काठमाडौं, ११ असोज । कतारका लागि नेपाली राजदूत मायाकुमारी शर्मालाई सरकारले फिर्ता बोलाएको छ । कतारमा विवादित बनेका कारण बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राजदूत शर्मालाई फिर्ता बोलाउने निर्णय गरेको हो ।
अमर्यादित कूटनीतिक व्यवहार गरेको भन्दै कतार सरकारले शर्मालाई नेपाल फिर्ता बोलाउन दुईपटक आग्रहसमेत गरको थियो । डा. बाबुराम भट्टराई नेतृत्वको सरकारको पालामा एमाओवादी कोटाबाट राजदूत नियुक्त भई उनी डेढ वर्षअघि कतार पुगेकी थिइन् । कतार सरकारले शर्मालाई फिर्ता नगरे देशनिकाला गर्नसक्ने संकेत गरेपछि नेपाल सरकार दबाबमा परेको थियो । शर्मालाई राजदूत सिफारिस गर्ने एमाओवादीले पनि यसअघि फिर्ता बोलाउन सहमति दिएको थियो ।
पार्टीको निर्णयपछि एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले टेलिफोन गरेर राजदूत शर्मालाई फिर्ता हुन निर्देशन दिएका थिए ।
‘तपाईं र पार्टीलाई पनि तपाईंले पदबाट राजीनामा दिँदा राम्रो हुन्छ भन्ने हाम्रो सुझाव छ,’ दाहालले शर्मालाई भनेका थिए । त्यसलगत्तै शर्माले पार्टीको निर्देशन नमान्ने अभिव्यक्ति दिएकी थिइन् ।
कूटनीतिक मामिलासम्बन्धी अन्तर्राष्ट्रिय भियना महासन्धिको दफा ९ मा पर्सोना नन ग्राटा (पिएनजी) को व्यवस्था छ । जसमा कूटनीतिक अभ्यासमा पिएनजी घोषणा गरिएको व्यक्ति उक्त देशबाट फिर्ता बोलाउनुपर्छ । पिएनजी घोषणा गर्नु भनेको उक्त व्यक्ति सो देशमा अस्वीकार्य ठहरिएको बुझिन्छ । शर्माको विषयमा पनि कतारले फिर्ता नबोलाइए पिएनजी घोषणा गर्नेसम्मको संकेत गरेको थियो ।
कतारमा रहेकै बेला एक टेलिभिजन कार्यक्रममार्फत शर्माले कतारलाई खुला जेल भनेपछि उनलाई कतार सरकारले स्पष्टीकरणसमेत सोधेको थियो । शर्माले नै आफूविरुद्ध लेख लेखेको भन्दै कतारमा रहेका एक नेपाली स्तम्भकारलाई देश निकाला गर्न कतार सरकारसँग पत्रचारसमेत गरेकी थिइन् ।
प्रतिक्रिया