काठमाडौं, ४ मंसिर । कलाकार चुनाव नजिकिँदै गर्दा जति सक्रिय भएका थिए, त्यस्तै रूपमा भोट हाल्न पनि आतुर छन् । आज अर्थात् ४ मंसिरमा हुने दोस्रो संविधानसभाको चुनावमा मतदान गर्न कलाकार उत्साहित रहेको देखिन्छ ।
एउटा न एउटा राजनीतिक दलमा आबद्ध भएका कारण पनि कलाकार संविधानसभाको चुनावमा भोट हाल्न आतुर रहेको देखिन्छ । कलाकारले आ–आफ्नो गृहजिल्लाबाट भोट हाल्ने तयारी गरेका छन् । नेपाली चलचित्र क्षेत्रका महाअभिनेता राजेश हमालले काठमाडौं–६ बाट मतदान गर्नेछन् । परिचयपत्र हात पारिसकेका हमालले अन्य कलाकार तथा मतदातालाई पनि भोट हाल्न आग्रह गरिरहेका छन् ।
त्यस्तै, नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री रेखा थापा चुनावी प्रचार–प्रसारमा सबैभन्दा अगाडि देखिइन् । उनले एमाओवादीलाई चुनाव प्रसार–प्रसारमा सहयोग गरे पनि यसपटक कुनै पनि पार्टीलाई मतदान गर्न नपाउने भएकी छन् । किनभने उनले मतदाता नामावलीमा नाम नलेखाएका कारण मतदान गर्न नपाएकी हुन् ।
बन्दका कारण अहिलेका निकै व्यस्त निर्देशक दीपेन्द्र के खनाल र निर्माता अर्जुनकुमार संविधानसभाको चुनावमा भोट हाल्न ३ मंसिरमा हेलिकोप्टर चार्टर गरेर गएका छन् । उनीहरू दुवै जना नुवाकोट–२ बाट मतदाता हुन् । त्यस्तै, अभिनेता जीवन लुइँटेलले काठमाडौं–९ बाट भोट हाल्ने बताएका छन् । मतदाता परिचयपत्र नलिएको भए पनि अभिनेता जीवनले नागरिकता देखाएर भोट हाल्ने बताएका छन् । केही समयअगाडिका निकै चर्चित अभिनेता दिलीप रायमाझीले काठमाडौं–१० बाट मतदान गर्दै छन् । अभिनेता रायमाझीले यो भन्दा अगाडिको चुनावमा मतदान गर्न नपाएकाले यसचोटि परिवारसहित भोट हाल्न जाने बताएका छन् । त्यस्तै, अर्का अभिनेता नीरज बरालको चुनावी क्षेत्र झापा–३ रहेकाले यसपटक भोट हाल्न जान नसक्ने बताएका छन् ।
त्यस्तै, चर्चित अभिनेत्री करिश्मा मानन्धर र केकी अधिकारीले काठमाडौं–३ बाट भोट हाल्ने बताएकी छन् । उता, अभिनेत्री प्रियंका कार्कीले भने काठमाडौं–४ का उम्मेदवार नेपाली कांग्रेसका नेता गगन थापालाई मतदान गर्न लागेको कुरा बताएकी छिन् । त्यस्तै, अभिनेत्री बेनिशा हमालले भने काठमाण्डौ क्षेत्र नम्बर ९ बाट भोट हाल्ने बताएकी छन् । अघिल्लो निर्वाचनमा चितवन–५ बाट मतदान गरेकी उनले यसपटक भने काठमाडौंबाटै भोट हाल्ने बताइन् । बिहानै भोट हाल्न जाँदा लामो समय लाइनमा बस्नुपर्ने बताउँदै उनले भनिन्, ‘दिउँसो भोट हाल्ने तयारीमा रहेकी छु ।’
त्यस्तै, पछिल्लो पुस्ताका व्यस्त अभिनेता गजित विष्टले काठमाडौं–१ बाट मतदान गर्ने बताएका छन् भने अर्का अभिनेता सविन श्रेष्ठले काठमाडौं–७ बाट मतदान गर्न लागेको जानकारी दिएका छन् । धेरै कलाकारको रायमा पार्टीभन्दा पनि सही व्यक्तिलाई हेरेर भोट दिने तर्क रहेको छ ।
प्रतिक्रिया