहन्छ । पश्चिमा देशहरूको चासो नेपालाई क्रिसिचयाकरण गर्दै फ्रि तिब्बतको नाममा चीनलाई टुक्रयाउने हो । यी दुवैको रणननीति फरक—फरक भए पनि नेपाललाई भारतले टुक्रयाउने कुराको पश्चिमाहरूले असहमति जनाउँदैनन् । उनीहरूलाई चासो अखण्ड नेपालको सार्वभौमसत्तासँग छैन । भारतको सोनिया क्याथालिकको सरकार र पश्चिमाहरू हाम्रा शत्रु हुन् । त्यसै हिसाबले नेपाली जनता र कांग्रेस र एमालेका देशभक्तहरूले राप्रपा–नेपालको गाईलाई मत दिएर विश्वलाई चकित बनाइदिएका छन् । कांग्रेसका रामचन्द्र पौड्यालले ‘गाईलाई भोट हाल्ने कुरा नगर’ भनेपछि कांग्रेसी कार्यकर्ताहरू कांग्रेसदेखि आगो भएर गाईलाई मतदान गरेर नेपालको राष्ट्रिय पहिचानको रूपमा हिन्दू राष्ट्रको पक्षमा अभिमत दिएका छन् । देशलाई यसरी धोका दिनेहरू माओवादी, कांग्रेस, एमाले पार्टीका भ्रष्ट–पदलोलुप्त नेताहरू गद्दार नै हुन् । संविधानसभाबाट चार वर्षमा पनि संविधान बनाउन नसकेर फेरि अर्को संविधानसभाको निर्वाचन गराउने भन्दै निर्वाचन गराइयो । चार वर्षमा के कुरामा अड्किएर संविधान बनेन ? ती अड्किएका बुँदाहरू यथावत् नै छन् । त्यत्रो समयमा संविधान बन्न नसकेपछि अब यिनीहरूले कसरी र कस्तो संविधान बनाउछन् ? यसरी विदेशीको एजेन्डाअनुसार बनेको संविधानलाई नेपाली जनताले कसरी समर्थन गर्छन् ? यिनीहरूबाट कुनै संविधान बनेमा माओवादी वैद्य मोर्चाले जलाउने सुरसार कसिरहेका छन् ।
०६३ सालपछिका सत्तासीन पार्टीका नेताहरूले अन्यायपूर्ण रूपमा धर्मनिरपेक्ष घोषणा गरेर विश्वको एक मात्र हिन्दू राष्ट्रको पहिचान मेटाउन खोजेकाले ४ मंसिरको निर्वाचनमा सारा नेपालीहरूले आफ्नो विवेक प्रयोग गरेर हिन्दू राष्ट्रको पक्षमा राप्रपा–नेपालको गाई चिह्नमा मत हालेर चारदलीय षड्यन्त्रकारीहरूलाई लोप्पा खुवाइ दिएका छन् । ४ मंसिरमा निर्वाचन गराइने भएपछि नेपाली जनताले मौन रूपमा गाईलाई भोट हालेर आफ्नो आस्था जाहेर गरे । धर्मनिरपेक्ष, गणतन्त्र मात्र होइन, जातीय आधारको संघीयतामा बाजाबाझ गरेर यिनीहरूले देशलाई नै टुक्र्याउने अपराध गरे । यिनीहरूका बहुरूपी चरित्र देखेर सबै क्षेत्रका नेपाली जनता निरास छन् । अरिंगालको गोलो बिच्किएकोजस्तै विश्वासघाती नेताहरूका विरुद्ध यस निर्वाचनमा नेपाली जनता खनिए । यिनीहरूले भुल स्वीकार गरेर जनता समक्ष क्षमा मागेनन् भने कुनै पनि बेला यी भ्रष्टहरू जनकारबाहीमा पर्न सक्छन् । अत्याचारको पराकाष्ठा नाघ्न थालेपछि यी कुचक्रीहरूलाई आक्रमण गर्न जनताले कुनै आइतबार पर्खिने छैनन् । यद्यपि संविधानसभाको वैधानिकता छैन । तर पनि जनताको अभिमत देखाएर राप्रपा–नेपाल एउटा ठूलो राजकीय शक्तिमा उदाएको छ । अब देशले स्थायित्व प्राप्त गर्न सक्छ । तर यो संविधानसभाबाट संविधान बन्न सक्दैन । देशलाई यसरी संविधानविहीन बनाएर राख्न हुँदैन । संविधानसभाबाट संविधान बन्न नसकेपछि ०४७ सालको संविधानले स्वत: वैधानिकता प्राप्त गर्छ । यो अन्तराष्ट्रिय नजिर पनि हो । यसरी देशभक्तहरूको संयुक्त सरकार बनेपछि बाध्यतावस यी चार पार्टीका मुख्य २०/२५ जना देश डुबाउन खोज्ने यी देशद्रोही–भ्रष्टहरूलाई समातेर उनीहरूले लुटेको राष्ट्रको सम्पत्ति राष्ट्रियकरण गर्न पहल गरिन्छ । राज्य भनेको राष्ट्रका स्थायी अंगहरू अदालत, सेना, प्रहरीलगायत प्रशासकीय व्यवस्थाहरू भएकाले यिनीहरूको सहयोगमा देशभक्तहरूको नेतृत्वमा नेपालले आफ्नो क्षमताको प्रस्तुति गर्नसक्छ ।
