प्रमुखको काज फिर्तासँगै जनस्वास्थ्यमा त्रास

भैरहवा, ८ असार । आफ्नै सहकर्मीमाथि यौन दुराचारको आरोप लागेका जिल्ला जनस्वास्थ्य कार्यलय रूपन्देहीका वरिष्ठ जनस्वास्थ्य प्रशासक महेश्वर श्रेष्ठलाई चोख्याउन स्वास्थ्य मन्त्री र सचिव नै खुलेर लागेका छन् । अभियोग लागेका श्रेष्ठलाई मन्त्रलायमा तानेर कारबाही प्रक्रियाअगाडि बढाएता पनि एकाएक उनको फाइल रोकिएको छ । अभियोगका सम्बन्धमा अनुसन्धान गर्नुको साटो मन्त्री विद्याधर मल्लिक र सचिव डा. प्रवीण मिश्रले उनलाई पुन:रूपन्देही काज फिर्ता पठाइदिएको छन् । मन्त्री र सचिवलाई श्रेष्ठले आर्थिक र राजनीतिक रूपमा प्रभाव पारेको झिएको छ ।

जिल्ला जनस्वास्थय कार्यलय रूपन्देहीमा तीन वर्षदेखि कार्यरत श्रेष्ठ पछिल्लो समय यौन हिंसा गरेको आरोपमा विवादमा तानिएका थिए । उनीविरुद्ध सोही कार्यलयमा अधिकृत तहमा कार्यरत मोहन तारा पछाइले कार्यलयमै प्रमुख श्रेष्ठले यौन हिंसा गरेको भन्दै जिल्ला प्रशासन, महिला आयोग, मुख्य सचिवको कार्यलय, स्वास्थ्य मन्त्रालय तथा महिला अधिकारको क्षेत्रमा कार्यरत संघसंस्थामा न्याय पाउ भनी निवेदन दिएकी थिइन् । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयबाट केसव बास्तोलाको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ भने स्वास्थ्य मन्त्रालयले रामकृष्ण अधिकारीको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ । त्यस्तै, राष्ट्रिय महिला आयोगले पनि छानबिन गरिरहेको छ । यी कुनै पनि छानबिन समितिको रिर्पोट आएको छैन । तर, श्रेष्ठलाई पुन: जिल्ला फिर्ता गरिनु रहस्यमय देखिएको छ ।
आर्थिक वर्ष समापनको संघारमा विभिन्न परियोजनाको नाममा कोठे तालिम र गोष्ठी सम्पन्न गरेर हिसाब किताब मिलान गर्न श्रेष्ठ रूपन्देही फर्किएको आरोप पीडितले लगाएका छन् । श्रेष्ठनिकटस्थ स्रोतले जनाएअनुसार उनी असार समापनसँगै पुन: मन्त्रालय फर्किने छन् । श्रेष्ठ सचिव डा. मिश्रलाई सबैभन्दा धेरै सहयोग गर्ने हाकिमभित्र पनि पर्दछन् । त्यसैकारण सचिव मिश्रले श्रेष्ठविरुद्ध मन्त्रालय र विभागमा परेका विभिन्न १२ वटा उजुरीलाई तामेलीमा राखिदिएका छन् ।
श्रेष्ठको काज फिर्तासँगै जनस्वास्थ्य कार्यलयमा त्रास फैलिएको छ । उनले अप्रत्यक्ष रूपमा आफ्नो विरोधीलाई सिध्याइदिने धम्की दिन थालेका छन् । श्रेष्ठको कामको विरोध गर्नेलाई उनका निकटस्थ मानिने केही कर्मचारीले घुमाउरो भाषामा थर्काउने धम्काउने गरेको कर्मचारीको भनाइ छ । यसै विषयमा मजदुरसंगठनले आवज उठाएका छन् । अखिल नेपाल प्रगतिशील जनस्वास्थय कर्मी संघ जिल्ला कार्य समितिले ७ असारमा जिल्ला प्रशासनमा डेलिगेसनसमेत गएको छ । संगठनका जिल्ला अध्यक्ष दीपक ज्ञवालीको नेतृत्वमा गएको डेलिगसन समूहले प्रमुख जिल्ला अधिकारीमार्फत मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीलाई ज्ञापनपत्र बुझाएको छ ।

प्रतिक्रिया