सेना परिचालनले समस्या समाधान हुन्न : वैद्य

काठमाडौं, १२ असोज । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ले सेना परिचालनबाट समस्याको समाधान नहुने बताएका छन् । सेना परिचालनले समस्याको समाधान सही दिशामा जानुभन्दा पनि देश गृहयुद्धमा फस्ने उनको दाबी छ ।

सेना परिचालन गर्ने निर्णय नै सही नभएको भन्दै अध्यक्ष वैद्यले संवाद डबलीमा माक्र्सवादी लेखक हस्तबहादुर केसीद्वारा लिखित ‘क्रान्ति र विद्रोह’ नामक पुस्तक विमोचन कार्यक्रममा देश गृहयुद्धमै फस्ने नै भए पनि नेपाली सेनाले मूर्खता गर्न नपाउने विश्वास व्यक्त गरे । कार्यक्रममा उनले नेपालमा विज्ञापनका लागि मात्रै कम्युनिस्ट हुने प्रचलन बढेको भन्दै एमाले कम्युनिस्ट पार्टी नै नभएको र एमाओवादी पनि एमाले बनिसकेको टिप्पणी गरे ।
आफूहरू अन्तिमसम्म लचक हुँदा पनि वैदेशिक शक्तिको षड्यन्त्र र शीर्षनेताहरूको अदूरदर्शिताले राजनीतिक द्वन्द्व चर्कन लागेकोसमेत उनले उल्लेख गरे । उनले देशमा सही नसक्नुको राष्ट्रघात भएको अभिव्यक्ति दिए ।
वैद्यले आफूहरूको लचकतालाई कमजोरीका रूपमा लिनेले देशमा गृहयुद्ध निम्त्याउने काम गरिरहेको समेत जनाए । कार्यक्रममा उनले भने, ‘हाम्रो लचकता बुझ्न नसक्नेले सेना परिचालन गर्ने धम्की गरे पनि नेपाली जनताको वास्तविक आन्दोलनको विचार थाहा पाउनेछन् ।’
दलहरू अझै पनि गाउँगाउँसम्म जान नसकेको र आफूहरूको अभियान गाउँ–गाउँसम्म पुगेको भन्दै उनले आफूहरूको आन्दोलनले दलालहरूलाई परास्त गर्दै संघर्षका बीचबाट नयाँ सविधान लेखिने दाबीसमेत गरे । ‘देशलाई सिक्किमीकरण गर्ने खतरा बढेकाले पनि बहिस्कारको आन्दोलनमार्फत अघि बढ्नुपरेको हो,’ उनको भनाइ छ । कार्यक्रममा नेकपा–माओवादीका पोलिटब्युरो सदस्य धर्मेन्द्र बाँस्तोला, राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसीलगायतले विचार राखेका थिए । मओवादीका केन्द्रीय सल्लाहकार हस्तबहादुर केसीको पुस्तक फरक पत्र द्वैमासिकले आफ्नो वार्षिक उत्सवका अवसरमा प्रकाशन गरेको हो ।

प्रतिक्रिया