दोस्रो संविधानसभाको निर्वाचन आज सम्पन्न हुँदै छ । जनता र नेताले व्यग्र रूपमा पर्खिएको घडीको हामी धेरै नजिक छौँ । यतिखेर सिंगो मुलुक नै निर्वाचनमय बनिसकेको छ । मुलुक पूर्वांग गरेर राखेको दुलही अन्माउने बेहुलीको घरझँै बनेको छ । यसै क्रममा नेकपा–माओवादीलगायत २६ दल भने निर्वाचन बहिष्कार र बिथोल्ने कार्यमा जोडका तोड साथ लागिरहेका छन् । यसै क्रममा उनीहरूले उम्मेदवारका सवारीसाधनमा तोडफोड गर्ने, बाटोअवरुद्ध गर्ने, बिभिन्न ठाउँमा बिष्फोट गराउने आदि कार्यहरू गरिरहेका छन् । यसका साथसाथै उम्मेदवार भएको क्षेत्रबाट जित्न कम्मर कसेर लागेका छन् । सरकारले भने वैद्य माओवादिका गतिवीधिलाइ छिटपुट घटनाको संज्ञा दिँदै आफू निर्वाचनको सुरक्षा दिन सक्षम रहेको घोषणा गर्दै निर्भयपूर्वक निर्वाचनमा भाग लिन आमराजनीतिक दल र मतदातामा आव्हान गरिरहेको छ । सरकारले सुरक्षा संयन्त्रको भरमा सैनिकको प्रयोग गरेर निर्वाचन गर्न सक्षम हुनेमा आमजनता अझैँ पनि पूर्ण रूपमा आश्वस्त भने हुन सकिरहेका छैनन् । सबैका मनमा आज निर्वाचनमा केही हुन्छ कि भन्ने आशंकासमेत रहेको सहजै अनुमान लगाउन सकिन्छ । नेपालका राजनीतिक दलका नेताहरूको बोलाई र गराईमा कहिल्यै समानता नदेखेकाले पनि नेपाली जनताले यसै हुन्छ भन्ने आँकलन गर्न सकिरहेका छैनन् । त्यसैले असन्तुष्टि पालेर बसेका नेपाली जनता दलका क्रियाकलापदेखि वाक्कदिक्क भएका छन् । त्यसमा पनि राजनीतिक दलहरूले ल्याएका घोषणापत्रका कारण पनि जनतामा थप असन्तुष्टि फैलिएको पाउन सकिन्छ । निर्वाचनमा भाग लिएका राजनीतिक दलहरूका आआफ्नै अडानहरू छन, आ–आफ्नै नै घोषणापत्रहरू छन् । प्रमुख दलहरूले यसअघिको संविधान सभाबाट संविधान घोषणा गर्न भनी गरिएको २ जेठको सहमतिविरुद्ध आफ्ना घोषणापत्र तयार गरेर मतदाता समक्ष पुर्याइसकेका छन् । प्रमुख राजनीतिक दलहरू सहमतिको बाटोबाट जानुभन्दा पनि एक अर्कालाइ निषेध गर्नेतिर लागिरहेका छन् । सबै प्रमुख राजनीतिक दलहरू संविधान निर्माणका लागि आफ्नो दलले बहुमत ल्याउनुपर्ने र आफ्नो दलको बहुमत नआएमा संविधान नबन्ने ठोकुवा दिँदै भाषणबाजी गर्दै हिँडेका छन् । यसबाट के प्रष्ट हुन्छ भने जबसम्म नेपालका राजनीतिक दलहरूमा ‘मेरो गोरूको बाह्रै टक्का’ भन्ने भावना जागृत भइरहन्छ र सहमतिको संस्कार बन्दैन तबसम्म समस्या ज्यूँका त्यूँ रहन्छ । नेपालीमा एउटा उखान छ ‘ताकपरे तिवारी नत्र गोतार्म’ यसै उखानलाई चरितार्थ गरिरहेका छन् नेपालका राजनीतिक दलहरूले । त्यसैले आफू निर्वाचनमा धेरै सिट ल्याउन नसक्ने आफूले नजित्ने संभावना देखे भने यिनै प्रमुख भनाउँदा राजनीतिक दलहरू आफैँ निर्वाचन स्थगन गर्न र सार्न पछि पर्दैनन् भन्ने हिजोसम्म आशंका गरिएको थियो । उनीहरूले आफ्नो पार्टीको नाफा नोक्सानलाई तुलामा तोलेर सिंगो मुलुकलाई खरिदबिक्री गर्न पनि पछि नपर्ने चरित्र यसअघि पटकपटक देखाइसकेका छन् । त्यसैले पनि आज जनतालाई विश्वस्त तुल्याउन हम्मे हम्मे परिरहेको छ ।
हो, वास्तवमा नेकपा–माओवादीलगायत ३३ दललाई समयमै सहमतिमा ल्याउनु पथ्र्यो । सबै दललाई मिलाएर निर्वाचन गर्दा सुनमा सुगन्ध हुने थियो यसमा कसैको दुईमत हुन सक्दैन । तर, पनि अब लगन पछिको पोतेको काम हुन्न भनेझैँ अब चुनाव पछि वार्ता बसेर वैद्य माओवादीलाई केहि समानुपातिकको सिट दिँदै राम्रो हुन्छ । तसर्थ अबको विकल्प भनेको राजनीतिक सहमतिबाट वैद्य माओवादीलाई केहि समानुपातिकका सिट दिनु नै हो ।
