को–को छन् शीर्षनेताका प्रतिद्वन्द्वी ?

Puspakamal-Dahalकाठमाडौं, १८ असोज । एमाओवादी, कांग्रेस, एमालेलगायत दलका केही शीर्ष नेताले चुनावमा कडा टक्करको सामना गर्नुपर्ने देखिएको छ । मुख्य दलहरूले शीर्षनेताहरूलाई जसरी भए पनि चुनाव जिताउने रणनीतिअनुरूप उम्मेदवार चयन गरे पनि केही क्षेत्रमा भने कडा टक्कर हुने नै देखिन्छ ।

एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले उम्मेदवारी दिएको काठमाडौं क्षेत्र नम्बर १० मा एमालेका सुरेन्द्र मानन्धर र कांग्रेसका राजन केसीको उम्मेदवारी परेको छ । संविधानसभाको पहिलो चुनावमा सोही क्षेत्रबाट जितेका दाहालविरुद्ध यसपटक पदम कुँवर र रेस्लर भरत विसुरालले समेत उम्मेदवारी दिएका छन् । गत वर्ष दाहाललाई मञ्चमै गएर थप्पड हानेपछि कुँवर चर्चामा आएका थिए । दाहालविरुद्ध अन्य उम्मेदवार खनिन थालेपछि उनलाई चुनौती थपिएको छ । दाहालको अर्को क्षेत्र सिराह–५ मा कांग्रेसबाट चन्द्रनारायण यादव र एमालेबाट लीलानाथ श्रेष्ठको उम्मेदवारी परेको छ ।
कांग्रेस सभापति सुशील कोइरालाले उम्मेदवारी दिएको चितवन–४ मा उनलाई चुनाव जित्न मुस्किल पर्ने देखिएको छ । उनीविरुद्ध चितवन कांग्रेसका पूर्वसभापति विकास कोइराला बागी खडा भएका छन् । कोइरालालाई बाँके–३ मा भने केही सहज देखिएको छ । उक्त क्षेत्रमा एमालेबाट पदम धिताल र एमाओवादीबाट दामोदर आचार्यले उम्मेदवारी दिएका छन् । कोइरालाले बाँकेबाट अघिल्लो चुनाव हारेका थिए ।
एमाले अध्यक्ष झलनाथ खनाललाई इलाम–१ मा हम्मेहम्मे पर्ने देखिन्छ । उक्त क्षेत्रमा कांग्रेसबाट हिमालय कर्माचार्य र एमाओवादीबाट युवराज पौडेलले उम्मेदवारी दिएका छन् । उक्त क्षेत्रमा खनालको कर्मचार्यसँग कडा प्रतिस्पर्धा हुने देखिएको छ । खनाल सर्लाही–१ बाट पनि उम्मेदवार बनेका छन् । उक्त क्षेत्रमा कांग्रेसका सुशीला कार्की र एमाओवादीका शम्भु श्रेष्ठले उम्मेदवारी दिएका छन् ।
Gagan-Thapaएमाले वरिष्ठ नेता माधवकुमार नेपालले उम्मेदवारी दिएको रौतहट–१ मा संघीय सद्भावनाका अध्यक्ष अनिलकुमार झा, एमाओवादीका राजकिशोर यादव, कांग्रेसका सन्तलाल शाह प्रतिस्पर्धीका रूपमा आएका छन् । मधेसी जनअधिकार फोरम नेपालबाट बबन सिंहको उम्मेदवारी परेको छ । सिंहले अघिल्लो चुनावमा स्वतन्त्रबाट जितेका थिए भने नेपालले अघिल्लो चुनाव हारेका थिए । नेपालले यसपटक काठमाडौं–२ मा एमाओवादीका लीलामणि पोख्रेल र कांग्रेसका प्रतिमा गौतमसँग प्रतिस्पर्धा गर्नुपर्ने भएको छ । अघिल्लो चुनावमा नेपाललाई यस क्षेत्रबाट एमाओवादीका झक्कु सुवेदीले हराएका थिए ।
एमाले नेता केपी शर्मा ओलीसँगै झापा–७ मा एमाओवादी नेता गोपाल किराँतीले उम्मेदवारी दिएका छन् । किरातीले अघिल्लो चुनाव सोलुखुम्बुबाट जितेका थिए । ओलीले भने झापा–७ बाटै चुनाव हारेका थिए ।
कांग्रेस नेता शेरबहादुर देउवाले उम्मेदवारी दिएको डडेलधुरा र कैलाली–६ मा अन्य नेताको तुलनामा कम प्रतिस्पर्धा हुने देखिएको छ । देउवाले उम्मेदवारी दिएका दुवै क्षेत्रमा एमाले र एमाओवादीबाट चर्चित अनुहारले उम्मेदवारी दिएका छैनन् । उपसभापति रामचन्द्र पौड्यालले उम्मेदवारी दिएको तनहँु–२ मा बागी उम्मेदवार खडा भएपछि उनलाई समस्या परेको छ । महामन्त्री कृष्ण सिटौलासँग झापा–३ मा एमालेबाट वसन्त बाँनिया र एमाओवादीबाट धर्मशीला चापागाइँ चुनावी मैदानमा उत्रिएका छन् ।
एमाओवादी नेता डा. बाबुराम भट्टराईले उम्मेदवारी दिएको गोरखा–१ मा त्यति प्रतिस्पर्धा नभए पनि रूपन्देही–४ मा भने कडा टक्कर हुने भएको छ । उक्त क्षेत्रबाट एमालेका सचिव विष्णु पौड्यालले उम्मेदवारी दिएका छन् । उक्त क्षेत्रबाट पौड्यालले यसअघिको चुनाव जितेका थिए ।
एमाओवादी नेता नारायकाजी श्रेष्ठले मकवानपुर–२ मा उम्मेदवारी दिएका छन् । उक्त क्षेत्रमा कांग्रेसका जयराज लामीछाने र एमालेका सुभासचन्द्र ठकुरी उम्मेदवार छन् ।
काठमाडौं–४ मा पनि एमाओवादी, कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । उक्त क्षेत्रम ाएमाओवादीबाट नन्दकिशोर पुन, कांग्रेसबाट गगन थापा र एमालेबाट निर्मल कुइँकेल उठेका छन् । अघिल्लो चुनावमा यहीँबाट संविधानसभामा पुगेकी कांग्रेस नेतृ सुप्रभा घिमिरेले गगनविरुद्ध बागी उम्मेदवारी दिएकी छन् । क्षेत्र नम्बर ५ मा एमाले महासचिव ईश्वर पोख्रेल र कांग्रेस नेता नरहरि आचार्यबीच प्रतिस्पर्धा हुने भएको छ । क्षेत्र नं–६ मा एमालेबाट योगेश भट्टराई र एमाओवादीबाट हिमाल शर्मा उम्मेदवार बनेका छन् । सोही क्षेत्रमा केशव स्थापितले पनि संघीय समाजवादीबाट उम्मेदवारी दिएका छन् ।
फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले मोरङ–७ मा उम्मेदवार दिएका छन् । उक्त क्षेत्रमा कांग्रेसबाट शेखर कोइराला भिड्दै छन् ।

प्रतिक्रिया