केटी बनेर नृत्य गर्दा फ्यानहरूले भने ‘तेस्रो लिंगी’

gajit-bistaमैले कलाकारितामा संर्घष गरेको करिब १० वर्ष भने कलाकारितामा लागेको ५ वर्ष पूरा भयो । ०६५ सालबाट स्टेज कार्यक्रहरूमा नृत्य, अभिनय र कोरीयोग्राफको माध्यमबाट म्युजिक भिडियोमा मोडलिङ गर्दै कलाकारितामा छिरेको थिएँ । मेरो पहिलो म्युजिक भिडियो श्रेया सोताङ र कमल खत्रीले गाएको सुस्तरी–सुस्तरी बोलको गीत थियो । यो गीत युवा पुस्तामा चर्चित भएकाले मलाई मोडलिङ करियरमा सफलता दिलाएको थियो । त्यहि बेलै मैले केही फ्यानहरूको हौसलाको कारण खोजी प्रतिभाको नामक रियलिटी सोमा एक्टिङ तथा नृत्य विधामा सहभागी भएा । देशभरिबाट नृत्य तथा एक्टिङ विधाको प्रतियोगितामा दोस्रो हुन सफल भएपछि कलाकारितामा लाग्न सजिलो भयो ।
म कलाकारितामा यो स्थानसम्म आइपुग्न सबैभन्दा ठूलो हात निर्देशक दिनेश डिसीको रहेको छ । उहाँले मलाई चलचित्र ‘मायाजवार’मा डेब्यु गराउनु भएको थियो । र, एउटा नयाँ कलाकारलाई विश्वास गरेर चलचित्रमा लिने दाइ सुनिल मानन्धरलाई पनि यो सफलतामा भुल्न सक्दिनँ । जब चलचित्र ‘मायाजबार’ हलहरू चल्यो, त्यसपछि मैले पहिलो चलचित्रबाटै फ्यानहरूको माया पाउन थालेको थिएँ । चलचित्र मायाजबार हेर्ने दर्शकहरू मलाई फ्यान भएको बताउँदै अभिनय तथा नृत्यको बढी तारिफ गरेका थिए । मेरा फ्यानहरूले हौसाउँदै तारिफहरूमा भन्थे, ‘चलचित्र क्षेत्रमा तपाईंजस्तो कलाकारको खाँचो छ । यस्तै किसिमले चलचित्रहरू खेल्दै जानुहोस्, नेपाली चलचित्र क्षेत्रलाई उल्लेख्य योगदान पुर्‍याउनुहोस्,’ लगायत शब्दहरू फ्यानहरूबाट सुन्न पाएको थिएँ ।
फ्यानहरूसँग भेट्न र कुराकानी गर्न चाहिँ सबैभन्दा सजिलो माध्यय फेसबुक तथा सामाजिक सञ्जालका माध्ययमहरू रहेछन् । जसले गर्दा, नेपालको कुनाकन्दरा तथा विदेशमा रहेका नेपालीहरू मेरो अभिनयलाई मन पराएर फेसबुकमै मिल्ने गरेको छु । फेसबुकबाटै फ्यानहरूसँग कुराकानी तथा काममा सल्लाहहरू पाउने गरेको छु । मेरो व्यक्तिगत फेसबुक प्रोफाइलमा ५ हजार फ्रेन्डहरू रहेका छन् । ५ हजारभन्दा बढी फ्रेन्ड अटाउन नसकिने हुनाले धेरै फ्यानहरू अनफ्रेन्ड नै रहेका छन् । फेसबुकमा आएका फ्यानहरू सबै सकारात्मक भन्ने चाहिँ छैन रहेछ । मेरो पनि सतप्रतिसतमा ९५ प्रतिशत फ्यान सकारात्मक नै भए पनि ५ प्रतिशत फ्यानहरू केही नकारात्मक छन् । उहाँहरूले मलाई धेरै कुरामा र्‍याकिङ गर्ने गरे पनि मलाई खासै वास्ता लाग्दैन ।