नेपालको अधोगति गराउन भारतीय गुप्तचर संस्था ‘रअ’ को लज्जास्पद भूमिका छ । यसको हामी भत्सर्ना गछौँ । भारतीय गुप्तचर संस्था ‘रअ’ को करोडौँ बजेट मध्ये धेरै अंश भारतीय राजदूतमार्फत नेपालमा खर्च गर्ने गरिन्छ । यो निर्वाचनमा मधेसवादी भ्रष्ट कुख्यात नेता र एमाओवादीले करोडौँ रकम कुम्ल्याए । साम्राज्यवादी शक्तिसँग लडेरै आफ्नो अस्मिता जोगाइराख्दै आएको नेपाल विश्वका राष्ट्रहरू मध्येको एक सार्वभौम राष्ट्र हो । भारतको संरक्षणमा संचालित नेपालका माओवादी प्रचण्ड र बाबुराम भट्टराईहरू नेपाललाई तहसनहस गराउन अनेकौँ कुकर्म र भारतीय षड्यन्त्रमा सामेल हुँदै आएका छन् । निर्वाचनको मिति घोषणा गरेपछि २०७० सालको प्रारम्भदेखि माओवादी नेता प्रचण्ड, एमालेका माधव नेपाल, अमेरिकी आशिर्वादमा हुर्किएका कांग्रेसी शेरबहादुर देउवालाई भारतले निम्त्याएर आफ्नो पक्षमा विश्वस्त गराएर पठाउने काम गर्‍यो । यस्ता दलाल चरित्रहीन व्यक्तिहरूलाई नेपाली जनताले अब नसिहत दिनेछन् । निर्वाचन जित्ने र हार्ने कुराभन्दा पनि कुन नेताले विदेशीको चाकरी गरेर पैसाको खोलो बगाएर निर्वाचित भयो भन्ने प्रश्न नेपाली जनताको अगाडि टड्कारो छ ।
भारतकै चाहनामा संविधानमा कतै नभएको आधारमा जबर्जस्त नेपाललाई तहसनहस गराउन प्रधानन्यायधीश खिलराज रेग्मीलाई सरकार प्रमुख बनाएर निर्वाचन गरियो । के यी चारदलका नेता, खिलराज रेग्मी, रामवरण यादवहरू यो निर्वाचनलाई संविधानअनुसार भएको हो भन्न सक्छन् ? मरेको अन्तरिम संविधानमा अर्को संविधानसभाको निर्वाचन गर्ने उल्लेख छैन । आफ्नो स्वार्थसिद्ध गर्नमा यहाँका चार पार्टीका नेताहरूले आफूलाई भारतमा बेच्न पुगे । नेपालका गौरवमय पहिचान र मान्यताहरू समाप्त हुँदा पनि यिनीहरू बुझ पचाएर बसेका छन् । पार्टीका देशद्रोही नेताहरूको अराष्ट्रिय सोचको कारणले देशको अवस्था नाजुक भएको हो । संसारमा हरेक कुराको सीमा हुन्छ । सीमा नाघेर गरिएका कुनै पनि कुराहरूले दिगो रूप लिन सक्दैन । अति भयो भने ‘अति सर्वत्र वर्जयत्’ । ०६३ पछि राज्य सञ्चालन गर्न मौका पाएकाहरूले कसैले पनि देशलाई सहीबाटो दिन नसकेकाले आज नेपाल संसारको गरिब र भ्रष्ट मुलुकको सूचीमा पुगेको छ । राज्यको गन्तव्य संविधानसभाको दोस्रो संविधानसभाको निर्वाचन थिएन । यो नेपालीहरूको लागि नभएर विदेशीहरूको लागि भयो । त्यसैले सोच्नु पर्‍यो सबैले । अब राप्रपा–नेपालसँग सहमति लिएर राजासमेतको उपस्थितिमा नेपाल हिँड्नु पर्छ । ‘मेरा साना दु:खले आज्र्याको मुलुक होइन, सबैलाई चेतना भया’ भन्ने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको उपदेशलाई आत्मसात गर्दै नेपालको राष्ट्रियता, राजतन्त्र र प्रजातन्त्रको समन्वय र सन्तुलनका साथ देश सञ्चालन गरिनु पर्छ ।

प्रतिक्रिया