सप्तरी, २८ भदौ । संविधानसभाको निर्वाचनका लागि आफ्नो पार्टीका तर्फबाट चुनाव जित्ने उम्मेदवारको नाम छनोट प्रक्रियामा मधेसकेन्द्रित दलहरू पनि धमाधम लागेका छन् । संविधानसभाको निर्वाचनका लागि उम्मेदवारी दर्ताको समय नजिकिँदै जाँदा उम्मेदवारको नाम सिफारिसलाई उनीहरूले तीव्रता दिएका हुन् ।
अघिल्लो निर्वाचनमा छ निर्वाचन क्षेत्रमध्ये चारवटामा विजय हासिल गरेको मधेसी जनअधिकार फोरम नेपालले अगामी निर्वाचनमा पनि अधिकांश क्षेत्रमा विजय हासिल गर्ने लक्ष्यसहित क्षेत्र नं १ बाहेक सबै क्षेत्रबाट प्रत्यक्षतर्फका लागि उम्मेदवारको टुंगो लगाएको छ । फोरमले क्षेत्र नं २ बाट प्रत्यक्षतर्फ पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई उम्मेदवारका रूपमा उठाउने निर्णय गरिसकेको छ भने क्षेत्र नं ३ बाट प्रत्यक्षतर्फ पार्टीका केन्द्रीय सदस्य शैलेन्द्रप्रसाद साह र महेश यादवको नाम सिफारिस गरेको छ ।
फोरमले सप्तरी क्षेत्र नं ४ बाट पार्टीकी नेत्री रेणुकुमारी यादव, सुरेन्द्र यादव र क्षेत्रीय अध्यक्ष अमरनाथ यादव तथा क्षेत्र नं ५ मा प्रत्यक्षतर्फ मो अयुब राइन, सदानन्द यादव र साबिर खान तथा क्षेत्र नं ६ बाट प्रत्यक्षतर्फ अनिरुद्धप्रसाद सिंह, दयानन्द गोइत र बालकिशोर यादवको नाम सिफारिस गरेको फोरमका केन्द्रीय सदस्य शैलेन्द्रप्रसाद साहले जानकारी दिए ।
फोरम (लोकतान्त्रिक) ले क्षेत्र नं १ मा प्रत्यक्षतर्फ पार्टीका केन्द्रीय सदस्य हेमराज तातेड तथा क्षेत्र नं २ बाट प्रत्यक्षतर्फ दीपक यादव र देवनारायण मुखियाको नाम सिफारिस गरेको छ । फोरम (लोकतान्त्रिक) ले क्षेत्र नं ३ बाट प्रत्यक्षतर्फ पार्टीका महासचिव जितेन्द्रनारायण देव, जिल्ला अध्यक्ष शैलेशकुमार चौधरी र केन्द्रीय सदस्य राजीव झा को नामअगाडि सारेको छ । क्षेत्र नं ४ मा प्रत्यक्षतर्फ सत्यनारायण यादव, बिन्दुकुमारी यादव, मुसहरू यादव, गुन्जेश्वर यादव र जयनारायण मण्डल तथा क्षेत्र नं ६ मा प्रत्यक्षतर्फ पार्टीका केन्द्रीय सदस्य मृगेन्द्रकुमार सिंह यादवको नाम सिफारिस गरिएको फोरम (लोकतान्त्रिक) सप्तरीका सचिव भोगेन्द्र चौधरीले जानकारी गराए ।
क्षेत्र नं ५ मा प्रत्यक्षतर्फ छेदीलाल चौधरी र हरेकृष्ण भगतको नाम सिफारिस हुने सम्भावना भए पनि त्यसबारे टुंगो नलागेको सचिव चौधरीले बताए ।
यस्तै, सद्भावना पार्टीले प्रत्यक्षतर्फ क्षेत्र नं १ बाट ममता झा, क्षेत्र नं २ बाट केन्द्रीय उपाध्यक्ष नवलकिशोर साह (रामबाबु), क्षेत्र नं ३ मा अनिस अन्सारी र क्षेत्र नं ४ बाट मो जिस्मुल खानको नाम सिफारिस गरेको छ । तराई मधेस लोकतान्त्रिक पार्टीले पनि क्षेत्र नं २ बाहेक सबै क्षेत्रबाट उम्मेदवारको नाम सिफारिस गरेको छ । प्रत्यक्षतर्फ क्षेत्र नं १ मा गजेन्द्रनारायण यादव, क्षेत्र नं ३ मा जयप्रकाश ठाकुर र क्षेत्र नं ४ मा पुष्पा ठाकुरको नाम सिफारिस भएको छ । तमलोपाले क्षेत्र नं ५ मा प्रत्यक्षतर्फ शंकरलाल चौधरी, बिजली चौधरी र उस्मान मियाँको नाम तथा क्षेत्र नं ६ मा वीरेन्द्र साह, राजकुमार यादव र उस्मान मियाँको नाम सिफारिस गरेको केन्द्रीय सदस्य मो आसिन मियाँले बताए ।
राष्ट्रिय मधेस समाजवादी पार्टीले क्षेत्र नं ४ बाट प्रत्यक्षतर्फ गजेन्द्रकुमार मण्डल, वीरेन्द्र साह र लाल मोहम्मदको नाम सिफारिस गरेको छ ।
प्रतिक्रिया