मेरो फेसबुकमा चाहिँ फ्यानहरू केटी फ्यानहरू नै बढी छन् । केटी फ्यानहरू फेसबुकमा बढीजसो कुराकानी गर्न खोज्छन् । कुरा गर्दै जाँदा फ्यानहरू भेट्न खोज्ने, मोबाइल नम्बरहरू माग्ने, नम्बर नदिँदा रिसाउने धेरै फ्यानहरू छन् । तर, सबै फ्याहरूको त्यस्ता प्रस्ताव मान्दै जाने हो भने कलाकारको सम्मान उड्ने डरले पनि म मेरा फ्यानहरूलाई सरी भनिरहेको हुन्छु । कतिपय फ्यानहरू चाहिँ सोझै प्रेम प्रस्ताव पनि गरिरहेका हुन्छन् । अब त मलाई फ्यानहरू प्रेम प्रस्ताव पनि साधारण नै लाग्छ, र एउटा कलाकारलाई यस्तो सोच लाग्ने पनि गर्दोेरहेछ । प्रेम प्रस्ताव गर्ने फ्याहरू मात्र किन हुन्छन्, कसको प्रेम प्रस्ताव स्वीकार गर्ने ? मलाई लाग्छ अहिले फ्याहरूलाई राम्रो अभिनय गरेर चलचित्र देखाउनु ।
म फ्यानहरूसँग टाइम मिल्ने वित्तिकै फेसबुकमा भेट्ने गरेको छु । कलाकार भएपछि फिक्स टाइम नै दिन नपाइने । कहिले चलचित्रको सुटिङ २४ घन्टा पनि हुने गर्छ । चलचित्र मायाजबारको एउटा बडी सोको फोटो फेसबुकमा धेरै चर्चित भएको थियो । त्यो फोटो करिब २–३ महिनासम्म फेसबुकमा छाएको थियो । धेरै फ्यानहरूले त्यस फोटोमा कमेन्टहरू पनि गरेका थिए । कसैले सलमान खानको जस्तो बडी भने त कसैले ब्राड पिटको जस्तो बडी । त्यस फोटोलाई गरिएको कमेन्टहरू मध्ये मलाई मनपरेको कमेन्ट प्रेरणाको थियो । कमेन्टमा लेखिएको थियो, ‘सो फिट बडी, अब यसलाई घट्न पनि नदिनु र बढ्न पनि ।’ उनको पूरा नाम थाहा नभए पनि, कमेन्ट भने उत्कृष्ट लागको थियो ।
फ्यानहरूसँग भेट्ने अर्को मौका कार्यक्रमहरू पनि हो । चलचित्र विकास बोर्डले गरेको धरान महोत्सवमा गरेको डान्स पर्फमेन्समा सबैभन्दा रोचक पर्फमेन्स भएको थियो । त्यहाँ पनि मैले धेरै फ्यानहरू बटुल्न सफल भएको थिएँ । डान्स सकेर फ्रेस हुन बाहिर जाँदा १५–२० जना स्कुले विद्यार्थीहरू आएर अटोग्राफ माग्दै, फोटो खिचाएर गए । सोचेको थिएँ, मलाई कलाकारको रूपमा चिन्ने धेरै रहेछन्, तर त्यहिँ फ्यानहरू पुन: फर्किएर मेरो नाम सोधेका थिए । ती फ्यानहरूले भन्दै थिए, तपाईंको डान्स साँच्किकै राम्रो थियो, कलाकारितामा लाग्नु होला † त्यस्तै अर्को डान्स मैले कहि दिन अगाडि ‘डि सिने’ अवार्डमा केटी भएर गरेको थिए । त्यहि डान्स पर्फमेन्सको कारणले पनि मलाई फेरि चर्चामा ल्याइदिएको छ । केही फ्यानहरूले सो पर्फमेन्स हेरेर तेस्रो लिंगी हो कि भन्ने कमेट पनि गरेका छन् । सो डान्स पर्फमेन्सलाई हेर्नुहुने फ्यानहरूले एउटा हिम्मतको काम भएको कमेन्ट गरेका छन् । म हरेक स्टेजहरूमा एउटा न एउटा नयाँ किसिमको काम गर्न खोजिरहेको हुन्छु ।
कलाकारितामा संर्घष गरेको १० वर्षपछि जीवनमै पहिलोपटक नवनायकको अवार्ड चलचित्र ‘मायाजबार’बाट केही दिन अगाडि पाएको छु । यो अवार्ड पाउनमा मेरो मेहनतभन्दा बढी मेरो फ्यानहरूको हात रहेको छ किनभने मेरो अभिनय, नृत्यलाई मन पराएर यो अवार्ड पाउन सफल भएको छु । अन्तमा मेरा फ्यानहरूलाई भन्न चाहन्छु, ‘हाम्रो मान्छेलाई भन्दा पनि राम्रो मान्छेलाई माया गर्नुहोला ।’
प्रस्तुति : विशाल राई

प्रतिक्रिया