उत्साहका साथ चुनावी गतिविधि सुरु

धरान, २७ भदौ । राजनीतिक संयन्त्रसँग सहमति भएलगत्तै संघीय समाजवादी पार्टीले सुनसरीमा उत्साहका साथ चुनावी गतिविधि सुरु गरेको छ ।
लामो छलफल र बहसबाट २१ भदौमा सहमति भएपछि समाजवादीले ४ मंसिरको चुनावका लागि रणनीति निर्माण र उम्मेदवार चयनको गृहकार्य थालेको सो पार्टीका केन्द्रीय सदस्य तथा सुनसरी इन्चार्ज भीम राईले जानकारी दिए । केन्द्रबाट सर्कुलर नआएकाले उम्मेदवारको प्रस्तावित नाम सिफारिस गर्न नसकेको उनले जानकारी दिए ।
राईका अनुसार पार्टीले सुनसरीका ६ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने तयारी गरिरहेको छ । तीमध्ये १, २, ३ र ६ मा कडा प्रतिस्पर्धा हुने सम्भावना भएको उनले बताए । सुनसरीका यी क्षेत्रमा आदिवासी जनजातिको बाहुल्य रहेकाले पार्टीको संगठन र जनताको सहभागिताका आधारमा १ र ६ मा जित सुनिश्चित हुने उनले दाबी गरे ।
सुनसरी–१ मा प्रत्यक्षका लागि धरान नगरपालिकाका पूर्वमेयर तथा पार्टीका केन्द्रीय निर्वाचन आयोग सचिव ध्यानबहादुर राईलाई उठाउने आन्तरिक तयारी भइरहेको उनले बताए । ‘लोकप्रियता, क्षमता र इतिहास सबै पक्ष हेर्दा उहाँभन्दा अर्को उम्मेदवार हुन सक्दैन,’ उनले भने । यसबाहेक केन्द्रीय सदस्य तथा सुनसरी इन्चार्ज भीम राई, केन्द्रीय सदस्य तथा सुनसरी सहइन्चार्ज दुर्गामाया लिम्बू र जिल्ला उपाध्यक्ष पारस काङमाङ राईलाई उम्मेदवार बनाउनेबारे आन्तरिक छलफल भइरहेको जानकारी दिए । यसैगरी, क्षेत्र नं. ६ को उम्मेदवारका लागि मोहन राई, नरेश राई, भक्त विक र क्षेत्र नं. २ का लागि सुनसरी पार्टी सचिव तेजकुमार आलेलगायतको विषयमा छलफल भइरहेको जानकारी गराउँदै उनले यी नाममध्येबाट प्रत्यक्ष र समानुपातिक उम्मेदवारको नाम तय गर्ने तयारी भएको बताए ।
अन्य क्षेत्रको उम्मेदवारका लागि भने सो क्षेत्रको पार्टीसँग छलफल नगरी भन्न नसकिने राईले बताए । पार्टीको केन्द्रीय बैठक भदौ २८ र २९ गते काठमाडौंमा बस्ने र सोही बैठकले उम्मेदवारको मापदण्ड तय गरेपछि उम्मेदवारको नाम टुंगो लगाउने भएको छ । स्थानीय नेतालाई नै उम्मेदवार बनाउने पार्टीको विशेष योजना छ । चुनावमा सकभर एक्लै प्रतिस्पर्धा गर्ने र तालमेल गर्नुपर्ने भएमा पहिचान पक्षधर शक्तिहरूसँग एकता गरेर अघि बढ्ने राईले बताए । पहिचान पक्षधरहरूमध्ये एमाओवादी ठूलो शक्ति भएकाले सो पार्टीसँग तालमेल गर्नेबारे केन्द्रमा प्राथमिकतासाथ छलफल भइरहेकाले उनले जानकारी गराए ।
सो पार्टीका नेतामा आसन्न चुनावमा पार्टी स्थापनाको औचित्य स्थापित गर्ने मुद्दा प्रमुख चुनौतीका रूपमा आएको छ । अपेक्षाअनुरूप विश्वासको मत जनताले दिए पार्टीको आवश्यकता पुष्टि हुने र जनताबाट अनुमोदित हुने नभए नेता र कार्यकर्ता पंक्तिमा निराशा पैदा हुनेमा उनीहरू चिन्तित छन् । नेता–कार्यकर्तामा हाल देखिएको उत्साहलाई कायम राख्न चुनावमा मर्यादित मत प्राप्त गर्न पार्टीले जिल्लाका गाउँ र टोलमा घरदैलो अभियान जारी राखेको छ । सोही अभियानअन्तर्गत सोमबार क्षेत्र नं. १ विष्णुपादुका गाविसका कांग्रेस र एमालेसम्बद्ध सय जना नेता–कार्यकर्ता पार्टी प्रवेश गरेको सुनसरी उपाध्यक्ष पारस काङमाङ राईले जानकारी दिए । विष्णुपादुकामा मात्र ८ वटा वडा कमिटी निर्माण गरिएको छ । क्षेत्र नं. ३ अन्तर्गतका चिमडी, रामगन्ज बेलगछिया, अमडुवा, दुहवीलगायत क्षेत्रमा वडा कमिटी विस्तार भइसकेको छ ।

प्रतिक्रिया