काठमाडौं, १० असोज । एमाओवादीमा गुटगत विवाद बढेपछि संविधानसभा चुनावका लागि उम्मेदवार चयन झमेलामा परेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल र पूर्वउपाध्यक्ष डा. बाबुराम भट्टराई तथा अर्का पूर्वउपाध्यक्ष नारायणकाजी श्रेष्ठबीचको विवादले उम्मेदवार चयन प्रभावित बन्न पुगेको हो ।
दाहाल मिथिला, भट्टराई अवध र श्रेष्ठ भोजपुरा क्षेत्रबाट उठ्नुपर्ने प्रस्ताव आए पनि एकता–केन्द्रबाट एमाओवादीमा गएकाहरूलाई २० सिट नदिएको भन्दै श्रेष्ठ मौन बसेको स्रोतले जनाएको छ । आफूहरूलाई प्रत्यक्षमा २० सिट माग गरेकोमा दाहालले १० देखि १२ सिट मात्र दिने संकेत गरेपछि श्रेष्ठ पक्षधर असन्तुष्ट बनेको एक नेताले बताए ।
दाहालले ललितपुरको कुनै क्षेत्र र बारा २ बाट उठ्न आग्रह गरे पनि श्रेष्ठ २० सिटको ग्यारेन्टी भए मात्र आफू चुनाव लड्ने अडडीमा छन् । स्रोतका अनुसार २० सिट ग्यारेन्टी भए श्रेष्ठ चितवन–५ र मकवानपुर–२ बाट चुनावमा उठ्ने सम्भावना छ ।
श्रेष्ठ पक्षका नेता लीलामणि पोखरेलले भने २० सिट प्रत्यक्षमा दिनुपर्ने माग नगरिएको प्रतिक्रिया दिएका छन् । यद्यपि, पोखरेलले सबै क्षेत्र, वर्ग, समुदायबाट प्रतिनिधित्व गराउने विषयमा छलफल हुनुपर्ने सौर्यलाई बताए । ‘नयाँ संविधान निर्माणका लागि पार्टीको जित कसरी हुन्छ भन्ने मुख्य कुरा हो,’ उनले भने, ‘यतिउति सिट भन्ने कुरै होइन ।’
एमाओवादीले यसअघि कार्यविभाजन गर्दा एकता–केन्द्रबाट आएका नेताहरूलाई पाखा लगाएको भन्दै श्रेष्ठ पक्षधर असन्तुष्ट भएका थिए । १७ भदौमा बसेको केन्द्रीय कमिटी बैठकले पूर्वाञ्चल ब्युरो इन्चार्जमा वर्षमान पुन, मधेसमा रामचन्द्र झा, मध्यामाञ्चलमा कृष्णबहादुर महरा, पश्चिमाश्चलमा टोपबहादुर रायमाझी, सुदूरपश्चिममा शक्ति बस्नेत, अन्तर्राष्ट्रियमा दीनानाथ शर्मा, सूचना तथा सञ्चारमा अग्नि सापकोटा, विशेष ब्युरोमा जनार्दन शर्मा तथा युवा परिचालन ब्युरोमा नन्दकिशोर पुनलाई तोकेको थियो । उक्त कार्यविभाजनमा श्रेष्ठ पक्षधर नेता नपरेपछि विवाद उत्पन्न भएको थियो । त्यसअघि मधेस ब्युरोमा श्रेष्ठ पक्षधर
गिरिजामणि पोखरेल रहेकोमा हटाएर एमालेबाट प्रवेश गरेका रामचन्द्र झालाई राखिएको थियो ।
शीर्षनेताहरूबीच नै विवाद भएपछि पोस्टबहादुर बोगटी नेतृत्वको उम्मेदवार छनोट समितिले काम फत्ते गर्न सकेको छैन । पहिले मुख्य–मुख्य नेताहरूको स्थान टुंगो लगाउने गरी काम थालेको समितिले धेरै उम्मेदवारी सिफारिसले समस्या ल्याएको भन्दै त्यसलाई सानो बनाएर पठाउन राज्य तथा क्षेत्रलाई पुन: निर्देशन दिइसकेको एक नेताले बताए । ती नेताका अनुसार यसमा श्रेष्ठले नै सहयोग नगरेपछि उम्मेदवार चयन अन्योलमा परेको हो । समानुपातिक र प्रत्यक्ष दुवैका लागि देशभरबाट २ हजार ५ सयभन्दा बढीको सिफारिस आएको एमाओवादीले जनाएको छ । उम्मेदवार छनोटमा समस्या परेपछि समितिले त्यसलाई सानो आकारमा पुन: सिफारिस गर्न राज्य तथा क्षेत्रलाई निर्देशन दिएको थियो ।
छनोट समितिका सदस्यसमेत रहेका नेता पोखरेलले समितिलाई उम्मेदवार छनोटमा सजिलो होस् भनेर संयोजक बोगटीकै नेतृत्वमा संख्या सानो बनाउने काम भएको बताए । ५० प्रतिशत काम पूरा भएको उल्लेख गर्दै उनले बिहीबारदेखि महिला उम्मेदवार छनोट थालिने जानकारी दिए । समितिका अर्का सदस्य प्रभु शाहले आजभोलि नै उम्मेदवारको टुंगो लाग्ने दाबी गरे ।
प्रतिक्रिया