देउखुरी, २३ असार । दाङको देउखुरी चैलाही–१, सुनखोलीकी यमकुमारी राणाले लमही बजारको चोकमा बसेर मकै पोलेर एकदशक विताएकी छन् ।
उनले पोलेको एउटा मकैको घोँगाको तीनरुपियाँदेखि बिक्री गर्न थालेकी हुन् । महँगीले गर्दा अहिले उनले दशरुपियाँमा मकैको घोँगा विक्री गर्छिन् । तर, १० रुपियाँमा मकैको घोँगा विक्री गर्दा पनि उनको दैनिक खर्च धान्न मुस्किल छ ।
दिनहुँ भैरहने महङ्गीले यमकुमारीलाई हैरानै बनाएको छ । उनले हाल दश रुपियाँमा विक्री गर्ने मकैको मूल्य किसानसँग पाँच रुपियाँमा किन्नु पर्छ । उनले पोलेर बेच्ने मकैबाट बच्ने पाँच रुपियाँ पुरै पाउदिँनन् । मकै विक्री गर्न प्रयोग गरिएका ब्यक्तिलाई प्रति घोँगा दुई रुपियाँ कमिशन दिनुपर्छ । उनले प्रति घोँगा तीन रुपियाँ मात्रै बचत गर्ने गरेको बताईन् ।
दैनिक एकसय घोँगा मकै विक्रीबाट तीनसय रुपियाँ आम्दानी हुने गरेको उनको भनाई छ । मकै पोलेरै जीविका चलीरहे पनि उनको जीविका जीविकामै सीमित छ ।
‘नुन, तेल, चामल छुनै नसक्ने भैगो,’ उनले भनिन्, ‘यही मकै पोलेरै जीवन धान्न धौं धौं भा’छ ।’ विहानै पाँच बजे पूर्वपश्चिम महेन्द्र राजमार्गको लमही चौराहमा आईपुग्ने दैनिकी छ, यमकुमारीको । छिटुवामा हरिया मकै, केही दाउरा अनि कोइला बोकेर राजमार्ग छेउमा मकै पोल्दैमा उनका कपाल पनि फूलीसकेका छन् ।
यो पेशाबाट उनले पैसा पनि आर्जन गर्छिन् तर, आर्जन भएको पैसाले साँझ बिहानको छाक टार्न मुस्किल पर्छ । ‘विहानदेखि साँझसम्म यही आगो सँगै खेल्नुपर्छ,’ उनले भनिन्, ‘दैनिक तीनसय रुपियाँ आम्दानी हुन्छ ।’
१२ वर्ष अघि श्रीमानले अर्की श्रीमती लिएर गएपछि यमकुमारी एक्ली भएकी हुन् । ‘श्रीमानले दुई छोरा र मलाई छाडेर अर्की श्रीमती लगेर गएपछि एक्ली भएकी हुँ,’ आखाँभरि आँशु ल्याउदै उनले भनिन्, ‘त्यसपछि यही मकै जीवन धान्ने आधार वन्यो ।’
‘दिनभरि मकै नपोले पेटभर्नै समस्या छ,’ उनले भनिन्, ‘मकै नबेचेर सु:खै छैन् ।
घर परिवारमा दुई छोरा, दुई बुहारी अनि दुई नाती छन् । जेठो छोरा ड्राईभर र अर्का छोरा एउटानिजी स्कुलमा पढाउछन् ।
‘कहीले काँही विरामी भएर थला पर्दा पैसा निकाल्न गाह्रो पर्छ’ उनले गुनासो गरिन् । यमकुमारी विरामी हुँदा आर्थिक अभावका कारण अस्पताल जान डराउछिन् ।
यमकुमारी राणाको दैनिक खर्च
ठेगाना: चैलाही–२ सुनखोली, देउखुरी, दाङ ।
पेशा : सडक छेउमा मकै पोल्ने
आम्दानी: दैनिक एकसय घोँगा मकै विक्रीबाट आउने तीन सय रुपियाँ
तरकारी: ४० रुपियाँ
नुन, तेल, वेसार : २० रुपियाँ
दाल : २० रुपियाँ
चामल मोटो : ३५ रुपियाँ
दैनिक नास्ता: ४० रुपियाँ
यातायात खर्च : ५० रुपियाँ
दुध : ५० रुपियाँ
दैनिक जम्मा खर्च अनुमानित : २ सय ३७ रुपियाँ
प्रतिक्रिया