आज आमजनता माओवादीलाई शंकाको घेराबाट हेरिरहेका छन् चाहे ती ए हुन् वा बि माओवादी । माओवादीप्रति जनतालाई भरोसा नभएको देखिन्छ । कतै एमाओवादिको चुनाव विथोल्न खोज्नु अनि अन्य दलका नेताहरूको चाहिँ गाडी तोडफोड गर्ने, बम हान्नेजस्ता क्रियाकलापलाइ नजिकैबाट नियालेर हेरेका जनता एमाओवादी र बी माओवादी बीचको नाटक त होइन भनेर अड्कल पनि गरिरहेका छन् । ‘तँ कुटेजस्तो गर, म रोए जस्तो गर्छु’ भन्ने आन्तरिक नाटक त मञ्चन भइरहेको छैन ? आज यी सब कुरामा जनताको शंकै शंकाको घेरामा परेका छन् नेपालका माओवादी पार्टीहरू ।
वास्तवमा राजनीति र जुवामा केही फरक हुँदो रहेनछ । यसो भन्नुको अर्थ के हो भने, जति धेरै नीति नियमका, संविधानका, ऐन कानुनका कुरा गरेता पनि राजनीतिमा सबैभन्दा महत्वपूर्ण कुरा भनेको सहमति हँुदो रहेछ । सहमति भयो भने संविधान संशोधन गरेर भए पनि हरेक कुराको टुंगो लाग्दो रहेछ । अन्यथा नीति, नियम भनेका तिनै राजनीति गर्नेहरूले बनाउने र तिनैले तोड्ने रहेछ । उदाहरणका लागि तास खेललाई हेर्न सकिन्छ । जस्तो कि तास खेलिरहेका खेलाडीहरूले तास बाँडेर जोकर पल्टाइसकेपछि कसैलाई पनि जोकर नपर्ने वा जुत नमिल्ने देखिएमा पुन: तास बाँड्न वा जोकर पल्टाउन सहमत हुन्छन् ।
वैद्य नेतृत्व ३३ दलीय गठबन्धनका दलहरू मध्ये ७ वटा दल निर्वाचनमा सहभागी भएका छन । तर पनि गठबन्धन भने ३३ दल ३३ दल भनेर फलाक्न छाडेको छैन । तिनले निर्वाचन बहिष्कार गर्ने र बिथोल्ने क्रममा कांग्रेस एमाले, एकीकृत माओवादीलगायत दलहरूको चुनावी कार्यक्रम मात्र किन बिथोल्ने प्रयास गरे गठबन्धनमा रहेका ७ दलको कार्यक्रम चाहिँ किन बिथोलेनन् । अन्यथा ३३ दलीय गठबन्धनको नेतृत्वले गठबन्धनको निर्णयविरुद्ध निर्वाचनमा गइसकेका दलहरूलाई गन्ती गरेर ३३ दल भनिरहनुभन्दा पनि २६ दलभन्दा उपयुक्त हुने थियो कि ? यदि ३३ दलको साझा एजेन्डा नै निर्वाचन बहिष्कार गर्ने बिथोल्ने हो भने ३३ दल भित्रकै ७ दलले पनि त्यो एजेन्डालाइ मान्नुपर्ने होइन त ? गठबन्धनले पनि चुनाव बहिष्कारको मुल एजेन्डालाइ नै नमान्ने दलहरूलाइ गठबन्धनमा समेटेर राख्नुको कुनै औचित्य के त ?
नेकपा–माओवादी र एकीकृत माओवादी नै आज चर्चाको शिखरमा छन् । आज आमजनता एकीकृत माओवादीलाई नियालेर हेरिरहेका छन् । आज आमजनता एकीकृत माओवादीले चाहेमा मात्र दोस्रो संविधानसभाको निर्वाचन हुन्छ भनेर भनिरहेका छन् त्यसैले इमान्दारिपूर्वक निर्वाचन गराउनु एमाओवादीको दायित्व हुन गएको छ मोहन वैद्य नेतृत्वको ३३ दलीय गठबन्धनले चाहेर पनि निर्वाचन स्थगन हुन सक्दैन तर एकीकृत माओवादीले चाहेमा निर्वाचन स्थगन हुन्छ भन्ने अड्कल गर्नेहरूलाई जवाफ दिने बेला भएको छ एकीकृत माओवादीको । जनताले वैद्य माओवादीलाई भन्दा पनि विशेषगरी एकीकृत माओवादीलाई नै नियालेर हेरिरहेका छन् । यसै क्रममा आज आमनेपाली जनताहरू एकीकृत माओवादीका गतिविधिहरूलाई सुक्ष्म तरिकाले अध्ययन गरिरहेका छन् । नेपालको राजनीति इतिहासकै एकदमै जटिल मोडमा आएर उभिएको यस अवस्थामा आमनेपाली जनतालाई भने अस्थिरता र आशंकै आशंकाका बीच धेरै समय बिताउनु परेको छ । अब नतिजा आउने समय भएको छ, तसर्थ भोलिदेखि नतिजा आउन थाल्ले छ, र आगामी दुई दिनभित्रमा नेपालका राजनीतिक दलहरूको मुख्यतया माओवादीलगायत राजनीतिक दलहरूको परीक्षणको समय सकिने छ ।
प्रतिक्रिया